fbpx

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दीकाे राजनीति कायमै

सुटुक्क नियुक्त गरिएका प्राध्यापक हाजिर गराउन र रोक्न विद्यार्थी संगठनका छुट्टा–छुट्टै ताला, नवनियुक्त उपकूलपति कार्यकक्ष बाहिरै, कर्मचारी नियुक्तिको फाइल अझै प्रहरीको जिम्मामा

विराटनगर, १९ भदौ । सुटुक्क नियुक्त गरिएका प्रध्यापक र सहप्राध्यापक नियुक्तिको विषयमा पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरूले छुट्टा–छुट्टै तालाबन्दी गरेका छन् । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रिनाथ श्रेष्ठले अवकाशका लागि बिदा बसेको बेला होटलमा परीक्षा लिएर सुटुक्क नियुक्त गरेका एक प्राध्यापक र एक सहप्राध्यापकलाई हाजिर गराउनका लागि नेपाल विद्यार्थी संघ र हाजिर गराउन नदिन अनेरास्ववियूले अलग–अलग तालाबन्दी गरेका हुन् ।

तालाबन्दीका कारण भर्खरै नियुक्त भएका विश्वविद्यालयका उपकूलपति विजुकुमार थपलियाले कार्यकक्ष प्रवेश गर्न पाएका छैनन् । ८ भदौमा उनलाई कूलपति केपी ओलीले तीन महिनाका लागि उपकूलपति पदमा नियुक्त गरेका थिए । विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रिनाथ श्रेष्ठले कार्यकाल सकिन ३ दिन बाँकी छँदा ३ भदौमा काठमाडौंको होटल एम्बेस्टरमा सुटुक्क अन्तर्वार्ता लिएर व्यवस्थापनतर्फको प्राध्यापकमा जीवन ढकाल र सहप्राध्यापकमा शैलेन्द्र शिवाकोटीलाई नियुक्त गरेका थिए ।

नेपाल विद्यार्थी संघका पूर्वाञ्चल विश्वविद्यालय उपसमितिका उपसभापति पंकज घिमिरे विज्ञापनअनुसार प्रक्रिया पूरा गरेर आएकाहरूलाई हाजिर गर्नुपर्ने बताए । सुटुक्क परीक्षा लिएका प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि घुमाउरो शैलीमा केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर नेपाल विद्यार्थी संघले दबाब दिइरहेको छ । अनेरास्ववियुका नेता जिसस न्यौपानेले बताए ।

विश्वविद्यालयले २०७४  चैत ९ गते १ जना प्राध्यापक, ३ विषयगत सहप्राध्यापक र ५ उपप्राध्यापकसहित विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको थियो । तर, अन्य विज्ञापनको प्रक्रिया स्थगित गरी प्राध्यापक र सहप्राध्यापक नियुक्तिको प्रक्रिया मात्र अघि बढेपछि अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।

नवनियुक्त उपकूलपति भन्छन्, ‘तालाबन्दीले गर्दा कामकाजमा बाधा छ’

उपकुलपति नियुक्ति भएलगत्तै अनेरास्ववियुसँग छलफल गरेका उपकूलपतिले तालाबन्दी खोल्ने वातावरण बनाएका थिए । तर, लगत्तै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि कार्यकक्ष प्रवेश गर्न नपाएको उपकूलपति थपलियाले बताए । ‘म आउनुअघि नै कार्यालयमा अनेरास्ववियुको तालाबन्दी थियो,’ उनले भने, ‘हाजिर भएपछि छलफल गरी तालाबन्दी खोल्ने वातावरण बन्यो तर बैठक बसिरहेको अवस्थामा अर्काे पक्षबाट तालाबन्दी भयो ।’

एउटा विद्यार्थी संगठनलाई सहमति गराएपनि अर्काे विद्यार्थी संगठनले तालाबन्दी गरेपछि कार्यकक्षमा बस्न नपाएको उनले बताए । उपकूलपति थपलिया हाल आंगिक जनता क्याम्पसमा बसेर कामकाज चलाइरहेका छन् । ८ भदौ विश्वविद्यालयमा हाजिर भएका उपकूलपति थपलिया कार्यकक्षमा बसेर काम गर्न नपाउँदा दैनिक काम सम्पादनमा पनि कठिनाइ भइरहेको बताउँछन् । तर, तालबन्दी खोल्नेबारे विद्यार्थी संगठनसँग कुराकानी भइरहेको उनको भनाइ छ ।

 नेविसंघले घुमाउरो दबाब दिएको अनेरास्ववियूको आरोप

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले परीक्षा लिएका प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि घुमाउरो शैलीमा नेपाल विद्यार्थी संघले दबाब दिइरहेको अनेरास्ववियूको आरोप छ । तीन महिनासम्म दैनिक कार्य सम्पादन गर्ने जिम्मेवारी लिएर आएका उपकूलपति थपलियाले कुनै नियुक्ति नगर्ने बताएपछि आफूहरूले लगाएको ताला खोल्न लाग्दा नेविसंघले तालाबन्दी गरेकाे अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य भाष्कर खनाल बताउँछन् । नेपाल विद्यार्थी संघका पूर्वाञ्चल विश्वविद्यालय समितिका उपसभापति पंकज घिमिरे तालाबन्दीको मुख्य एजेण्डा प्राध्यापक नियुक्तिभन्दा पनि विश्वविद्यालयमा भएको राजनीतिक हस्तक्षेपविरुद्ध भएको बताउँछन् ।

नियुक्तिको फाइल अझै प्रहरीमै

प्राध्यापक र उपप्राध्यापक नियुक्तिका लागि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले होटलमा लिएको फाइल केन्द्रीय कार्यालयले बुझ्न इन्कार गरेपछि अझै प्रहरीकै जिम्मामा छ । अवकाशका लागि बिदामा बसेको समयमा सेवा आयोग अध्यक्ष बद्रिनाथ श्रेष्ठले अनैतिक रूपले कर्मचारी नियुक्त गरेको भन्दै विश्वविद्यालय कर्मचारी प्रशासनले फाइल बुझ्न नमानेपछि सुरक्षाका लागि उक्त फाइल प्रहरीको जिम्मा लगाइएको थियो ।

उक्त फाइल हाल जिल्ला प्रहरी मोरङमा लाहाछाप लगाएर राखिएको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षबाट बिदाइ भइसकेका बद्रिनाथ श्रेष्ठले प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि २ भदौमा लाजिम्पाटस्थित होटल एम्बेस्डरमा अन्तर्वार्ता गरेका थिए ।

Loading...