fbpx

अमेरिकन फौजीकिराको प्रकोप व्यवस्थापन र हाम्रो दायित्त्व

डा राजेन्द्र उप्रेती, सरस्वती श्रेष्ठ, मुकेशकुमार यादव

हिजो साँझ ओखलढुगा खोटाङ र उदयपुर जिल्लाहरुमा मिचाहा फौजीकिराको (Fall Army worm) ३ दिने अनुगमन सकाएर विराटनगर आइपुगियो । स्थलगत अनुगमनको क्रममा तीनै जिल्लाहरुमा यो किराको फैलावट र प्रकोप धेरै देखियो र यो तीब्ररुपमा सबै तिर फैलिँदै गएको पाइयो । यो किराले मकैबालीको कलिलो पातहरुबाट सुरु गर्ने क्षति क्रमसः बढाउँदै लगेर ठूलो बोटहरुको गुवो र पातहरु खाँदै बेलैमा यसको व्यवस्थापन नगर्ने हो भने मकैबाली पूर्णरुपमा सखाप बनाउने देखियो ।

खेतबारीमा लगाएको मकै बालीमा किराको प्रकोप बढ्दै जाँदा किसानहरुमा यो किराले अन्य बालीनालीहरु रुख–बिरुवा वस्तुभाउ सबैमा क्षति पुर्याउने सन्त्रास फैलिएको पाइयो । गाँउहरुमा यो किरासँग जोडेर नयाँ–नयाँ कथाहरु फैलिरहेका रहेछन् । जुन, कुराहरु हामीले बेलैमा समाधान गर्नुपर्ने भैसकेको छ । मकैबालीमा देखिएको यो अमेरिकन फौजीकिराको संक्षिप्त जानकारी तथा त्यसको व्यवस्थापनबारे तल प्रकाश पारिएको छ ।

krishi
अमेरीकन फौजीकीराको (Fall Army worm) को पहिचान तथा क्षतिको अनुगमन खोटाङ तथा ओखलढुंगा

मकैबालीमा लाग्ने अमेरिकन फौजीकिरा

lekh
अमेरिकन फौजीकिराका विभिन्न अवस्थाका लार्भाहरु तथा यसले क्षति पुर्याएको मकैबाली

अमेरिकन फौजीकिरा मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रीचर किरा हो । यस किराको लार्भा अवस्थाले मकैलगायत विभिन्न ८० प्रकारका बालीनालीमा नोक्सानी पुर्याउने गरेको पाइएको छ । मुख्यतयाः मकै मन पराउने यस किराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखु तथा घाँसेबालीहरु र तरकारीबालीमा समेत व्यापक रुपमा क्षति पुर्याउने गर्दछ । उपयुक्त खाना तथा बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक रातमा १०० किलोमिटर टाढासम्म पनि उडेर जान सक्दछ । यो किरा अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुमा पाइने रैथाने किरा हो । एशिया महादेशमा बंगलादेश, श्रीलङ्का, म्यानमार, भियतनाम, थाइल्याण्ड, चीन र ताइवानमा फेला परिसकेको छ । हालको हाम्रो अनुगमनमा ओखलढुगा, खोटाङ र उदयपुर यो किराको प्रकोप देखिएको छ ।

यो किराको क्षतिको लक्षणहरु

यस किराको लार्भा अवस्थाले मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति पुर्याउँछ । भरखरै फूलबाट निस्केका साना लार्भाहरुले पातको तल्लो सतहबाट हरियो भाग खाएर झिल्ली मात्र बाँकी राख्दछ, जसले गर्दा पातमा लाम्चा प्वालहरु देखा पर्दछ । लार्भाको आकारमा बृद्धि हुँदै जाँदा पातमा किराले खाएका प्वालहरु देखा पर्दै जान्छ र पछि पात क्षत–बिक्षत नै पार्ने गर्दछ । लार्भाहरु हुर्कँदै जाँदा गुभोमा बसेर खाने गर्दछ । केही अवस्थामा मकैको घोगामा पनि क्षति गर्दछ ।

