fbpx

तीजमा पहिरन तथा गहनाको महत्त्व र अहिले आएको विकृति

विराटनगर, १६ भदौ । आज हिन्दू महिलाहरूको विशेष चाड हरितालिका तीज । यसले एक प्रकारको बेग्लै उत्साह र उमंग छाएको देख्न सकिन्छ । अहिले जताततै तीजकै चर्चा चलिरहेको छ । भदौ लागेदेखि नै टोल टोलमा, संघसंस्था होस् वा साथीभाइहरूसंग दर खाने कार्यक्रमहरू पनि बाक्लिन थालेका छन् ।

रेडियो, टेलिभिजन, मोबाइलदेखि यूट्यूबसम्ममा विभिन्न खालका तीजका गीतहरु बजिरहेको सुन्न सकिन्छ । दर खाने समयदेखि लिएर तीजको दिनसम्म विशेषगरी रातो रंगका पहिरनले बजार नै रातो रंगले पोतिएको जस्तो देख्न सकिन्छ । तीज, विवाहिता महिलाले आफ्नो श्रीमानको लामो आयुको र राम्रो भविष्यका लागि ब्रत लिई मनाइने चाड हो ।

विवाहित महिलाहरूसँगै अविवाहित युवती तथा किशोरीहरू पनि राम्रो बर पाउनका लागि तीजको व्रत बस्ने भएकाले सबैका लागि यो पर्वलले थप महत्व बोकेको छ । तर, आज भोलिको मोडर्न तीज महिलाहरूका लागि साथीभाई भेला भएर रमाइलो गर्दै मीठो खाने बाहना बन्दै आएको छ । तीजमा भगवान शिवजीको पूजा अर्चना गरिन्छ । आजको दिन विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायुको कामना र अविवाहितहरूले सुयोग्य वर मिलोस् भन्ने कामना गर्दै निर्जला व्रत बस्ने गर्छन् ।

राति शिव र पार्वतीको पूजा गरेर रातभरिको लागि बत्ती बाल्ने गर्छन् । पूजा गर्नुअगाडि महिलाहरू अनेक श्रृंगार गरेर राता पहिरनमा सजिने गर्छन् । हरितालिका तीजको दिन हरेक रंग तथा पहिरनको सामग्रीहरूले विशेष महत्त्व बोकेको हुन्छ । पहिरनका सौखिन हुने महिलाहरूका लागि तीजमा थप आकर्षक देखिनका लागि आजकल प्रतिसपर्धा नै चलेको जस्तो देखिन्छ । पहिलेजस्तै रातो सारी लगाएर नबसेपनि रातो कलरमा विभिन्न कलरको कम्बिनेसन भएको सारी, लेहेंगा, कुर्ता सुरुवाल, लङ कुर्ती अहिले तीजमा लगाउनका लागि धेरै महिलाहरूको रोजाइमा परेको छन् ।

त्यस्तै, चुरा, पोते, गरगहना, छड्के तिलहरी, टाउकोमा लगाउने धागो, टीका, मेहेन्दीबिना तीजको पहिरनलाई अधुरो नै मानिने गरिन्छ । हरेक अवसरमा लगाउन थालिएको मेहेन्दीलाई नयाँ बुट्टाका साथ तीजमा मेहन्दी लगाएर आफ्नो सौन्दर्यमा सुनमा सुगन्ध भर्न सकिन्छ । साडी, कुर्ता–सुरुवात वा लेहेंगा जस्तो सुकै पहिरनमा होस् टीका अर्थात् बिन्दीबिना अधुरो नै हुने गर्छ । यदि पहिरनसँग मेल खाने टीका भेटिँदैन भने रातो रंगको बिन्दी लगाउन सकिन्छ किन भने रातो टीका जुन सुकै पहिरनको लागि पनि उत्कुष्ट हुने गर्छ ।

टीकाको छनोट गर्दा आफ्नो अनुहारको आकार प्रकारलाई पनि ध्यान दिएर सानो वा ठूलो खालको छान्नु आवश्यक हुन्छ । चुरालाई तीजको विशेष गहनाको रूपमा लिने गरिन्छ । रंगीविरंगी चुराहरूले महिलाहरूको शोभा बढाउने गर्छ । विवाहित महिलाको पहिचान भएपनि आज–भोलि अविवाहित किशोरी तथा युवतीहरूले पनि चुराको प्रयोग गर्ने गर्छन् । बजारमा पाइने विभिन्न डिजाइन, रंगहरूका चुराहरू उपलब्ध छन्, आफ्नो पहिरन तथा रुचिअनुसार चुरा रोजेर लगाउन सकिन्छ ।

पोते तथा सिन्दूरलाई विवाहिता महिलाहरूको मुख्य श्रृंगारको रूपमा लिने गरिन्छ । विवाहको दिन श्रीमानले पहिराइदिने भएकाले पोते, छड्के तिलहरी र सिन्दूर विवाहित महिलाको पहिचानको रूपमा लिइन्छ । त्यसैले पोते, छड्के तिलहरी र सिन्दूरबिना विवाहित महिलाको शृंगारलाई अपूरो मानिन्छ । आजकल पहिरनसँगसँगै मेकअपले पनि छुट्टै विशेषता बोकेको हुन्छ । तीजमा मेकअप गर्दा मौसमलाई पनि ध्यान दिन आवश्यक हुन्छ । धेरै गर्मीको मौसम भएकोले पसिनाले मेकअप नबगाओस् भन्नाका लागि वाटरप्रुफ मेकअप प्रोडक्टहरूको प्रयोग गर्नु पर्छ ।

आफ्नो अनुहारमा सुहाउने, वा आफूलाई राम्रो लाग्ने मेकअपको प्रयोग गरेर आकर्षक देख्न सकिन्छ । तीजका बेला महिलाहरू गरगहनामा भने प्रतिसपर्धा नै सुरु भएको हुन्छ । अहिले विभिन्न डिजाइनका नवरत्नका हार, चन्द्र हार, रानी हार, सिक्का हारका साथमा सुनका चुरा, इयररिङ, शिरबन्दी, शिरमा चन्द्रमा तथा फूलका क्लिपहरू पनि उत्तिकै प्रयोग हुन थालेका छन् । बिगत केही वर्षहरूदेखि आधुनिकताको नाममा, परिवर्तनको बाहानामा तीज जस्तो पबित्र चाड बिकृति, बिसंगतिको शिकार बन्दै आएको छ । धर्म र परम्परासंग जोडिने भएकाले कुनै प्रतिस्पर्धा नगरी मनबाट सभ्य तरिकाले तीज मनाउनु पर्छ ।

Loading...