fbpx

साइकल लेन नहुँदा औद्योगिक करिडोरका मजदूरहरू जोखिममा (भिडियोसहित)

रंगेली, १० भदौ । राजमार्गमा साइकल लेन नहुँदा सुनसरी र मोरङका उद्योगमा काम गर्ने मजदूरहरु वर्षौँदेखि दुर्घटनाको जोखिम झेल्न बाध्य छन् । सुनसरी र मोरङमा पर्ने विराटनगर–इटहरी, विराटनगर–रंगेली र विराटनगर–विराटचौक क्षेत्रका उद्योगहरुमा काम गर्ने मजदूहरुहरु साइकल लेन नहुँदा वषौँदेखि दुर्घटनाको जोखिम झेल्न बाध्य भएका हुन् ।

मजदूर संगठनहरुका अनुसार साइकल लेन नहँुदा वार्षिक ७ देखि १० जना मजदूरको ठूला सवारीको ठक्करबाट ज्यान जाने गरको छ । त्यसको दोब्बर संख्यामा मजदुहरु घाइते र अपाङ्ग हुने गरेका छन् । उत्तर–दक्षिण कोशी राजमार्गअन्र्तगतको रानी–विराटनगर–दुहबी हुँदै इटहरीसम्म तीन सय बढी उद्योगहरु पर्दछन् । पूर्वतर्फ विराटनगर–कटहरी–रंगेली क्षेत्रमा साना ठूला गरी करिब एकसय उद्योगहरु छन् । यसैगरी उत्तर–पूर्वमा पर्ने विराटनगर–विराटचौक क्षेत्रमा पनि दुई दर्जन जति उद्योगहरु छन् । यसबाहेक विराटनगर महानगरभित्र पनि सयौँ साना–ठूला विभिन्न उद्योग र व्यापारिक प्रतिष्ठानहरु छन् ।

सबै उद्योग र व्यापारिक प्रतिष्ठानहरुमा गाउँ–गाउँका मजदूरहरु साइकलमा चढेर काम गर्ने आउने जाने गर्छन् । सीमावर्ती भारतीय क्षेत्रहरुबाट पनि सयौँ मजदूरहरु साइकल चढेर काम गर्न आउने–जाने गरेका छन् । साइकल चडेर उद्योगामा काम गर्न आउने मजदूर ठूला गाडीले पेलेर ‘साईड’ नदिने गरेको बताउँछन् । ठूला गाडीवालाले अश्लील शब्द प्रयोग गरेर गाली दिने गरेको उनीहरुको गुनासो छ ।

यातायातको चाप र जाम हुने कोशी राजमार्गअन्तर्गतको सुनसरी–मोरङ, कटहरी–रंगेली र विराटनगर–विराटचौक औद्योगिक करिडोरमा काम गर्ने हजारौँ साइकलयात्री वर्षौँदेखि दुर्घटनाको जोखिम भोगिरहे पनि अझै राजमार्गमा साइकल लेन बनेका छैनन् । जनमजदुरी गरेर जीवनयापन गर्नु पर्ने उनीहरु अलग्गै साइकल लेन भएको खण्डमा सजिलो हुने बताउँछन् ।

मजदूर संगठनहरुका अनुसार सुनसरी–मोरङका उद्योगमा २० हजार भन्दाबढी मजदूर काम गर्छन् । तीमध्ये १० हजारजति राजमार्गमा साइकल कुदाएर काम गर्न जाने–आउने गर्दछ । तर, साँघुरो र यातायातको जाम भइरहने राजमार्गमा अलग्गै साइकल लेन नहुँदा दुर्घटनाको जोखिममा छन् ।

विराटनगरसँग जोडिएको कोशी राजमार्ग मात्र नभएर कटहरी–रंगेली–विराटचौकको मार्गमा सार्वजनिक साना ठूला मात्र नभएर निजी यातायात पनि उत्तिनै बाक्लो कुद्ने गर्दछन् । देशको दोस्रो ठूलो भन्सार नाका भएकोले मालबाहक ट्रक तथा कन्टेनरहरु बाक्लो जावत–जावत गर्दछन् । जसले गर्दा राजमार्गमा साइकलमा यात्रा गर्ने यात्रीहरु दुर्घटनाको उच्च जोखिम हुने मजदूर नेता तेजलाल कर्ण बताउँछन् । मजदूर दुर्घटनाको चपेटामा परेका कारण साइकल लेन अति आवश्यक समाजवादी टे«ड युनियन महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कर्ण बताउँछन् ।

सडक ६ लेन, साइकलका लागि गोरेटो छैन

उत्तर–दक्षिण व्यापारिक मार्ग बिस्तार निर्देशनालय स्थापना गरेर सरकारले कोशी राजमार्गअन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडकखण्ड आयोजना कार्यालयमार्फत् धमाधम स्तरोन्नती गराइरहेको छ । तर, सिक्स लेन (६ लाइन) को सडक स्तरोन्नतीको जारी भएपनि साइकलका लागि लेन छुट्याइएको छैन ।

स्तरोन्नती गरिएका सडक किनारमा पनि बालुवागिटी र अन्य सामग्री थुपार्ने, ग्यारेज पसल राख्ने, सवारी साधनहरु जथाभावी पार्किङ गरिदिँदा राजमार्गमा साइकलयात्रीहरु झन् जोखिममा पर्ने गरेका छन् । व्यस्त सडक भएको र हेभी सवारीहरु तीब्र गतिमा कुद्ने भएकोले साइकलयात्रीहरु दुर्घटनामा पर्ने गरेको कर्णको गुनासो छ ।

Loading...