aa
अमेरिकन फौजीकिराले मकैबोटहरुमा पुर्याएको क्षति सुरु अवस्था तथा विकसित रुप

किराको पहिचान तथा जीवनचक्र

बयस्क पुतली १.६ से.मी लामो र खरानी मिश्रीत खैरो रङ्गको हुन्छ । भाले पुतलीको अघिल्लो पखेटाको टुप्पोतिर ठूलो सेतो धब्बा हुन्छ भने बीचतिर अण्डाकार हल्का खैरो रङ्गको धब्बा देखिन्छ तर पोथी पुतलीमा यस्ता धब्बाहरु देखिँदैन । पोथी पुतलीले मकैको पातको फेद र डाँठ जोडिएको तल्लो भागको सतहमा झुण्डमा फूल पार्दछ । एक समूहमा १००–२०० फूल हुन्छ र पुतलीको पेटबाट झरेको भुवादार रेसा (झुस) ले फूलको झुण्डलाई ढाकेको हुन्छ । एक पोथी पुतलीले आफ्नो जीवनमा १००० भन्दा बढी फूल पार्दछ ।

 

kira
अमेरिकन फौजीकिराका भाले र पोथी पुतलीहरु

फूलबाट २ देखि ५ दिनमा लार्भा निस्कन्छ र पातको हरियो भाग खान्छन् र बिस्तारै शरीरबाट निस्केको रेशमी धागोको सहायतावाट अरु पात वा बिरुवामा सर्दछ । यस किराको लार्भा सुरुको अवस्थामा हल्का हरियो रङ्गको हुन्छ भने टाउको कालो हुन्छ । हुर्किँदै जाँदा पछिल्लो अवस्थामा लार्भाको शरीर खैरो रङ्गको र टाउको गाढा खैरो रङ्गको हुन्छ । लार्भाको टाउकोमा अंग्रेजी अक्षरको ‘Y’ आकारको सेतो रङ्गको धर्का हुन्छ । लार्भाको अन्तिम खण्डमा ठूला काला रङ्गको चारवटा थोप्लाहरु बर्गाकार रुपमा देखिन्छ र लार्भाको शरीरको माथिल्लो भागमा तीनवटा पहेलो रंगका धर्काहरु टाउको पछाडीदेखि अन्तिम भागसम्म समानान्तर रुपमा रहेको प्रष्ट देखिन्छ ।

putali
अमेरिकन फौजीकिराको (Fall Army worm) बाली क्षति पुर्याउने लार्भाहरु

यसको लार्भा अवस्था ६ वटा चरणमा पूरा हुन्छ र मकै तथा अन्य बालीमा क्षति गर्ने लार्भा अवस्थाको किरानै हो । पाँचौँ र छैटौँ अवस्थाका लार्भा बढी खन्चुवा हुन्छ । लार्भा रातको समयमा बढी सक्रिय हुन्छ र उज्यालो समयमा अध्यारो स्थानतिर (माटोमुनि वा मकैको गुभोमा) लुकेर बसेको हुन्छ । लार्भाले एक अर्कालाई खाने हुनाले केही दिनपछि एक बोटमा १–२ लार्भा मात्र निस्कन्छ । लार्भाको लागि ११–३०० से.मी तापक्रम उपयुक्त हुन्छ । १४ देखि १८ दिनमा लार्भा प्युपा अवस्थामा जान्छ । प्युपा अवस्था २–८ से.मी.भित्र माटोमा ७–८ दिनसम्म बिताउँछ र बयस्क पुतली भइ निस्कन्छ र साधारणतया यसको जीवनचक्र ३० दिनको हुन्छ ।

