fbpx

हड्हड् हुड्डी र नेपालको शिक्षा

aa
हरिबोल बजगाँई

लाई अफिसबाट फर्केपछि घरमा सुजनसँग खेल्न रमाइलो लाग्छ । ऊ ६ वर्षको भयो, ज्ञानकुञ्ज स्कूलमा कक्षा २ मा पढ्दै छ । उसँग खेल्दाखेल्दै उसले उसका दिनभरिका गतिविधि सुनाउँछ । उसका मनभित्रका कुरा खोल्छ । बाल क्रिडा र बाल संसारको बेग्लै मज्जा छ । मलाई उसका स्कूलका सबै गतिविधिहरु छर्लङ्ग छन् ।

कहिले म उसलाई पढ्न सिकाउँछु, कहिले उसले मलाई सिकाउँछ । ऊ लेख्न दिन्छ, म लेख्छु, खाली ठाउँ भर्न लगाउँछ, म भर्छु । मलाई पढाउने शिलशिलामा उसले ध्यान दिएर मेरो लागि होमओर्क तयारी गर्नुपर्छ । खाली ठाउँ भर्न, जोडा मिलाउने अभ्यास गराउनका लागि उसले अनेक कुरा लेख्नुपर्ने हुन्छ । मलाई लाग्छ कि ऊ विद्यार्थी हुँदाभन्दा सर भएर सिकाउँदा उसले बढी सिक्छ । उसले लेख-पढ गर्न दिएका करिब ८० प्रतिशत काम मैले सही तरिकाले पूरा गर्ने गर्छु र बाँकी काटेर सुधार गर्नु पर्ने काम उसको हुन्छ । मेरा कमी कमजोरी फेला पार्दा सानो सरलाई ज्यादै रमाइलो लाग्छ । थाहै नपाइ ऊ टिचर भएर मलाई सिकाउने शिलशिलामा उसले पढाइमा निकै राम्रो प्रगति गरेको छ । पढाइमा रुची बढेको छ । निक्कै रस छ हाम्रो यो खेलमा ।

आज ऊ शिक्षक म विद्यार्थी भएर खेल्ने पालो । मैले गूड मर्निङ्ग भने अनि सुरु भयो हाम्रो खेल । ऊ सर भयो । मलाई उठायो, नमूना देखाउँदै हात जोड्न लगायो । मैले टिचरको आज्ञा पालना गर्दै गएँ, अनुकरण गर्दै गएँ । उसले शीर झुकाएर मैले जे भन्छु, त्यो भन्नु भन्दै गयो म तयार भएँ । सानो सर भन्दै जानु भयो तर मलाई ति शब्द र शैली ठम्याउन निक्कै मुस्किल पर्यो । मैले सानो सरलाई फेरि फेरि दोहर्याउन अनुरोध गरे । सानो सरलाई अक्षरस, यो गीत हो कि कविता हो, सबै कण्ठस्थ थिए । मलाई सरका कुराहरुमा कौतुहलता बढ्दै गयो तर ति शब्द र आशय बुझ्न सकिँन अनि सानो सरको कुरालाई फेरि फेरि भन्न लगाउँदै कापीमा टिप्दै गएँ । निक्कै मुस्किलले पाना हेरेर बताउन सक्ने पनि भएँ अन्ततः पास गरेँ, भन्न सक्ने भएँ । अनि सानो सरका ति लयलाई मोबाइलमा रेकर्डसमेत गराएँ । सरले गाउनु भएको कुरा यस्ता थिए जसलाई मैले पनि गाएँ:

हड्हड् हुड्डी, होगर मटटी
ती माइ आरे, हे दिस कन्ट्री
सक् माइ कट्टी, हड्हड् हुड्डी
टुवेल अवेल, हेदर कट्टी
बारम्बार, बाबा कन्टी
हड्हड् हुड्डी ।

