fbpx

कृषि भ्रमणको एउटा फरक अनुभव

हरिहर पौडेल
“दुब्लो शरीर, चिन्ता मिश्रित अनुहार, झुस्स दारी, फाटेको टोपी, मैलो कमिज, छोटो कछाड लगाएको र कुटो  कोदालो, हलो बोकेको कोही मान्छे फोटोमा देखियो भने ऊ कृषक हो । त्यस्तो मान्छे बन्न के हाम्रा नयाँ पिँढी आकर्षित होलान् ? अनि कसरी होस् त नयाँ व्यवसायीको आगमन कृषि पेशामा ? मन भित्र बसेका अनुभूति परिवर्तन  नगरी कृषिमा रुपान्तरण सम्भव होला र ? अब डम्म शरीर, हँसिलो अनुहार, टक्क एप्रोन सहित ह्याट लगाएको, कमसेकम आधुनिक कृषि उपकरण सहितको कृषि व्यवसायीको फोटो त बनाउन पर्यो नि पहिला ।” भनेर मैले भन्दा प्रमुख  कृषि प्रसार अधिकृत प्रकाश लगायत सबै गलल्ल हाँसे ।  कृषक नभनौं कृषि व्यवसायी भनौं भनेर पटक पटक आग्रह पनि गरें ।

१२ कृषि व्यवसायी सहित २५ जनाको समूह प्रदेश नं १ को पहिलो प्रयास भारत भ्रमणको लागि गएका थियौं  जसलाई लाइभस्टक अधिकृत कुमार खत्रीले संयोजन गरेका थिए । उनको काम प्रतिको लगनशिलता, प्रतिबद्धता र समर्पण साह्रै उदाहरणीय पनि छ । आर्थिक वर्ष २०७५र०७६ को अन्तिम दिन प्रदेश राजधानी विराटनगरमा करिव ३ बजेसम्म अड्डा कै काममा व्यस्त रही  ३:३० बजे हतार हतार मेचीतिर प्रस्थान गरियो, झापाको बाहुनडाँगीमा व्यवसायी कै आतिथ्य ग्रहण गर्न १ श्रावण १ हरियाली महिनाको पहिलो दिन मेची नगरका मेयर विमल आचार्यको ब्रेकफास्टको आत्मियता पछि बागडोग्राबाट १२  बजे दिउँसोको प्लेन भेट्न लागियो सीमा पार गरेर ।

बागडोग्रा – दिल्लीको उडानपश्चात इन्दिरा गान्धी एयरपोर्टमा थिए एक हँसिला व्यक्ति शैलेन्द्र जो कृषि उपकरण उत्पादन कम्पनीका मेनेजर रहेछन् । उनकै संयोजनमा दिल्लीका तीन दिन बिते । जसमा उनले उत्तर प्रदेशको गाई फार्म, कृषि उपकरण कम्पनी देखि हरियाणा (कर्नाल) का गाई फार्म समेत देखाउने व्यवस्थित काम गरे । यात्रामा  जहाज नै रोक्न सकिने चौडा बाटोको चर्चा भइरह्यो । बाटो भरिका सवारीहरु देख्दा आर्थिक पाटो सँगसँगै आउँछ ।

त्यो हेरेपछि हाम्रा कृषि व्यवसायी राजेश बास्कोटा भन्दै थिए दूध दिने पशुलाई पराल खुवाउन नहुने रहेछ । जे खायो त्यस्तै उत्पादन हुने रहेछ ।  २० जुलाई, विहान ४: ४० बजेको पुना जाने इन्डिगोको उडान । एयरपोर्ट जानका लागि १ बजे नै हिँड्नुपर्ने भएकाले राति सुत्ने कुरै भएन । भारत सुरक्षाका दृष्टिकोणबाट संवेदनशील । ६ :२० मा सामरिक महत्वको पुना एयरपोर्ट पुगियो  । सवारी व्यवस्थापनसहित हाजिर थिए सञ्जय गौरव जो कृषि बजार सम्बन्धी कार्य गर्दा रहेछन् ।

त्यसपछि गाडीबाट कोल्हापुर । त्यति लामो बाटो, त्यति धेरै सवारीहरु कतै जाम नहुने । अझ सुरूङबाट पहाड छिचोल्दा हामीकहाँ भएका धिमे गतिका विकासले गिज्याइरहे बाटो भरि करिव ७ घण्टा । कोल्हापुर, कोल्हापुरे चप्पल र ड्रेसका लागि प्रसिद्ध छ । कोल्हापुर मेरो दोश्रो भ्रमण, पहिलोपटक विद्यार्थी हुँदा साथीहरुसँग गएको छु त्यहाँ ।कोल्हापुरको ३ दिन यति धेरै व्यस्त बनाए सञ्जयले कि १/२ घण्टा पनि आफ्नो लागि छुट्याउन नसकेर एक साँझ १ घण्टा समय निकालेर बल्ल बल्ल कोल्हापुरे चप्पल किन्न भ्याइयो ।कोल्हापुर पुग्नासाथ फेटा लगाइदिएर सम्मान गरे कृषि व्यवसायीहरुले । हामीकहाँ खादा लगाई सम्मान गरे जस्तै ।

