fbpx

छुवाछुत जघन्य अपराध हो: अनिता परियार

विराटनगर २१ भदौ । संविधानसभाकी सभासद अनिता परियारले जातीय छुवाछुत जस्तो जघन्य अपराध हटाउन सहभोजले सहयोग गर्ने बताएकी छन । इटहरी उपमहानगर वडा नम्वर ४ ले शनिबार आयोजना गरेको सहभोज कार्यक्रमलाई सम्वोधन गर्दै उनले सामाजिक अन्तर्घुलनका लागि सहभोजले दलित र गैरदलित बीचको छुवाछुत हटाउन सहयोग पुग्ने बताएकी हुन् ।

उनले छुवाछुत, भेदभाव जस्तो सडेगलेको सोच सुन्दर समाज भित्रको कलंक भएकाले त्यस्तो सोच सबै मिलेर हटाउन लागिपर्न आग्रह गरिन् । इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले छुवाछुत संविधान र कानूनमा अपराध भैसकेकोले यस्तो कुप्रथा हटाउन सबैलाई एकजुट हुन आग्रह गरे ।

इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सद्भाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको बताए । अभियानकर्मी डिविशाह शंकरले छुवाछुत मनोरोग भएकाले हटाउन सामाजिक अभियानमा जोड दिए ।

इटहरी १७ का वडाध्यक्ष भगवानलाल साहले छुवाछुत हटाउन ढिलो गर्न नहुने बताए । नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरीमै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको वास्तविकता सुनाए । सहभोज कार्यक्रमको अध्यक्षता इटहरी ४ की दलित महिला सदस्य पार्वता वराइलीले गरेकी थिइन् ।

Loading...