fbpx

कृषि यान्त्रिकरणमा अनुकरणीय सातमाइल

writter
डा. राजेन्द्र उप्रेती

साउन महिनाको अन्तिम हप्ता सिमिट नेपालको सहयोगमा प्रदेश १ मा रहेका केही सरकारी, गैरसरकारी तथा निजी सेवाप्रदायक संस्थाहरुको संयुक्त टोलीलाई पश्चिम बंगालको कुचबिहार जिल्लाको सातमाइलमा रहेको सातमाइल सतिस क्लबका कार्यक्रमहरु अवलोकन गर्ने मौका मिल्यो ।

त्यो अवलोकन भ्रमण धेरै मानेमा मेरा लागि प्रेरणादायी रह्यो । अर्कै संस्थाको त्यतिकै बसेको धान रोप्ने मेसिन भाडामा ल्याएर पाँच वर्षअगाडि कृषि यान्त्रिकरणमा काम गर्न थालेको सातमाइल सतिस क्लब आज कुचबिहारमा मात्र होइन भारतको पश्चिम बंगाल, नेपाल र बंगलादेशको लागि पनि सिकाइ केन्द्रको रूपमा विकास भएर गइरहेको छ ।

aaa
ठूला भवनहरू र तामझामबिनाको सातमाइल सतिस क्लबको मेसिनहरू र प्राविधिक सेवा भाडामा दिने केन्द्र

दुई वर्षअगाडि मैले त्यो ठाँउको छोटो समयको भ्रमण गर्दा त्यो गैसरकारी संस्था २–३ वटा धान रोप्ने मेसिनहरू, एउटा मलबीउ खसाल्ने मेसिन र अन्य केही साना कृषि औजारहरूको उपयोग गर्दै कृषिको यान्त्रिकरणमा काम गरिरहेको थियो । उनीहरू त्यो बेला धानको नर्सरी बनाउने, बेर्ना उत्पादन गर्ने, मेसिनले धान रोप्ने तथा मेसिन तथा हाते औजारहरूले धानको गोडमेल गर्ने कार्यहरू गर्ने र त्यही प्रविधि किसान क्लबहरूमार्फत फैलाउने कामहरु गरिरहेका थिए । यो दुई वर्षको समयमा त्यो संस्थाले उल्लेखनीय प्रगति गरिसकेछ । अहिले जुनसुकै सिजनमा पनि त्यो संस्थामा सिक्न आउनेहरूको भीड लागेको हुन्छ । भारतका विभिन्न राज्यहरूका साथसाथै नेपाल र बंगलादेशका अवलोकन टोलीहरू पनि त्यहाँ पुगिरहेका हुन्छन् ।

दुई वर्षअगाडी आफैँ एउटा गैरसरकारी सेवाप्रदायक संस्थाको रूपमा काम गरिरहेको संस्थाले विकास गरेका ५६ वटा कृषि प्रविधि र यन्त्र उपकरण भाडामा उपलब्ध गराउने सेवाप्रदायक संस्थाहरु स्थापना भएर पश्चिमबंगालका ७ वटा जिल्लाहरूमा कार्य गरिरहेका रहेछन् । सातमाइल सतिस क्लबको संलग्नता अब धानको बेर्ना उत्पादन, मेसिनबाट धान रोपाइँ र गोडाइमा मात्र सीमित रहेन । अब उनीहरू कृषिका विविध क्षेत्रमा कार्य गर्न थालेका रहेछन् । अहिले सातमाइल सतिस क्लबले कृषिमा यान्त्रिकरणको अलावा माछापालन, फूलखेती, कुखुरा तथा हाँसपालन, कृषि सामाग्रीहरू आपूिर्त र कृषि औजार र उपकरणहरूको बजारीकरण, छोटो र लामो दिनका तालिमहरू संचालन आदि कार्यहरू गर्न थालेको रहेछन् । उनीहरूको कार्यक्षेत्र पश्चिम बंगालको कुचबिहार जिल्लाबाट फैलँदै पश्चिम बंगालको सात वटा जिल्लाहरूमा पुगिसकेको रहेछ ।

aa
सातमाइल सतिस क्लबको मिटिङ हल र हाम्रो अवलोकन टोलीका सदस्यहरू

मेसीन र औजारहरूका कुरा गर्दा सातमाइल सतिस क्लबसँग हाल ३ वटा कम्बाइन हार्भेष्टरहरू, विभिन्न खाले धान रोप्ने मेसिनहरू, खनजोत नगरी विभिन्न बालीहरु (जस्तै मकै, तेरी, जुट, गहुँ आदि) रोप्ने मेसिनहरू, आलुको ड्गाङ बनाउने तथा आलु खन्ने मेसिन, धान गोडमेल गर्ने मेसिनहरु आदि रहेछन् । जुन मेसिनहरू उनीहरूको कार्यक्रम बिस्तारसँगै निरन्तर बढिरहेका छन् ।

maha
सातमाइल सतिस क्लबका केही मेसिनहरू (कम्बाईन हार्भेष्टर, सिडड्रिलर, राईस ट्रान्सप्लान्टरहरु)

