fbpx

‘हिमालय रोडिज सिजन ३’को अडिसन भाद्र २८ बाट सुरु

विराटनगर, १९ भदौ । प्रतीक्षित टेलिभिजन रियालिटी सो ‘हिमालय रोडिज’को तेस्रो सिजन सुरु हुने घोषणा केही समयअगाडी भइसकेको छ । भाद्र महिनाको पहिलो साता काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजन घोषणा गर्दै यस सोको बारेमा जानकारी दिइएको थियो ।

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ले युवा पुस्तामा आफ्नो गतिलो छाप छोड्न सफल भएको छ । यो रियालिटी शो यस वर्ष पनि हिमालय टेलिभिजनबाट नै प्रशारण हुने भएको छ । यस वर्षको लागि नेपालमा ५ शहरमा अडिसन गर्ने भएको छ ।

भदौ २८ गतेबाट धरानबाट सुरु हुने अडिसन, भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा पुगेर समपन्न हुने भएको छ । यस पटकबाट नेपालगञ्जमा पहिलोपटक अडिसन हुन लागेको हो । अडिसन सुरु हुने सहर र मिति सार्वजनिक भए पनि भेन्यु भने अझै सार्वजनिक भएको छैन ।

भाद्र २० गतेबाट भने रोडिजको प्रि–अडिसन सुरु हुने भएको छ । यस विषयका बारेमा थप जानकारी पाउनका लागि ’हिमालय रोडिज’को आधिकारी फेसबुक पेजमा गएर हेर्न सकिन्छ । पहिलो र दोस्रो सिजनले धेरै सिकाए पछि ’सिजन ३’ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने रोडिजका निर्देशक अमन प्रताप अधिकारीले बताएका छन् ।

प्रतिष्पर्धी मात्र नभएर ग्याङ लिडर पनि चूतौतीपूर्ण रुपमा खेलमा सहभागी हुने र यसपटकबाट सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गरिने भएको छ । पहिलो र दोस्रो सिजनमा रेमनदाश श्रेष्ठ, आशिस राना ‘लाउरे’ र दीया मास्के तीन जना जज थिए । तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् ।

पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्ने भएका छन् । ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्केका साथ ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र युवा पुस्ता माझ निकै चर्चित अभिनेता अनुपविक्रम शाही थपिएका छन् । सबै ग्याङ लिडरले आफ्नो समूहलाई जिताउने प्रयत्न गर्ने बताएका छन् । ग्याङ लिडरहरु नयाँ र्फम्याटमा आउन लागेकोले दर्शकहरु निकै उत्साहित भएका छन् ।

Loading...