fbpx

पेन्सन, पजेरो सुबिधा विरोधदेखि म अघि बढछु टिन्स क्लबसम्म

मन्त्री हिक्मत कार्कीको राजनैतिक यात्रा, समस्यामा वारपार समाधानमा निरन्तर अभियान

एक नम्बर प्रदेश सरकारका प्रवक्त्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिमा लामो यात्रा तय गरिसकेका छन् । विद्यार्थी जीवनदेखि बाम राजनीतिमा लागेका उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय पूर्वअध्यक्ष पनि हुन् । हाल नेकपाको केन्द्रीय सदस्य रहेका मन्त्री कार्की समस्याभन्दा समाधानमा विश्वास गर्छन् ।

aa

विद्यार्थी नेतृत्त्वमा होस् वा पार्टीको जिम्मेवारीमा हुँदा उनले निरन्तर सफल अभियान चलाएका छन् । समस्यालाई वारपार गरेर समाधानका लागि निरन्तर अभियान सञ्चालन गर्न रुचाउने उनले प्रदेश सरकारको मन्त्री भएपछि पनि युवाहरुलाई सुधार्न ‘म अघि बढछु सगरमाथा टिन्स क्लब’ सञ्चालन गराएका छन् । मन्त्री कार्कीले आफनो राजनैतिक यात्रा र सञ्चालन गरेका अभियानबारे कोशी अनलाइनसँग छोटकरीमा यसरी सुनाए …

निरन्तर सफल राजनैतिक यात्रा

झापाको गौरादह नपा ३ मा जन्मिएका मन्त्री हिक्मत कार्कीले सोही ठाउँको जनता माविबाट एसएसलसी उत्तिर्ण गरे । त्यसपछि धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएल गरे । त्यसपछि थप पढ्न काठमाण्डौ गए । नेपाल ल क्याम्पस काठमाण्डौबाट संवैधानिक कानूनमा एलएलएम गरे ।

२०३५–०३६ मा पञ्चायती व्यवस्थाविरुद्ध उठेको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर निरन्तर बामपन्थी राजनीतिमा सक्रिय भएका उनले २०३७ मा अनेरास्ववियूको सदस्यता पाए । २०४० मा तत्कालीन माले पार्टीको युथ लिगको सदस्य बने । धरानको आइएल पढाइसकेपछि घर फर्किएका उनी २०४४ मा गौरादहमा पार्टीको क्षेत्रीय कमटी अध्यक्ष बने ।

पञ्चायतकालमा अर्ध भूमिगत भएर हिक्मत निरन्तर पार्टी काममा सक्रिय भइरहे । निरन्तरको सक्रियताले उनी २०४५ मा पार्टीको पूर्णकालीन बनेर काम गर्न थाले । २०४६ मा उनले पार्टी सदस्यता प्राप्त गरे । काठमाण्डौ ल क्याम्पसमा पढ्दा हिक्मत विद्यार्थी संगठनको सदस्य हुँदै स्ववियू सभापति भए । उनी अनेरास्ववियू त्रिभुवन विश्वविद्यालय समितिको सदस्य पनि रहे । २०४८ मा उनी अनेरास्ववियू केन्द्रीय सदस्य हुँदै २०५५ मा केन्द्रीय अध्यक्ष बने । हिम्मतिला हिक्मत काठमाण्डौ जिल्ला र बाग्मती अञ्चलको दुई पटक अनेरास्ववियू अध्यक्ष बने । २०५७ मा उनी विद्यार्थी संगठन हेर्न काठमाण्डौ जिल्ला समितिको सचिव खटिए । एलएम सकेपछि उनले कानूनी रिसर्च सेन्टर खोलेर केही अध्यन अनुसन्धानका काम गरे । वकालत गर्न भने फुर्सद मिलेन २०६१ मा राजाले कु गरेपछि उनी पक्राउ परे । एक महिनाको जेल बसाइपछि उनी सर्वोच्चको आदेशअनुरुप जेल मुक्त भए । २०६२–०६३ को जनआन्दोलनपछि झापा फर्के । पार्टीले उनलाई सक्रिय जिम्मेवारी तोक्यो । उनी जिल्ला हुँदै अञ्चल इन्चार्ज बने । २०७१ को महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भए । हाल उनी नेकपाको केन्द्रीय सदस्य छन् ।