अमेरिकन फौजीकिराको व्यवस्थापनका उपायहरु

किरा लाग्न नदिन अपनाउन सकिने उपायहरु

  • मकै रोप्ने समयमा परिवर्तन गर्नेः तुलानात्मक रुपमा चाडोगरी रोपेको मकैमा भन्दा ढिलो रोपेको मकैबालीमा यो किराको प्रकोप बढी पाइएको छ । असार महिनाको पहिलो हप्तासम्ममा मकैको बोट घुँडा–घुँडासम्मको भइसकेमा यसको प्रकोप कम हुन्छ ।
  • एउटा क्षेत्रमा सम्भव भएसम्म एकै पटक बिउ छर्नेः यसो गर्नाले बालीचक्रबमोजिम किराले नियमित आश्रय नपाउने भएकोले क्षति कम हुन्छ ।
    सन्तुलित मात्रामा मात्र रसायनिक मलको प्रयोग गर्नेः खासगरी नाईट्रोजनयुक्त रसायनिक मल बढी मात्रामा प्रयोग गर्नाले बिरुवाको वनस्पतिक विकास बढी हुने र किरालाई बिरुवामा क्षति पुर्याउन सजिलो हुने भएकोले सन्तुलित मात्रामा रसायनिक मलको प्रयोग गर्ने ।
  • मिश्रीत खेती पद्धति अपनाउनेः यसो गर्नाले किराको प्राकृतिक शत्रुहरुको संख्या बढ्नुका साथै किराको फैलावटमा बाधा हुन्छ ।
  • पासोबाली (Trap crop): मकैबालीको वरिपरी नेपियर घाँस र बालीको बीच–बीचमा अन्तर बालीको रुपमा डेस्मोडियम घाँस लगाउने । डेस्मोडियम घाँसबाट उत्पादन हुने Volatiles ले किरालाई बिकर्षण गर्दछ । नेपियर घाँसले मिचाहा फौजीकिरालाई आकर्षण गर्दछ र आकर्षित भएका किराहरुलाई विषादी प्रयोग गरी नस्ट गर्ने ।

बालीको नियमित अनुगमन

  • बिरुवा उम्रेपछि घुँडा–घुँडासम्मको नहुन्जेल प्रत्येक हप्ता कम्तीमा एकपटक बालीको नियमित अनुगमन गर्नेः बालीले ढाकेको क्षेत्रमा ‘W’ वा ‘M’ आकारमा कम्तिमा ५ ठाउँमा नमूनाको रुपमा प्रत्येक ठाउँबाट १०–१० वटा बोटमा किराको फैलावटको अवस्था जाँच गर्ने र रेकर्ड राख्ने ।
  • किराको क्षतिको अवस्था हेरि सकेसम्म छिटोभन्दा छिटो व्यवस्थापनका उपायहरु छनौट गर्ने ।

कीराको व्यवस्थापन/नियन्त्रण

भौतिक तथा यान्त्रिक तरिका (Physical & Mechanical Method)

  • खेतबारीको नियमित अवलोकन गरी यस किराका फूल, लार्भा भेटिएमा किचेर वा पानीमा डुबाएर मार्ने ।
  • फनेल ट्रयापमा फल आर्मिवर्म ल्यूर राखेर १ हेक्टर क्षेत्रफलमा १० वटाका दरले मकै उम्रेको ५ दिनपछि मोहीनी पासोको रुपमा प्रयोग गर्ने । यस किसिमको पासोको प्रयोगबाट ठूलो संख्यामा भाले पुतलीहरु आकर्षण गरी नष्ट गर्न सकिन्छ ।

जैविक तरिका (Biological Method)

ट्राइकोग्रामा चिलोनिस वा टेलिनोमस स्पेसिस १ हप्तामा ३ पटक प्रतिहेक्टर १०००० का दरले छोड्ने ।
NPV/Beauveria bassiana/Baccilus thuringiensis जस्ता शुक्ष्म जैविक विषादीहरुको प्रयोग गर्ने ।
बिरुवा उम्रेको १० दिनपछि निमयुक्त विषादी Azadiractine 0.03% EC, ३–५ मिलिलिटर प्रति लिटर पानीमा घोलेर १०-१२ दिनको फरकमा पुनः प्रयोग गर्ने ।

रसायनिक तरिका (Chemical Method)