मेसिनहरू मात्र होइन, मेसिनको प्रयोग र संगठन बिस्तारसँगै आयआर्जनका विभिन्न व्यवसायहरू थपिँदै गएका छन् । सानो–सानो प्लाष्टिक पोखरीमा माछापालन, पोलीहाउसभित्र फूलखेती, कुखुरा तथा हाँसपालन आदी नयाँ थपिँदै गएका व्यवसायहरू हुन् । यसरी कृषिको यान्त्रिकरणबाट सुरु भएको विकास यात्राले हरेक वर्ष नयाँ–नयाँ गन्तब्य पहिल्याइरहेको छ र सातमाइल सतिस क्लब सयौँ साना तथा मझौला किसानहरूको जिविकोपार्जन सहज बनाउनको लागि सक्रिय सहयेगी बनेको छ ।

 

aa
सय दिने अवधिको माछापालन गरी सानो–सानो पोखरीबाट पनि १५ देखि २० हजार मुनाफा गरेको देखियो ।

हाम्रो वर्तमान अवस्था र सातमाइलको सिकाइ

हामी सबैले भन्दै आएको कृषिप्रधान देश नेपाल अनि त्यसको पनि मुख्य उत्पादन क्षेत्र प्रदेश १ अर्थात् पूर्वी नेपाल । जसको कृषि उत्पादन गरिँदै आएको क्षेत्रफल निरन्तर खुम्चिँदो छ र कृषि क्षेत्रबाट पलायन हुने किसान परिवारहरूको संख्या निरन्तर बढ्दो छ । यसको कारणले गर्दा यो प्रदेशले जुन स्तरमा देशको कृषि उत्पादनमा योगदान गर्न सक्छ त्यो भइरहेको छैन । हामीसँग धेरै सम्भावनाहरू छन् तर कृषिमा लागिपर्ने मानिसहरू र काम गर्ने ज्यामीहरू घट्दै जाँदा खेतहरू बाझिँदैछन् र खेती गर्नेहरूमा निराशा बढिरहेको छ । यो अवस्थामा मानव र पशु श्रममा आधारित हाम्रो परम्परागत कृषिले रुपान्तरण खोजिरहेको छ । मानव र पशुश्रममा आधारित हाम्रो कृषिले यान्त्रिकरणको बाटो खोजिरहेको छ । जसको माध्यमबाट मजदूर अभावबाट श्रृजित समस्या कम गर्न सकियोस् र खेती खर्च घटाउन सकियोस् ।

यो कार्यको लागि सातमाइल सतिस क्लबको सिकाइ हाम्रा लागि फलदायी हुनसक्छ । हामीसँग लगानी गर्ने पैसा र घरघर पुग्ने सम्पर्क संजाल भएका धेरै संघसंस्थाहरू छन् । हाम्रो भ्रमण टोलीमा प्रदेश १ मा आ–आफ्नो क्षेत्रमा उल्लेख्य कार्य गरिरहेका जीवन विकास समाज कटहरी, नेपाल बहुउदेश्य सहकारी संस्था मेचीनगर, नेपाल कृषि कम्पनी डाँगीहाट र साना किसान सहकारी संस्था महारानीझोडाका नेतृत्त्वकर्ताहरू पनि हुनुहुन्थ्यो । वहाँहरू पनि यो भ्रमणपछि केही गर्नका लागि उत्साही हुनुभएको छ ।

अब हाम्रा किसानहरू पनि अनुदानमा पाइयो भनेर आफूलाई चाहिने–नचाहिने मेसिन औजारहरू भेला पार्नुभन्दा अरुबाट चाहिएको बेला भाडामा ल्याएर काम चलाउने वा आफ्नो ठाँउमा चाहिने सबै खाले मेसिन उपकरण राखेर अरुहरूको काम पनि भाडामा गर्ने खाले सेवाप्रदायक संस्था बनाउने भन्नेतिर सोच्ने बेला भएको छ । ताकी एकै ठाँउमा किसानहरूलाई चाहिने मेसिन औजारहरू पाउन सकियोस् र मेसिन औजारहरूको मर्मतसम्भारलगायतका कार्यहरू त्यही ठाउँबाट गर्न गराउन सकियोस् । यो कार्यलाई अगाडि बढाउनका लागि प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सिमिट नेपाल र यहाँ उल्लेखित संस्थाहरू प्रयासरत छन् । आगामी दिनमा यो प्रयासले सार्थकरूप लिने कुरामा आशावादी हुन सकिन्छ । अवसरहरूको खोजी गरौँ, श्रोतसाधनहरूको सदुपयोग गरौँ र कृषिको रुपान्तरणको लागि सहकार्य गरौँ ।

Loading...