fbpx

‘होलबडी चेकअप’ र नियमित स्वास्थ्य परीक्षण

डा. ठाकुर देवकोटा
‘शरीरको पूर्ण स्वास्थ्य परीक्षण’का लागि हाम्रा अस्पतालहरुले अहिले हेल्थ चेकअप प्याकेजहरु अफर गर्ने गरेका छन् । हरेक व्यक्ति स्वस्थ रहन स्वास्थ्य परीक्षण अपरिहार्य हुन्छ । बिरामीलाई उपचार गर्नुभन्दा अघि स्वाथ्य अवस्था कस्तो रहेछ भनी थाहा पाउन यस्ता स्वास्थ्य परीक्षण गर्ने गरिन्छ ।

हाम्रो समाजमा अझैपनि मानिसहरु बिरामी नभइ स्वास्थ्य जाँच गर्दैनन् । तर, पछिल्लो समयमा जनमानसमा स्वास्थ्यप्रतिको सजगता र चेतना दिन प्रतिदिन बढ्दै गएकाले स्वास्थ्य परीक्षणको क्रम बढ्दो अवस्थामा छ ।

शहरमा समय–समयमा नियमित स्वास्थ्य परीक्षण गराउने चलन बिस्तारै सुरु हुन थालेको छ । आम नागरिकको आवश्यकता बुझेर अस्पतालहरुले स्वास्थ्य परीक्षणका विभिन्न प्याकेज उपलब्ध गराउन थालेका छन् । तीनैमध्येको प्याकेज हो, ‘होलबडी चेकअप’ अर्थात् पूर्ण शारीरिक परीक्षण । होलबडी चेकजाँचबारे धेरैले सुनेका त हुन्छन्, तर, त्यसभित्र के–के जाँच गरिन्छ, के–के कुरामा ध्यान दिनुपर्छ भन्ने चाहिँ जानकारी राखेको पाईँदैन ।

के हो ‘होलबडी चेकअप’ ?

यसअन्तर्गत मानव शरिरको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिन्छ । यसभित्र शारिरिक मात्र नभएर मानसिक सुस्वास्थ्य पनि परीक्षण गरिन्छ । व्यक्तिले आफ्नो शरीरको स्वास्थ्य अवस्था कस्तो छ भनेर चेकजाँच गर्नु–गराउनुनै होल बडी चेकअप हो । ‘होलबडी चेक’ गर्दा सामान्यतया सम्भावित रोग र रोग लाग्न नदिने उपायहरूका बारेमा पूर्व जानकारी गराउँछ । होलबडीमा मुख्यतः मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीलगायत शरीरको अंगको अवस्थाका बारेमा जानकारी दिने गरिन्छ ।

दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो र कलेजोको अवस्था पत्ता शारीरिक परीक्षणबाट जानकारी हुन्छ । परीक्षणपछि के–के कुरामा सावधानी अपनाउने भनेर चिकित्सकहरूले सुझाव दिने गर्छन् । ति सुझावहरू अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर निको नहुने रोगहरूबाट सजिलै बच्न सकिन्छ ।

होलबडी चेक अपबाट भिडियो एक्सरे, मुत्रथैलीको अवस्था, इसिजी, अल्ट्रासाउण्ड, ईको, थाईराईड परीक्षण गरी शरीरका विभिन्न भागहरूको पूर्वजानकारी लिने गरिन्छ । अहिलेको सामान्य खर्चले, भोलिको सम्भावित लाखौं खर्च जोगाउन होलबडी चेकअपले अग्रणी भूमिका निर्वाह गर्छ ।

होलबडी चेकअपलाई अस्पतालहरूमा प्याकेज शीर्षक राखी महिला, पुरुष, उमेर समूहलगायतका हकमा फरक–फरक शुल्क तोकिएको छ । महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरू परीक्षण गर्नुपर्ने भएकाले शुल्क थोरै बढी पर्न जान्छ । प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरूलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ । त्यसैले केही अस्पतालहरूमा प्रारम्भिक चरण र दोस्रो चरण गरी होलबडी प्याकेज तयार पारिएको हुन्छ ।

के–के जाँच गरिन्छ ?

विशेषतः आफ्नो स्वास्थ्यको अवस्था कस्तो छ भनेर गरिने स्वास्थ्य परीक्षणलाई ‘होलबडी’ चेकअप भन्ने गरिन्छ । साधारणतया यसमा उमेर र लिङ्ग अनुसार जाँच गरिन्छ । मानसिक सुस्वास्थ्यको विषयमा जीवनशैलीले प्रभाव गर्ने विषयहरुको बारेमा परामर्श गरिन्छ, यसमा स्वास्थ्य परीक्षणको भिन्नै किसिमको साधन प्रयोग गरी जाँच गरिन्छ ।

होलबडी चेकअपपूर्वको तयारी

कुनै पनि स्वास्थ्य प्रयोगशाला (ल्याब) मा गरिएको जाँचको रिपोर्टको गुणस्तर तपाईंले नमूना दिनुभन्दा अगाडि तपाईंको दिनचर्या, खानपान, सेवन गर्ने औषधि, शारीरिक अवस्था, निन्द्रा आदि कुरासँग निर्भर हुन्छ । त्यसकारण जाँच गर्न जानुभन्दा अगाडि निम्न पूर्वतयारी आवश्यक छ ।

  1. जाँच गर्न जानुभन्दा अघिल्लो रात कम्तिमा ८–१० घन्टा सुत्नुपर्छ ।
  2. जाँच गर्नुभन्दा अगाडि कम्तिमा तीन दिन साधारण खाना खानु पर्छ ।
  3. धेरै बोसोयुक्त खाना खानाले टिजी (रगतमा ट्राइग्लिसराइड) रगतमा हुने वोसोको मात्रा) बढाउँछ ।
  4. प्रोटिनयुक्त खानाले युरिक एसिड बढाउँछ । व्रत बसेको व्यक्तिमा एसिटोन बढ्छ ।
  5. विशेषगरी सुगर, कोलेस्टेरोल र भिडियो एक्सरे जाँचका लागि कम्तिमा ८ देखि १० घन्टा खाली पेट हुनु अनिवार्य हुन्छ ।
  6. कमसेकम २४ घन्टा अघिदेखि धूमपान, मद्यपान गर्नु हुँदैन । मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्ने हुन्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ ।
  7. भर्खरै चुरोट सेवन गरेको व्यक्तिमा सुगर सामान्यभन्दा बढी देखिन्छ भने रक्तकण गणना पनि बढी आउँछ ।
  8. जाँच गर्ने व्यक्तिले आफ्नो पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी प्रयोगशालामा गराउनुपर्छ ।
  9. जाँच गराउने महिलाले आफू गर्भवती भएको अथवा महिनाबारी चलिरहेको बारे जानकारी गराउनुपर्छ । पाखुरासम्म सार्न मिल्ने सजिलो कपडा लगाउनुपर्छ ।

ॐ अस्पतालले पछिल्लोपटक अघि सारेको स्वास्थ्य परिक्षण प्याकेजहरु अत्यन्त बैज्ञानिक र तथ्यमा आधारित रहेका छन् । स्वास्थ्य परीक्षणमा आउनेहरुसँग निःशुल्क पूर्व परामर्श गरेपछि आवश्यकता पहिचान गरिमात्र स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था गरिएको छ ।

लेखक– काठमाडौं, चावहिल स्थित ॐ वेलनेश क्लिनिक, ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत सिनियर कन्सल्ट्यान्ट फिजिसियन हुन् ।

Loading...