fbpx

साँस्कृतिक र धार्मिक महत्त्व बोकेको तीज र अघिल्लो दिन खाइने दर धरापमा !

aa
अंकिता ताम्राकार

विराटनगर, १५ भदौ । महिलाहरूको विशेष चाडपर्वको रूपमा मनाइने तीजले बेग्लै साँस्कृतिक र धार्मिक महत्त्व बोकेको छ । हिन्दू धार्मिक ग्रन्थका अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाएपछि एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भइ ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिएपछि शिव र पार्वतीको विवाह भएको थियो ।

त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन रहेको हुँदा सोही तिथीदेखि हिन्दू नारीहरूले यसलाई तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । साथै, पार्वतीले आफ्नो पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेको दिन हरितालिका तीजको दिन परेको हुनाले त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएको चलन पनि रहेको छ । तीजले सामाजिक सम्बन्धहरू बलियो बनाउनेदेखि लिएर मानिसमा खुशीयाली र हर्ष उल्लासको प्रवाह गर्ने काम गरिरहेको छ, जुन चाँही तीजको सबैभन्दा ठूलो सकारात्मक पक्ष रहेको छ ।

तीजअघि दिदी बहिनी, दाजुभाइ परिवार र साथीभाइसँग बसेर दरको रूपमा गरिने भोजले पनि छुट्टै सामाजिक महत्त्व राखेको छ । तीजको सहायक पक्षको रूपमा रहेको दर तीजभन्दा पनि बढी चर्चा र महत्त्वको विषय बन्दै आएको छ । तीज सुरु हुन एक दिन मात्र बाँकी रहेको छ । घर घरमा, टोलमा, कार्यालयमा काम गर्ने कर्मचारीदेखि लिएर विभिन्न संघ–संस्थाहरुमा समेत दरकै चर्चा सुनिने गरिन्छ । दर खाने भनेको एउटा छुट्टै पर्वजस्तै भइसकेको छ । टोलमा, संस्थामा र छुट्टै समूह बनाएर पालैपालो हप्तौंसम्म दर खाने चलन बढिरहेको देख्न सकिन्छ ।

हिन्दू परम्परा अनुसार ब्रत बस्नुभन्दा एक दिनअगाडि शरीरलाई शुद्ध राख्नका लागि शुद्ध खानेकुराको सेवन गर्नु पर्छ । खानाबाटै शरीर, मन, आत्मा र चित्तलाई शुद्ध राख्न सकिने विश्वास रहेकाले ब्रत जस्तो पवित्र कार्यअघि शुद्ध खानेकुराको छनोट गर्नु पनि महत्त्व हुने गर्छ । ब्रत बस्ने अघिल्लो दिन चोखो खानेकुरा, मनलाई शान्त पार्ने खालको खानेकुरा र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्ने भएकोले ब्रत बस्न एक दिनअगाडि केही खान आवश्यक हुन्छ । तीज धार्मिक परम्परासँग जोडिएको पर्व भएपनि तीजमा खाइने दरको सम्बन्ध धर्म र परम्परासँग भने जोडिएको छैन ।

ब्रत बस्न एक दिनअगाडि स्वस्थ रहनका लागि केही अडिलो खानेकुरा खाँदा ब्रतको दिन सजिलो होस् भनेर दर खाने प्रचलन पहिलादेखि बस्दै आएको छ । पहिले गाउँघरमा तीजको दिन पनि धेरै काम गर्नुपर्ने हुन्थ्यो । दिनभरी भोकै बसेर काम गर्न नसकिने भएकोले ब्रत बस्ने अघिल्लो दिन नै दरिलो, पोषिलो खानेकुरा खाएर काम गर्न बल आउने भन्ने मान्यता रहेको छ । ब्रत बस्दा शरीरलाई कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध जोडिएको छ । हिन्दू नेपाली संस्कारमा चेलीहरू तीजमा माइत गएर ब्रत बस्ने चलन रहेको छ । बल्लबल्ल माइत आएका चेलिबेटीहरूलाई मीठो, पोषिलो खुवाउने मन अभिभावकहरूमा हुनु स्वभाविक नै हो ।

