fbpx

ओली सरकारले आकाशे र उडन्ते गफ गर्यो : डा. महत

काठमाडौं २१ भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकार हावादारी प्रचारमा लागेको अरोप लागएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय काटेको आरोप लगाए । पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको उनको भनाई छ ।

१५ हजार अट्ने सम्मेलन केन्द्र बनाउने, प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने, राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा हावादारी भएको उनको भनाई छ । साक्षात्कारमा बोल्दै महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको गुनासो पोखे । सरकारले वास्तविक आवश्यक्ता चिन्न नसकेको बताए । सरकारले कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको भन्दै भने,‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन् ।’ उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ ।
अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए । उनले भने,‘संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यक्ता छ ।’

Loading...