किराको क्षति देखिनासाथ तल उल्लेखित बिषादीहरु मकैको बोट पूरै (पात, डाठ र गुभो) भिज्ने गरी स्प्रे गर्ने ।
एमामेक्टीन बेन्जोएट ५५ SC ०.५ ग्राम प्रतिलिटर पानीका दरले स्प्रे गर्ने । वा
स्पिनोसाड ४५५ SC १ मिलिलिटर प्रति ३ लिटर पानीका दरले स्प्रे गर्ने । वा
क्लोरान्ट्रानिलिप्रोल १८.५५ SC, १ मिलिलिटर प्रति ३ लिटर पानीका दरले घोलेर बोट पूरै भिज्नेगरी स्प्रे गर्ने ।
किरामा बिष पचाउन सक्ने क्षमताको विकास हुन नदिन एउटा विषादी एक पटक स्प्रे गरेपछि अर्को पटक पुनः स्प्रे गर्नुपर्ने भएमा सम्भव भएसम्म सोही बिषादी स्प्रे नगर्ने (अर्को बिषादी स्प्रे गर्ने) विषादी प्रयोग गर्दा बिहानीपख अथवा साँझपख स्प्रे गर्दा बढी प्रभावकारी हुन्छ ।

रसायनिक बिषादीको प्रयोग गर्दा सुरक्षित उपायहरु (मास्क, चस्मा, पूराबाहुला भएको कपडा र जुत्ता लगाएर) अवलम्वन गरौँ । पर्खनुपर्ने समयको ख्याल गरौँ र जथाभावी बिषादीको दुरुप्रयोग नगरौँ ।

हाम्रो दायित्व

अमेरिकन फौजीकिरा जंगलको डडेलो जसरीनै फैलँदै गएको छ । हामीले अनुगमन गरेका ३ वटै जिल्लाहरुका धेरै मकैबालीमा यो किराको लार्भाहरु र बयस्क पुतलीहरु भेटिएका छन् । यसले मकै बालीमा पुर्याएको क्षति पनि धेरै छ । यो किरा यसरीनै फैलँदै जाने हो भने भोलिका दिनहरुमा मकैखेती त्यति सहज हुने छैन र अन्य बालीहरुमा पनि यसको असरहरु बढ्दै जान सक्छ । त्यसैले हामीहरु बेलैमा सचेत हुन जरुरी छ । प्रदेश १ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बाली विकास निर्देशनालय र बाली संरक्षण प्रयोगशालाको संयुक्त पहलमा अनुगमन गरिएका जिल्लाहरुमा किराको पहिचान गर्ने र त्यसको व्यवस्थापनको उपायहरुबारे स्थलगतरुपमा जानकारी गराइएको छ ।

उक्त जिल्लाहरुमा रहेका कृषि ज्ञान केन्द्रहरुले आफ्ना प्रभावित क्षेत्रहरुमा उनीहरुको क्षमता अनुसारको सक्रियता बढाएका छन् । तर, कृषि ज्ञान केन्द्रहरुको एकल सक्रियता मात्र यो किराहरुको फैलावट तथा क्षति रोक्न पर्याप्त छैन । यसको लागि कृषि विकासमा चासो राख्ने सबै सरोकारवालाहरु एकजुट भएर अभियानको रुपमा अगाडी बढन जरुरी छ । काठमाडौँका तारेहोटलहरुमा गोष्ठिहरु हुँदा हूलका हूल प्राविधिकहरु पुग्ने र छलफलमा सरिक हुने तर किसानका खेतबारीमा चाँही कमैमात्र पुग्ने हो भने यो किराको प्रकोप भोलिका दिनहरुमा भयावह हुन सक्छ । त्यसैले बेलैमा चेतौँ र गोष्ठीहरुलाई सीमित गर्दै गोष्ठि र तालिमहरुमा सिकेका कुराहरु किसानहरुका खेतबारीसम्म पुर्याउँ । भोलिका दिनहरुमा देशैभरि समस्या निमत्याउन सक्ने यो किराको व्यवस्थापनमा सबै जुटौँ ।

aa

ओखलढुंगामा किसानहरुलाई फौजीकिरा नियन्त्रणको लागि बिषादी तथा स्प्रेयर वितरण गरिँदै

Loading...