अनि शुरू भयो अवलोकन, श्री कडासी देशार गुरुको आश्रमबाट । जुन आश्रममा भारत सरकारको “कृषि विज्ञान  केन्द्र” समेत रहेछ । सायद नेपालमा “कृषि ज्ञान केन्द्र” त्यसैको नक्कल पो हो कि ? गुरुले कृषि र खाद्य सुरक्षा सम्बन्धी प्रवचन साह्रै मन छुने दिनुभयो । त्यस ठाउँमा कुनै रसायनिक पदार्थ प्रयोग नगरी  प्रांगारिक उत्पादन शुरू गरिएको रहेछ । गाई पनि विभिन्न २२ स्थानीय जातका पालिएका रहेछन् । एउटा विशालअनुसन्धान केन्द्र जस्तो । गुरु भन्दै हुनुहुन्थ्यो गाई मरेपछि एउटा ट्यांकमा राखि त्यति नै तौलको गौ मुत्र (गहुँत), त्यति  नै गोबर र त्यति नै तौलको दूध राखेर छोपेपछि प्रति किलो भा.रु.१५०० मा बिक्री हुने प्रांगारिक मल तयार हुन्छ जुन  बालीहरुका लागि संसारको सबैभन्दा उत्तम खाद्य पदार्थ हो ।कृषि विज्ञान केन्द्रका विज्ञहरुले बाली तथा पशु पालन सम्बन्धी विभिन्न प्रश्नहरुको जवाफ दिए । कृतिम गर्भाधानको  एउटा नयाँ प्रविधि विकास समेत गरेका रहेछन्, त्यो प्रविधि अन्त रहेनछ र त्यसको बजारीकरण हुने क्रममा रहेछ ।  जसको बौद्धिक सम्पति दर्ता हुने प्रक्रियामा छ रे !

अर्को दिन आइतबार, भारतमा सार्वजनिक विदा । हामीलाई धेरैभन्दा धेरै हेर्नु छ । अनि शुरू भयो गाई फार्म, भैंसी फार्म अनि कृषि उपजका खेतहरु । पशु यस्तो वस्तु हो जुन जिउँदो छँदा उत्पादन दिन्छ र मरेपछि आफैं उत्पादन  बन्छ । मानव जीवनको अभिन्न अंग । एउटा औद्योगिक शहरका आसपासका कृषि बजारीकरणका अनुपम नमूनाहरु ! पेशामा समर्पित सहयोगी ती व्यवसायीहरु १ मानिलिउँ बिहानको ब्रेकफाष्टलाई चाहिने मात्र एक गिलास दूध र बटर कसरी तयार हुन्छ त्यसको सम्पूर्ण जानकारी लिन पूरा एक दिन पनि कमै लाग्दो रहेछ । मुम्बईबाट झिकाईएका एक जना प्राविधिक शिक्षा सम्बन्धी प्रवचक (मुरली)को प्रस्तुती “कसरी रोजगारीलाई सीपसँग आबद्ध गर्न सकिन्छ”प्रशंसायोग्य थियो ।आज कोल्हापुरको अन्तिम दिन, झनै महत्वपूर्ण रह्यो । गोकुल सहकारीबाट संचालित डेरी (दुग्ध पदार्थ उत्पादन केन्द्र ) । गोकुलका उत्पादनहरु भारतभर नै प्रख्यात रहेछन् अमुलका उत्पादन जस्तै । सन् १९६६ मा ७०० लिटर दूधबाट शुरू गरिएको डेरीले आज १५ लाख लिटर दूध दैनिक प्रशोधन गर्दो रहेछ । जसमा २५० कृषक परिवार आवद्ध  रहेछन् र भा.रु. २३०० करोडको वार्षिक कारोवारमा ८० प्रतिशत रकम कृषकलाई भुक्तानी गर्दो रहेछ ।

डेरीले महिला सशक्तीकरणका लागि काम गरेको भन्न छुटाएनन् त्यसका निर्देशकले । जम्मा भा।रु। ३० देखि ४० सम्ममा भेटेरीनरी डाक्टरको सुविधा प्रत्येक कृषकलाई दिने व्यवस्था पनि गरेको रहेछ डेरीले । १९९७ देखि पूरापूर नाफामा सञ्चालन भएको डेरी उत्पादनको माग बजारमा बढ्दो छ भन्दै सहकारीताका सिद्धान्तका विषयमा मन पर्ने प्रस्तुती दिन भ्याए त्यहाँका निर्देशकले । हाम्रा कृषकका प्रश्नका जवाफ सरल र रसिलो तरिकाले बुझ्ने गरी दिए ।त्यसरी नै कृषकका माग बमोजिम दाना उत्पादन गरिदिने दाना फ्याक्ट्री पनि सञ्चालन गरिएको रहेछ सहकारीमार्फत । पशुलाई के खुवाएमा उत्पादन धेरै र गुणस्तरीय हुन्छ भन्ने अनुसन्धानका आधारमा दाना उत्पादन गरी कृषकलाई  प्रदान गरिने रहेछ ।

