fbpx

ला लिगा : आज हुँदैछन् यी चार खेल, बार्सिलोना र एथ्लेटिको पनि प्रतिस्पर्धामा

विराटनगर, ८ भदौ । स्पेनिस ला लिगामा आज दोस्रो साताका अन्तिम चार खेल हुँदैछन् । आज ८ टोलीले प्रतिस्पर्धा गरेपछि केही दिनको विश्राम हुनेछ र तेस्रो साताका खेलहरू सुचारु हुनेछन् ।

आज साबिकको विजेता बार्सिलोना र उपविजेता एथ्लेटिको मड्रिड पनि प्रतिस्पर्धामा छन् । अघिल्लो सिजनको शीर्ष टोली बार्सिलोनाले रियल बेटिससँग खेल्नेछ भने एथ्लेटिकोले लेगानेससँग खेल्नेछ । आजको पहिलो खेलमा आठौं स्थानको अलाभेस र २०औं स्थानको इस्पान्योलले खेल्नेछन् । यो खेल अलाभेसको मैदानमा राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

यस्तै आजको दोस्रो खेलमा छैटौं स्थानको रियल मल्लोर्का र ११ औं स्थानको रियल सोसिडाडले खेल्नेछन् । यो खेल पनि राति ८ः४५ बजे नै हुनेछ । मल्लोर्का र सोसिडाडबीचको खेल मल्लोर्काको घरेलु मैदानमा हुनेछ ।

यता, साबिकको उपविजेता एथ्लेटिकोले लेगानेससँग उसैको मैदानमा खेल्नेछ । यो खेल भने राति १०ः४५ बजे सुरु हुनेछ । जारी लिगमा एथ्लेटिको सातौं स्थानमा छ भने लेगानेस पुछारमा छ । यस्तै आजको अन्तिम खेलमा साबिकको विजेता बार्सिलोनाले रियल बेटिससँग खेल्नेछ । यो खेल भने नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

यो खेल बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा हुनेछ । जारी लिगमा लेगानेस १७औं स्थानमा छ भने बार्सिलोना १८औं स्थानमा छ ।

Loading...