त्यसपछि सानो सरलाई यी कुरा के हुन् ? कहा सिकेको ? भनेर सोध्दै गएँ । उसले अर्को गाना थप्यो जुन नेपालको राष्ट्रिय गाना थियो ।
‘‘सयौ थुङ्गा फूलका हामी …….” । यो पनि सुरुदेखि अन्त्यसम्म लयबद्ध तरिकाले एउटै नबिगारिकन बतायो । अनि भन्यो यी दुवै गाना स्कूल जानेबित्तिक्कै सरहरुसँगसँगै स्कूलको अगाडि बसेर गाउनुपर्छ । अनि अडकल काटेँ, यो पक्कै पनि स्कूलको आफ्नो प्रार्थना हुनु पर्छ, धेरैजसोः विद्यालयले राष्ट्रिय गीतसँगै विद्यालयको आफ्नो गीत अथवा प्रार्थना पनि साथसाथै गाउने गरेको थाहा पाएको छु ।

उसको नया प्रार्थनाका बारेमा परिवारमा हल्लाखल्ला भयो । उसले सबैलाई सुनायो । अफिसका साथीहरुले पनि आ–आफनो मोबाइलमा रेकर्ड गराए ।

सानो सरलाई बोल्न आयो गाउन आयो तर अर्थ आएन, हामीले पनि केही बुझेनौँ । उसलाई ‘‘सयौँ थुङ्गा फूलका हामी” भन्ने गानाको भावको बारेमा उसले के बुझेको होला मलाई थप कोतुहलता जाग्यो । भाइ सयौँ थुङ्गा भनेको के हो ? उसले भन्यो थुक्पा । खाने कुरा । मलाई ताजुव लाग्यो । कति अवोध र सरल अर्थ छ उसका लागि । अनि ‘सार्वभौम भइ’ भनेको के त ? उसले बतायो ‘भौ भौ, कुकुरका बच्चाहरु’ । बडो गजब छ, हाम्रो प्रयास अनि देशको प्रयास, लगानी र त्यसको उत्पादन ।

मैले हड्हड् हुड्डीको प्रष्ट सन्देश के रहेछ भनेर विद्यालय गएँ । जाँदा जाँदै भित्तामा लेखेको रहेछः

Pray for School

I pray to thee O’ God almighty remind me always; of my responsibility toward my country my people and me to love well and all plea for I am born for my country and to be free.

लेख्नेहरुले पनि यसको शब्द र सन्देश सायदै बुझेको हुनुपर्दछ किनकी वाक्यहरु छरिएका बिग्रिएका थिए । अक्षरहरु बटुलेर वाक्य बनाउनु पर्ने अवस्थाका थिए । साँच्चै हामी कस्ता विद्यायलका उपज ? अनि हामी कस्ता बनाउँदै छौँ, हाम्रा नानीलाई ? विद्यालय जान नमानेर चकलेट खुवाउने आशा देखाएर बल्ल विद्यालय गएका नानीलाई देश र जनाताप्रतिको जिम्मेवारी बहन गर्दछु भन्ने रटाएर के नतिजा हाँसिल गर्न खोजेका हामीले ? हाम्रो शिक्षा कस्तो ?

उसको पढाइ मलाई बुझ्न कठिन छ । एक दिन, उसलाई ५ ओटा किचनका सामानहरुको लिस्ट बनाउनुपर्ने रहेछ, अंग्रेजीमा । उसले कप, प्लेट, स्पोन र ग्लास गरी ४ ओटा सामानको नाम लेख्यो अनि पाँचौ नाम बिर्सिएको रहेछ र मलाई सोध्न आयो । मैले थर्मस् भनेँ तर मिलेन । बकेट याने बाल्टिन भनेँ त्यो पनि मिलेन, जग, मग आदि भन्दै गएँ तर पनि उसको विद्यालयमा शिक्षकले नसिकाएको कुरा लेख्दा पिट्छन रे । यस्तो हुँदैन भन्छन् रे । अन्तिममा राइस कुकर भनेको बल्ल मिल्यो ।

हाम्रा नानीहरुको विचार, सृजनशीलता र खोजले किन स्थान नपाउने ? किन सधैँ शिक्षकले रटाएको मात्रै ठीक हुने ? भन्न याने बताउन आउने तर भाव बुझ्न, यथार्थता विश्लेषण गर्न अर्थात् ग्रहण गर्न नआउने, नसकिने । मैले त सानो सरबाट धेरै सिकेँ विद्यालयले पनि सिक्ने कि ?

Loading...