त्यसपछिको यात्रा समाचार पत्र “सकाल” । महाराष्ट्रमा धेरै बिक्री हुने मध्येको समाचार पत्र । जसले प्रत्येक दिन कृषक शीर्षकमा १५ पेज प्रकाशन गर्दो रहेछ । सम्पादक मण्डल मध्येका एक जनाले हाम्रो आतिथ्यता गरे । अनि समाज रुपान्तरणको आभियानमा मिडियाले गर्न सक्ने योगदान सम्झाए हामीलाई । प्रत्येक दिन १५ पेज कृषि सम्बन्धी कुराहरु मराठी र अंग्रेजीमा प्रकासन हुने “सकाल”कति गाह्रो हुँदो हो पूर्ण विवरण छाप्न । कृषक समस्या समाधानका  लागि फोन नम्वर र समाधानको प्रक्रिया समेत उल्लेख हुने गरी छाप्दो रहेछ सकालले ।हिँड्नलाई हतार भइसकेको छ । गोवाबाट भोलिको उडान भेट्नु थियो र सामान्य समुद्र देख्नु थियो सबैलाई । तैपनि एउटा गोकुलको कृषक सहकारी नपुगी यात्रा अधुरो हुने । त्यसैले लागियो नजिकैको गाउँ । जहाँ ३ घण्टादेखि हाम्रो  प्रतीक्षामा फूल लिएर कृषकहरु बसका रहेछन् । न्यानो आतिथ्यता, भाषाको जटिलता (अधिकांश मराठी मात्रै बोल्ने र बुझ्ने) बीचमा हामी रुमलियौं करिव २ घण्टा । सबैले खुलेर गोकुल डेरी र त्यसले गरेको योगदानको प्रशंसा गरे ।

हामी हतार हतार साँझ ६ बजे दक्षिणतिर कर्नाटाकाको बाटो हुँदै गोवा लाग्यौं । बाटोमा पानी बेजोड पर्यो । सवारीभित्र वीभिन्न हँसीमजाकका साथ रमाइलो गर्दै १२ बजे गन्तब्य पुगियो । ‘बागाबिच” निरको होटेलको बास र सबेरै सात बजे बिचमा फोटो खिच्नु त छँदै थियो । सात देखि १० बजेसम्म समुद्री किनारमा भिजेर फर्किँदा सारा थकाईले पार पाए  जस्तो । समुद्रले नछोएको हाम्रो देश विशाल छालसहितको पानी देख्दा मन कम्ता उम्लिएन ।

अनि २ बजेको प्लेन भेट्नु त छँदै थियो गोवा एयरपोर्टमा । फर्केर ३ बजे पुनस् पुना पुगियो । बल्ल फुर्सद मिल्यो  कोसेली जोरजम्मा गर्ने । श्रेयस होटेल, शिवाजी नगर, मीठासपूर्ण खाना, सायद त्यही थियो चौरासी व्यन्जन १ पूर्ण  साकाहारी १ त्यतिका होटेल, त्यति धेरै मान्छे, खाने र बस्ने कहीँ कतै मदिरा देखिएन । मदिराले विकास हुने होइन  रहेछ ।२४ जुलाई बिहान ६ बजेको प्लेन । पुनाबाट अहमदाबाद हुँदै बागडोग्रा । अनि नेपाल सीमा मेची । यो यात्रा स्मरणभन्दा नि सिकाईको एउटा अनुभव मनभरि संगालेर फर्कियौं ।

कृषि पेशा आम्दानीसँग भन्दा नि मानव स्वास्थ तथा खाद्य सुरक्षा र खाद्य संप्रभुतासँग जोडिएको विषय हो । संविधान, कानून र नीतिहरुमा लेख्दैमा नहुने रहेछ । चाहिँदो रहेछ कर्मठ हातहरु, प्रतिवद्ध निकायहरु र सरल प्रविधि । कति रकमको कृषि उपज आयात भयो भन्ने तथ्यांक केलाएर विश्लेषण धेरै गरिएको छ हामीकहाँ, तर कसरी सबैलाई शुद्ध  खाना प्रदान गर्न सकिन्छ भन्ने बारेमा माखो मारिएको छैन ! कृषकहरु जसले हामीलाई स्वस्थ खाना प्रदान गरे, हाम्रो जीवन बचाए र बचाइरहेका छन्, उनीहरुलाई हृदयदेखि सलाम !


(लेखक आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं १, विराटनगरमा कार्यरत उपसचिव हुन् ।)

Loading...