fbpx

सुकुम्बासी समस्या समाधान गर्ने गरी भूमि ऐन ल्याउन सुझाव

विराटनगर । सुकुम्बासी समस्या समाधान हुने गरी भूमि सम्बन्धी ऐन ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । जिल्ला समन्वय समिति मोरङद्धारा राष्ट्रिय सभाको विधायन समितिको समन्वयमा आयोजना गरेको ‘भूमि सम्बन्धी ऐन २०२१ संशोधन गर्न बनेको विधेयक सम्बन्धमा आयोजित छलफल’ मा सुकुम्बासी समस्या समाधान गर्ने गरी ऐन ल्याउनुपर्ने बताएका हुन् ।

भूमि सम्बन्धी ऐन २०२१ ले धेरै कुरा समेट्न नसकेको बताउँदै सरोकारवालाहरुले संसोधन गर्दा सुकुम्बासी, दोहोरो स्वामित्व र हदबन्दी समस्या समाधान गर्नेगरी ऐन ल्याउन सझाव दिएका हुन् । छलफल कार्यक्रममा बोल्दै प्रदेश १ प्रदेशसभा सदस्य केदार कार्कीले भूमि सम्बन्धी ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय सरकारलाई जिम्मेवारी दिनुपर्ने बताए । सकुम्बासी समस्या यथावत रहेको बताउँदै उनले राज्यले समस्या सामधानका लागि कानुनमार्फत दिर्घकालिन समाधान खोज्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले कुनै व्यक्तिलाई हदबन्दीभन्दा बढी जग्गा राख्न दिन नहुने बताए । उनले कम्पनी, प्रतिष्ठान वा उद्योगका नाममा राखिएका जग्गा लिक्विडेशन भएको अवस्थामा राज्यले नै लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । एउटै व्यक्तिले हदबन्दीभन्दा बढीको जग्गा कम्पनी खोलेर लुकाउने बताउँदै उनले ऐनको व्यवस्थाले गर्दा विकृति बढ्न सक्ने बताए । सुकुम्बासी अभियन्ता रुद्र सुवेदीले दिर्घकालिन समस्या समाधानका लागि ऐनमा नै व्यवस्था गर्नुपर्ने बताए ।

राष्ट्रिय सभा विधायन समितिका सभापति पर्शुमेघी गुरुङले ऐन निर्माण अघि सरोकारवालासँग छलफल र सुझाव संकलनका लागि देशका चार स्थानमा कार्यक्रम गरिएको बताए । विधेयकमा छुटेका विषयलाई समावेश गर्ने बताउँदै उनले अनावश्यक विषयलाई परिमार्जन गरिने बताए ।

Loading...