तीजमा ब्रत बस्ने भएपछि अघिल्लो दिन माइतमा मीठो–मीठो खुवाउने चलन पहिलेदेखि नै चलिआयो र यसरी तीजको अघिल्लो दिन खाने परिकारलाई दर भनेर भनिन थालियो । पहिले गाउँघरमा मीठो खान चाडबाड नै कुर्नु पर्ने हुन्थ्यो । पहिला गाउँघरमा महिलाहरूले सामान्य खानेकुरा खाने भएकाले पर्याप्त पौष्टिक आहार पाउँदैनथे । काम गर्नका लागि शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि तीज ब्रत बस्नुअगाडि दरको प्रचलन सुरु भएको हो । ब्रत बस्ने अघिल्लो दिन दूध, घ्यूबाट बनेको चोखो र पोषिलो खानेकुरा खानु पर्छ ।

दरको रूपमा तीजको अघिल्लो दिन रातितिर अनादीको लट्टे, घ्यू हालेको खाना, खीर, ढकनी जस्ता तागत दिने खानेकुरा खाने चलन छ । तर, हिजोआज दरको रूपमा अण्डा, माछा तथा मासुलगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ । तीजको ब्रत धर्मसँग जोडिएको भएकाले अघिल्लो दिन माछा, मासु खाएर ब्रत बस्नुलाई शुद्ध मानिँदैन । आजकल ठाउँ अनुसार हेर्ने हो भने तीजको दिन शारीरिक परिश्रम गर्ने चलन धेरै नै घटिसकेको छ । त्यसैले दरमा धेरै प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई नकारात्मक असर पर्न सक्ने भएकोले यस्तो कुरामा ख्याल गर्न आवश्यक देखिन्छ ।

तीज र अघिल्लो दिन खाइने दरको नाममा आएको परिवर्तन त खोजको विषय बन्दै गएको छ र, समाजमा समयसँगै दरको बुझाइमा समेत फरक आएको छ । आजकल समाजमा दरको सांस्कृतिक र सामाजिक महत्व बिर्सेर जाँडरक्सी खानेदेखि लिएर डिस्को पार्टीसम्मका क्रियाकलापहरुले गर्दा चलिआएको संस्कृति नै धरापमा पर्न सक्ने चिन्ता थपिँदै आएको छ । पहिलेको दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो । शहरी क्षेत्रमा तीज आउनुभन्दा हप्तौँ अगाडिदेखि दरको नाममा होटल र पार्टी प्यालेसहरूमा रेडिमेट खानेकुरा खाने प्रचलन बढ्दै आएको छ ।

तीजको गीतहरूमा आमाले खुवाउने दरको महिमा गरिन्थो । तर, अहिले दरको परिभाषा नै छुट्टै भएको छ । होटल, पार्टी प्यालेसका साहुहरूले दर पकाएर प्लेटको हिसाबमा राख्ने गर्छन् । यस्तो नेपाली मौलिक परिकार नभएको दर अस्वस्थकर हुनुका साथै त्यसमा प्रेम पनि पाइँदैन । साथै, पहिलेका तीज गीतहरूमा महिलाहरूले घरमा भोगेका पीडा तथा आफ्नो इच्छाहरूलाई गीतको भाकामा साथीहरूसँग ब्यक्त गर्ने र धार्मिक भावना भएका गीतहरू गाउने चलन थियो । हिजोआज पनि धेरै राम्रा गीतहरू बनेका भएपनि स्वतन्त्रताको नाममा उश्रृङ्खलता बढेको कारणले भड्किला शैलीका गीत गाउने चलन बढेको छ ।

उत्ताउलो पाराले तीज गीत गाउने चलन बढेकोले हिजोआज तीज गीतको संस्कृति बोक्ने खालका गीतहरू हराउँदै गएका छन् । राम्रो पति पाउन होस् वा पतिलाई राम्रो होस् भनेर आफ्नो शरीर र मनलाई गाह्रो पारेर पानी पनि नखाइ ब्रत बुस्नु राम्रो होइन । शरीरको अवस्था अनुसार पानी, फलफूल, जुस, दूध तथा दही खाएर ब्रत बस्न सकिन्छ । तीजको ब्रत पत्नीले मात्र नभएर पतिले बस्दा पनि हुन्छ । यदि, पतिले आफ्नो पत्नी ब्रत बसेको मन पराउँदैन भने जबर्जस्ती ब्रत बस्ने गर्नु हुँदैन । यसरि जबर्जस्ति ब्रत बस्ने गर्दा पतिलाई राम्रो हुनुको सट्टा झन् नराम्रो हन सक्छ ।

Loading...