fbpx

बरमझियाको ब्राण्ड पेडा, असली खोज्दै पुग्छन् ग्राहक

सप्तरी, २१ भदौं । एउटै नाम मिल्दो जुल्दो बस्तु भेटिए उपभोक्ताको पहिलो प्रश्न हुन्छ ‘असली कुन ?’ उपभोक्ताको असली खोज्ने बानीले नै धानेको छ सप्तरी बरमझियाको बैजथान साहको पेडा भण्डार ।

पेडा

पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको बरमझिया खण्डमा दायाँबायाँ प्रशस्तै पेडा पसलहरु छन् । करिब दुई किलोमिटर दुरीमा रहेका ८० भन्दा बढी पसलको नाम र काम एक अर्कामा मिल्दो जुल्दो छ । तर पेडाका लागि बरमझिया पुग्ने सर्वसाधारण असली खोज्दै आउने बैजनाथका पनाति विवेक साह बताउँछन् ।

सप्तरीको भारदहदेखि कञ्चनपुर खण्डका दुवै किनारमा खुलेका पसलले जो कोहीको ध्यान तान्छ । राजमार्गमा यात्रा गर्ने यात्रीको कोसेली पनि हो पेडा । तर सबैको नाम मिल्दो जुल्दो भएकोले एकपटक पुगेको स्थानमा अर्काेपटक पुग्न मुस्किल पर्छ । बैजनाथका पनाति विवेक ग्राहक पसल सोध्दै आउने गरेको बताउँछन् ।

राजमार्गमा देखिएका पेडा पसलको ब्राण्ड स्थापित गर्ने व्यक्ति बैजनाथ साह हुन् । पेडा मात्र होइन बरमझियाको विकासमा पनि उनको योगदान छ । उनले नै खोलेको चिया दोकानबाट सुरु भएको पेडाले बरमझियाको बजार धानेको छ ।

बरमझियाको पेडा पूर्वदेखि पश्चिमसम्मै चिनिएको छ । पेडा पसल अघि ठूला अक्षरमा लेखिएको नामको मात्र नक्कल भएको छैन, साहले असली छुट्याउन पालेको सुगाको पनि नक्कल गरिएको छ । ‘हाम्रो सुगा पालेका कारण असली भनेर देखाउन अरुले पनि सुगा पाले ।’ बैजनाथका छोरा राजकुमार भन्छन् ‘हाम्रो सुगा म¥यो अझै केही पसलमा सुगा पालेका छन् ।’

राजकुमारका अनुसार बैजनाथका बुबा अक्कल साहको चिया पसल थियो बरमझियामा । राजमार्गमा बुबाले खोलेको पसलमा बैजनाथले पनि काम गर्न थाले । चियाका लागि आउने दूधको प्रयोग गर्दै बुबाले पेडा बनाउन सुरु गरेको राजकुमार बताउँछन् ।

बैजनाथले पेडा बनाउन सुरु गरेको सात दशक पुग्नै लाग्दा बरमझियामा मात्र ८० भन्दा बढी पेडा पसल खुलेका छन् । राजकुमारका अनुसार पलस खोल्नेहरु मध्ये आधाभन्दा बढी वैजनाथको पसलमा काम सिकेकाहरु छन् ।

बरमझियामा बैजनाथले सुरु गरेको पसल अझै पनि छ । तर ८० भन्दा बढी पसलको भीडमा असली बाजेको पेडा पसल भने ओझेलमा छ । बैजनाथपछि चौथो पुस्ताले पसल चलाइरहेका छन् । बैजनाथका पनाति विवेकले असली बाजेको पेडा पसल सम्हालिरहेका छन् । पसलको माथिल्लो भागमा ‘श्री बैजनाथ साहको पेडा भण्डार’ लेखिएको बोर्ड राखिएको छ । ब्राण्ड छुट्याउन राखिएको बोर्डको दायाँ–बायाँ बैजनाथको फोटो पनि छ ।

पेडा
पसलमा अगाडि  राजकुमार र विवेक

विवेक बैजनाथका पनाति हुन् । पढाइपछि हजुरबुबाले सुरु गरेको पसल हेर्न थालेको उनी बताउँछन् ।

बुबाले पसल गर्दा ठेक्का पट्टा व्यवसाय गरेका राजकुमार पनि बुढेसकालमा बुबाकै पसलमा छन् । ‘यहाँ ८६ वटा पसल पुग्यो ।’ उनी भन्छन् ‘सबैले असली लेखेका छन्, तर सुरुवात चाहीँ बुबाले गर्नुभएको हो ।’ पेडाको ब्राण्ड स्थापना गरेका बैजनाथका दुई छोरा छन् । एक छोरा राजकुमार नातिसँग पसल सम्हालिरहेका छन् भने अर्का जयराम मोरङको रंगेलीमा छन् ।

घट्दो गुणस्तर

बरमझियामा पेडा पसल बढ्दै गएपनि गुणस्तर भने घट्दो छ । कतिपय पसलले बिस्कुट मिसाएर पेडा बनाएको बताउँछन् भुक्तभोगीहरु । तर पेडा पसल सञ्चालक भने पेडामा बिस्कुट मिसावट नहुने जिकिर गर्छन् । गाडी लाइनमा खुलेका पसलहरुले भने भुटेको सुजी र मकैको पिठो प्रयोग गर्ने पेडाका पारखीहरु बताउँछन् ।

Loading...