fbpx

राति छिनछिनमा पिसाब लाग्छ ? शरीरमा नुनको मात्रा धेरै भएको हुनसक्छ !

धेरै मानिसहरुलाई राति बारम्बार पिसाब लाग्ने समस्याले सताइरहेको हुन्छ । रातिको समयमा पानी धेरै पिएर वा शरीरमा पानीको मात्रा धेरै भएमा पिसाब आउने समस्या भएको हामी सोच्छौं । तर बैज्ञानिक भाषामा यसरी राति सुतेको बेलामा पटक पटक पिसाब आउने समस्यालाई ‘नक्चुरिया’ वा नक्चर्नल पोलियुरिया भनिन्छ ।

यो समस्या प्राय ६० वर्षभन्दा माथिका व्यक्तिहरुमा देखिने समस्या हो तर, आजकल यो समस्याबाट धेरैजना युवा तथा बयस्यकहरु समेत प्रभावित हुन थालिसकेका छन् ।

उक्त समस्यालाई लिएर विभिन्न बैज्ञानिकहरुले धेरै अनुसन्धान गरिसकेका छन् । विभिन्न गरिएको अनुसन्धानको निस्कर्ष अनुसार दिनक रुपमा खाने खानामा नुनको मात्रा धेरै छ भने, यो समस्याले पक्कै पनि सताउने गर्दछ ।

धेरै नुन खाने व्यक्तिलाई निद्रा नपुग्ने समस्या समेत देखा पर्न थाल्छ । दैनिक रुपमा आवश्यकता भन्दा बढी नुनको सेवन गरेमा, शरीरमा धेरै मात्रामा नुन थुप्रिन गइ प्रभाव स्वरूप राती बारम्बार पिसाब फेर्न उठ्नु पर्ने समस्या शृजना हुने गर्छ ।

मानिसले दैनिक उपभोग गर्ने नुनको मात्राले मात्र समस्या उत्पन्न नभएर हरेक राती सुत्नअघि खाइने पानीको मात्राले पनि निकै प्रभाव पारेको हुन्छ । धेरै नुन खाने गर्दा शरीरले धेरै मात्रामा पानी माग्दछ । राति सुत्नु अघि धेरै मात्रामा पानी पिउने गर्नाले पुरुष होस् या महिला दुबैलाई राति पिसाब फेर्नका लागि आफ्नो मिठो निद्रा बिगार्नुपर्ने हुन्छ ।

उमेर बढेसँगै शरीरमा उत्पन्न हुने हर्मोनको मात्रामा घटबढ भएका कारणले पनि राती बारम्बार पिसाब लाग्ने समस्या उत्पन्न हुन सक्छ ।

उमेर बढेसँगै पिसाबको ग्रन्थिहरुको आकारमा वृद्धि हुनुका साथै कम्जोर पनि हुदै जाने गर्छन् । यस्तो अवस्थामा पिसाबका ग्रन्थिहरुले पिसाबको थैलीमा थिचिन गइ बारम्बार पिसाब लागि रहन सक्छ । यस्तो समस्या महिलामा भन्दा पनि पुरुषमा बढी देखा पर्ने पाइन्छ । राति पिसाब फेर्न दुई वा त्यो भन्दा धेरै पल्ट उठ्नु परेमा निद्रा बिग्रनु स्वाभाविक हो । निन्द्रा बिग्रिसके पछि चाहेको बेलामा निन्द्रा नलाग्न सक्छ । निन्द्रा नपुगेको खण्डमा मानसिक तनाव बढ्नुका साथै छिट्टै झर्कन र रिसाउने स्वाभाव उत्पन्न हुन थाल्छ ।

राम्रो निन्द्रा नपुग्ने खण्डमा स्वास्थ्यमा नकारात्मक असर पर्न गइ विभिन्न रोगहरु समेत लाग्ने सम्भावना हुन्छ । राति बारम्बार पिसाब लाग्नु भनेको मधुमेह रोग सुरु हुन लागेको संकेत तथा मुटुसम्बन्धी हुने विभिन्न समस्याको लक्षण पनि हुन सक्छ ।

त्यसैले, दैनिक खाने भोजनमा नुनको मात्रा कटौती गरेमा र राती सुत्नु अघि कम मात्रामा पानीको सेवन गरेमा यो समस्याबाट छिट्टै मुक्ति पाउन सकिन्छ । यति गर्दा पनि यो समस्याको निवारण नभएको खण्डमा मधुमेह र मुटु सम्बन्धि रोग छ की भनेर चिकित्सकको मा गएर जाँच गराउनुपर्छ ।

Loading...