fbpx

सीप सिकाउने केन्द्रमा मन्त्रीको क्वार्टर (भिडियोसहित)

तालिम सञ्चालन नहुँदा भवन खण्डहर, श्रम तथा रोजगार कार्यालय वर्षाै देखि भाडामा

विराटनगर,२० भदौ । युवाहरुलाई सीपमुलक तालिमकालागि स्थापना भएको व्यावसायिकतथा सीप विकास तालिम केन्द्र खण्डहर बनेकाे छ ।  विराटनगरमहानगर –३ स्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्र खण्डहर बनेको  हाे ।

संघीय सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको उक्त तालिम केन्द्रमा दुई वर्ष देखि युवाहरुलाई सीप सम्बन्धी तालिम दिने कार्यक्रम सञ्चालन  नहुँदा भवन खण्डहर बनेको हो ।

 

उक्त सीप विकास केन्द्रले वैदेशिक रोजगारीमा जाने तथा स्वरोजगार बन्न चाहने युवाहरुलाई विभिन्न मेकानिकल सीपमुलक तालिम प्रदान गर्ने गरेको थियो । सीप विकास तालिम केन्द्र इटहरीको मातहतमा रहेको उक्त तालिम केन्द्रमा दुई वर्ष देखि कुनै तालिम सञ्चालन भएको छैन ।

तालिम सञ्चालन नहुँदा कार्यालयमा भएका सामाग्री नष्ट भएर जान थालेका छन् । तालिम केन्द्र सुनसान र खण्डहर झैं बनेपछि सबै सामाग्री कोठामा थुपारिएको छ । तालिम केन्द्रको प्राङ्गणमा लहलह घाँस हुर्किएका छन् । झट्ट हेर्दा  तालिम केन्द्र सीप सिक्ने–सिकाउने ठाउँ नभएर कुनै पुरानो खण्डहर गोदाम जस्तो  देखिन्छ  ।

संघीय सरकारले दक्ष जनशक्ति निर्माण गर्न तालिम केन्द्र उपयोगमा ल्याउनुको साटो स्वरोजगारका नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको बहानामा आफ्ना कार्यकर्ताहरुलाई घाँस उखेल्न लागाएर बजेट सकेको स्थानीयको गुनासो छ ।

अदक्ष कामदारको रुपमा दैनिक सयौं युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । उनीहरु सीप सिकेर गएको खण्डमा पाउने सेवा सुविधा पनि बढी नै हुन्छ । रोजगार पनि बढी सुरक्षित हुन्छ । सरकारले भएको तालिम केन्द्रलाई नियमित रुपले सञ्चालनमा ल्याउनुपर्ने स्थानीय युवा शेखर घिमिरे बताउँछन् ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीका प्रमुख धमेन्द्र धमलाले कार्यक्रम नभएर तालिम सञ्चालन गर्न नसकिएकाे बताए । उनले  केन्द्र बन्द नभएकाे बताए । कार्यक्रम आएपछि पून सञ्चालन गर्ने उनले बताए ।

संघीय मन्त्रालयको तालिम केन्द्रमा प्रदेश मन्त्रीको क्वार्टर

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र विराटनगरमा पछिल्लाे समय प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बसेका छन् ।

केन्द्रको प्रशासनिक कार्यालय र तालिम सञ्चालन हुने अढाईतले भवनमा मन्त्री घिमिरे बस्न थालेका हुन् । प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेको निवासका लागि छुट्याइएको  भवन रङ राेगन गरी सिंगारिएकाे छ  । तत्काल क्वार्टरको अभाव भएपछि खाली अवस्थामा रहेको तालिम केन्द्रको भवनलाई मरम्मत सम्भार गरेर प्रशासनले मन्त्री निवास बनाइदिएको हो ।

मन्त्री निवासलाई सुरक्षित बनाउन तालिम केन्द्रको प्रयोगशाला र  भवनको बीचमा पर्खाल लगाएर भवन परिसरलाई अलग अलग गरिएको छ । झट्ट हेर्दा केन्द्र र मन्त्रीको निवास अलग्गै लागे पनि दुबै भवन व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कै हो ।

प्रदेश १ सरकारले आफैं सक्रियता देखाएर युवाहरुको दक्षता बृद्धिको लागितालिम गराउनु पर्नेमा केन्द्रलाई नै मन्त्रीको निवास बनाउनु उदेक लाग्दो भएको युवाहरु बताउँछन् । स्थानीयवासी नरेन्द्र ढकालले चाहीँतालिम केन्द्रलाई खण्डर बनाएर राख्नु भन्दा खाली भवनमा मन्त्रीको निवास राख्दा सरकारको सम्पत्ति सदुपयोग भएको बताए ।

तालिम केन्द्रका प्रमुख धर्मेन्द्र धमलाले केन्द्रको कार्यालयमा मन्त्रीको क्वार्टर रहेको आफूलाई थाहा नभएको बताए । २०७६ वैशाखबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र इटहरीमा प्रमुख भएका उनले भने,– “विराटनगरको तालिम केन्द्रमा मन्त्रीको क्वार्टर बसेको मलाई थाहा छैन त्यो पहिले नै निर्णय भएको होला । के कसरी निवास राख्नदिइयो कुनै जानकारी छैन ।” मन्त्रीको क्वाटर्र बसेपछि त्यहाँ तालिम सञ्चालन गर्न अब झन् सुरक्षा चुनौती पनि थपिएको छ ।

श्रम तथा रोजगार कार्यालय चाहीँ भाडामा

संघीय सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको विराटनगर ३ स्थित तालिम केन्द्र कार्यक्रमअभावमा खण्डहर भएपनि सोही मन्त्रालयको अर्को कार्यालय भने विराटनगरमा वर्षौंदेखि भाडामा सञ्चालन भैरहेको छ ।

मन्त्रालयको श्रम तथा रोजगार कार्यालय विराटनगर १ स्थित भट्टा चौकमा मासिक २५ हजार भाडा तिरेर सञ्चालन भैरहेको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले मन्त्रालयले निर्णय गरेर खाली भएको तालिम केन्द्रमा पठाए बसेर सेवा प्रदान गर्न सकिने बताए ।

 

Loading...