अनेरास्ववियू अध्यक्ष र पार्टी नेता हुँदा अभियान नै अभियान

हिम्कत कार्की समस्यालाई वारपार मात्र पार्दैनन् समाधानका लागि अभियान चलाउन पनि रुचाउँछन् । समस्या मात्र उठाउँदा झन गिजोलिने भएकोले त्यसको समाधान पनि खोज्नुपर्छ भन्ने उनको मान्यता छ । अनेरास्ववियूको राष्ट्रिय अध्यक्ष हुँदा जोशिला युवा हिक्मतले विभिन्न सिर्जनात्मक काम गरे । तत्काल एमाले पार्टी विभाजनपछि उनी अनेरास्ववियूका अध्यक्ष बनेका थिए । सांगठनिक अवस्था त्यत्ति राम्रो थिएन । समस्या र चुनौतीहरू धेरै थिए । तर, आत्मविश्वासी हिक्मत आफनो संगठन बलियो बनाउन सफल भए । उनले विद्यार्थी हकहितका लागि १ जेठ २०५७ मा काठमाण्डौ टुँडिखेलमा विद्यार्थी महोत्सव आयोजना गरे । वैज्ञानिक एक्जिबिसन थियो त्यो । एकै दिन २५ हजारले अवलोकन गरेका थिए । त्यसले विद्यार्थीसंगठनहरू ध्वसंमा हैन सिर्जनामा पनि उत्तिकै विश्वास गर्छन् भन्ने सकारात्मक सन्देश दियो ।

त्यो बेला पार्टीले ‘नवयुग’ भन्ने पत्रिका प्रकाशन गर्दथ्यो । उनले हरेक विद्यार्थीले श्रम गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान सुरु गराए । अनेरास्ववियूका हरेक सदस्यले नवयुग पत्रिकाको ग्राहक बनाउने वा बिक्री गर्नु पर्दथ्यो । बिक्रीबाट प्राप्त कमिसनले आफ्नो पकेट र पढाइ खर्च चलाउनु पर्दथ्यो ।

त्योबेला शेरबहादुर देउवाको सरकार थियो । प्रम देउवाले सांसदलाई पेन्सन र पजेरो सुबिधा दिएका थिए । तर, हिक्मत नेतृत्त्वको अनेरास्ववियूले त्यसको भण्डाफोर गर्यो । देश र जनताको अवस्था हेरेर मात्र सुबिधा लिन आग्रह गर्यो । सभामुख तारानाथ रानाभाटकोमा विद्यार्थी टोली डेलिगेसन गयो । तर, रानाभाटले मार्सल लगाएर उनीहरूलाई प्रवेश दिएनन् । पछि सर्वोच्चमा सुबिधाविरुद्ध रिट पर्यो र खारेज भयो । सांसदलाई पजेरो काण्डको पनि चर्को विरोध गरियो । अध्यक्ष हुँदा हिक्मतले शैक्षिक जागरण अभियान चलाए ।

२०७१ चैतमा उनले देशभरिका ७५ वटै जिल्लाका पार्टी अध्यक्ष र १४ अञ्चलका इन्चार्जहरूलाई सहभागी गराएर पर्यटन–प्रर्वद्धन अभियान चलाए । झापाको सुखानीबाट सुरु भएको उक्त अभियान मेची अञ्चलभरि सञ्चालन भएको थियो । ताप्लेजुङबाट उक्त अभियान टोली तेह्रथुम संखुवासभा हुँदै १२ दिनमा धरान पुगेको थियो । त्यो अभियानले देशको भुगोल चिनाउन सहयोग पुग्यो । धेरैले त्यो अभियानको अनुकरण गरे । पश्चिममा साथीहरूले रामारोसन अभियान भनेर उस्तै खाले अभियान चलाए ।

हिक्मत कार्की नेता नभएको भए पक्का कानूनी व्यवसायी नै हुनेथिए । तर, कानूनको विद्यार्थी भएपनि उनले राजनीतिबाट मुक्ति पाएनन् । जिम्मेवारीमाथि जिम्मेवारी थपिनैरह्यो ।

चीन सचित्र गाताले कम्युनिष्ट बनायो

हिक्मतकुमार कार्की मध्यमवर्गीय परिवारमा जन्मे । बुबा बमबहादुर कार्की कांग्रेसमा आस्था राख्थे । समाज सेवामा खटिन्थे । पछि हिक्मत उनकी दिदी र दाजु सबै कम्युनिष्ट राजनीतिमा लागेपछि बुबा बमबहादुर पनि बाम राजनीतिमै फर्के । दाजु दीपक कार्की दुई पटक संविधानसभा सदस्य बने । दिदी राधा कार्की अनेमसंघको जिल्ला सदस्य छिन् ।

हिक्मत सानो हुँदा चीन सचित्र पत्रिका किनेर किताबमा गाता लगाउँथे । मोटो र चिप्लो कागज अनि आर्कषक तस्बिरहरू हुनेभएकोले धेरैले गाता लगाउन चीन सचित्र पत्रिका किन्ने गर्दथे । कागज बलियो र चिप्लो हुने भएकोले पसिनाले हत्तपत्ती फटाउन सक्दैनथ्यो । चीन सचित्र पत्रिकाको पाना च्यातेर कितावमा गाता लगाउने क्रममा हिक्मतले बालबालिकासँग हात मिलाएको विभिन्न यात्रामा हिँडेको एक अधबैँशे ओजस्वी व्यक्तिलाई देख्थे । उनलाई ती चित्रहरू खुब राम्रो लाग्थ्यो र वर्णन पनि पढ्थे । साथीभाइ, घरपरिवारको चर्चाबाट चीनको कम्युनिष्ट नेता चित्रमा देखिएका ओजस्वी व्यक्ति चीनको राष्ट्रपति माओत्सेत्तङु हो भन्ने बुझे । त्योबेला पञ्चातको आडम्बर भएकोबेला उनलाई नेता भनेको सरल जनताको मनमा बस्ने खालको हुनुपर्छ भन्ने लाग्थ्यो ।

चीन सचित्र पत्रिकामा माओको गतिविधि देखेपछि हिक्मतलाई पनि वाह ! जनताको नेता भनेको त यस्तो पो त भन्ने लाग्यो । र, उनले कम्युनिष्ट विचारप्रति रुचि राख्न थाले । २०३५-२०३६ मा विद्यार्थीहरूले गौरादह बजारमा पञ्चायती शासन व्यवस्थाविरुद्ध जुलसु निकाले । त्यो जुलुसमा लाग्ने नारा पनि उनलाई मनपर्यो । भाषणले पनि तान्यो । कांग्रेसहरू पनि पञ्चायतको विरोध गर्थे तर राजालाई गाली गर्दैन थे । तर, कम्युनिष्टहरू चाँही पञ्चायत, राजा र कांग्रेस सबैलाई गाली गर्थे । हिम्मतले जनताको विचार भनेको बामपन्थी नै हो भन्ने ठानेर प्रतिबद्ध भए ।

राजनीतिलाई पेशा व्यवसाय बनाउनु हुँदैन

हिक्मत राजनीतिलाई देश र जनताको सेवा गर्ने जिम्मेवारी ठान्दछन् । उनी राजनीतिलाई पेशा व्यवसाय बनाएको पटक्कै मन पराउँदैनन् । आर्थिक आधार बनाएर सक्रिय राजनीति गर्नु राम्रो हुने उनको ठम्याइ छ । सकिँदैन भने अस्थालाई सकेको सहयोग गरेर बसेको बेश हुने उनको बुझाइ छ । सक्रिय राजनीतिका नाममा लुट्ने काम अपराध हो भन्छन्, नेता हिक्मत । हामी धेरै बदलिनु पर्ने थियो तर सकेनौँ । अझै हामी पुरानै ढर्राबाट राजनीति गरिरहेका छौँ । बन्द हड्ताललाई निरुत्साहित गर्नभन्दा पनि बढावा दिएर आफ्नो स्वार्थ पूरा गर्न तल्लिननै छौँ । यो राम्रो होइन ।

‘राजनीतिले जनतालाई पीडा हैन सेवा दिनुपर्छ । असल नियतले आस्था र विश्वास बढायो भने, मानिसहरू सबैले सर्पोट गर्छन् । तर, अराजकता मच्चाएर पैसा कमाउन वा स्वार्थ पूरा गर्न लाग्नु भनेको भ्रष्टिकरणमा फस्नु हो । यो राजनीतिको दुरुपयोग हो । नेता र विद्यार्थी दुवैले अराजक आन्दोलनलाई छाड्नुपर्छ र सिर्जनात्मक बनाउनुपर्छ,’ असल राजनैतिक व्यवहारमा विश्वास गर्ने हिक्मत सुझाउँछन् ।

युवाहरू सपार्न म अघि बढछु कार्यक्रम

मुलकमा समस्या धेरै छन् । दीगो विकास भएको छैन । उद्योग-धन्दा व्यवस्थित छैनन् । नकारात्मक सोच हाबी छ । सीमा अपराध र दुर्व्यवसन नियन्त्रण हुनसकेको छैन । दक्ष कर्मचारी प्रहरी र नेताको खाँचो खड्किरहेकै छ । विपद व्यवस्थापन उद्धार र राहतमै सीमित छ रोकथाममा प्रभावकारी भइरहेको छैन । सञ्चार क्षेत्रले अझै पूर्णरूपले समाजप्रति दायित्वबोध गर्न पाएको छैन । समाजलाई उपभोक्ताबादले सर्लक्कै निलेको छ । कर्पोरेटिकरणले राजनीतिलाई निर्धक्क किनेको छ । समाजमा म र मेरो परिवार मात्रै ठीक अरु सबै बेठीक भन्ने सोच हाबी छ । मदिरा बेचबिखन र सेवनको अवस्था डरलाग्दो गरी बढ्दो छ । मानिसले नैतिकता बिर्सेका छन्, सदाचार हराएको छ । परिवर्तनका संवाहक युवाहरू रणभुल्लमा परेका छन् ।

युवाहरू भविष्य हुन् । उनीहरूमा प्रष्ट दृष्टिकोण चाहिन्छ । उनीहरूमा जाँगर–जोशसँग लगनशीलता पनि हुनुपर्छ । परिवर्तनका संवाहक भनेकै युवाहरु हुन् । आजकल युवाहरूमा राजनैतिक दृष्टिकोण प्रष्ट हुन छाडेको छ । धेरै युवाहरू स्वार्थमा प्रेरित हुन थालेका छन् । रक्सी, सूर्ती र लागूऔषध उनीहरूका कमजोरी बनेका छन् । जसरी पनि पैसा कमाउनुपर्छ, पैसा कमायो भने सबै समस्या समाधान हुन्छ भन्ने गलत सोच हाबी भइरहेको छ । युवाहरूमा अध्यन-अनुसन्धान गर्न बानी हराउन थालेको छ । यसैले युवाहरूलाई होशियार भन्न आवश्यक छ । उनीहरूलाई बाटो देखाइदिनुपर्छ ।

यसैले मैले आफैँले योजना बनाएर युवाहरूका लागि म अघि बढन सक्छु भन्ने सोचसहित सगरमाथा टिन्स क्लब सञ्चालनमा ल्याएको हुँ । यो प्रदेशका सबै विद्यालयहरूमा निरन्तर चल्नेछ । यो अभियानले विद्यालयमा पढ्ने कक्षा ९ देखि १२ सम्मका भाइबहिनीहरूलाई सदाचारी बनाउन, लागूऔषधको कूलतबाट जोगाउन र सामाजिक कार्यमा जोडाउन सहयोग गर्छ ।

युवाहरू पहिले नैतिकवान हुनुपर्छ अनि मात्र उनीहरूले राजनीतिलाई असल बनाउन सक्छन् । किनभने राजनीति ठीक बनाउन असल मान्छे चाहिन्छ । एक नम्बर प्रदेशका २ हजार विद्यालयका २ लाख विद्यार्थीहरू हरेक वर्ष यो क्लबमा सामेल हुन्छन् । यो अभियान पैसामुखी हुने पो होकी भन्ने धेरैलाई चिन्ता छ, तर हुँदैन । यसमा कसैले पैसा पाउँदैन, मात्र मार्गदर्शनको उपाय पाउँछ । सरकारले मात्र लोगोअंकित व्याज दिने हो । विद्यालयमा भएका रेडक्रस, स्काउट, एनसिसी, फ्रेण्डस क्लबआदि सबैसँग सगरमाथा टिन्स क्लबको सहकार्य हुन्छ ।

Loading...