fbpx

पत्रपत्रिकामा प्रदेश : रथयात्रमा लाखौँ सहभागी

विराटनगर, भदौ ८ । विराटनगरबाट प्रकाशित पत्रिकाहरुमा विराटनगरमा हिजो आयोजना भएको ५२ औँ राधाकृष्ण रथयात्राको समाचार प्रमुखताको साथ छापिएको छ । नागरिक पूर्वेलीमा रथयात्रामा लाखौँ सहभागी शिर्षकमा मुख्य खबर छ , यस्तै उद्घोष दैनिकले भव्य भयो रथयात्र शिर्षक दिएर मुख्य खबर छापेको छ । तर न्यू सृष्टि दैनिकले रथयात्रामा विगत भन्दा सहभागिता कम शिर्षकमा खबर छापेको छ ।

दक्षिण एसियाकै दोश्रो ठुलो दाबी गरिएको रथयात्रा कृष्ण जन्मअष्टमीको भोलीपल्ट शनिबार दिउँसो ४ बजेदेखि सुरु भएको थियो । झाँकी भने तीनबजे देखि नै निकालिएका थिए । रथको डोरी तान्न प्रदेश १ र प्रदेश २ तथा सीमावर्ती भारतीय क्षेत्रका भक्तजनको पनि उल्लेख सहभागिता थियो ।

नयाँ पत्रिका दैनिकमा ओखलढुंगाका स्थानीय तहले खाना र खाजामै ८० लाख रुपैयाँ खर्च गरेको समाचार छापेको छ । आर्थिक वर्ष २०७४ ७५ मा ६ वटा स्थानीय तहले खाना तथा खाजामा ८० लाख रुपैयाँ खर्च गरेका हुन् । मापदण्ड नबनाइ मनपरी ढंगले खाना र खाजामा खर्च गरेको महालेखा परिक्षकको कार्यालयलको प्रतिवेदनले देखाएको छ । मानेभञ्ज्याङ गाँउपालिकाले सबै भन्दा बढी २० लाख १४ हजार ८७ रुपैयाँ खाना र खाजामा खर्च गरेको छ । यस्तै खाना र खाजामा भएको खर्च विवरण सार्वजनिक भएपछि सरोकारवालाहरुले स्थानीय निकायमा बेतिथिर अनियमितताले सीमा नाघेको भन्दै फजुल खर्च नियन्त्रण गर्न माग गरेका छन् ।

यस्तै उद्घोष दैनिकमा मुख्यपृष्ठमा लागुऔषधविरुद्ध म अघि बढ्छु अभियान शिर्षकमा खबर छ । लागु औष नियन्त्रण तथा रोकथाम गर्न प्रदेश १ सरकारले म अघि बढ्छु अभियान सञ्चालन गरको छ । सगरमाथा टिन्स् क्लबमार्फत सुरु गरिएको अभियानमा प्रदेशभरीका २ हजार विद्यालयमा कार्यक्रम गरि २ लाख विद्यार्थीलाई यस विषयमा सचेत गराइने छ । प्रदेश १ मा करिब २० हजार युवायुवती लागु औषधको प्रयोगकर्ता रहेका छन् । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चालन भएको यो अभियानले लक्षित वर्ग ( विद्यार्थी)हरुलाई लागुऔषधका असर र प्रभावका विषयमा सचेत गराउने लक्ष्य छ ।

जिल्ला कारागार झापामा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी रहेको समाचार नागरिक पूर्वेलीमा छ । चारसय कैदीबन्दी क्षमता भएको कारागारमा अहिले १ हजार १ सय ३६ कैदीबन्दी रहेका छन् । कारागारमा ३५० पुरुष र ५० महिला कैदीबन्दी राख्ने क्षमता छ । हाल कारागारमा १ हजार ४६ जना पुरुष र ९० महिला तथा ५ आश्रित बालबालिका छन् । क्षमता भन्दा तेब्बर कैदी बन्दी भएपछि कारागारमा खानेपानी, आवास, विद्युत, स्वास्थ्य उपचार लगायतमा समस्या भएको कारागार प्रमुख राजेन्द्र निरौलाले बताए ।

Loading...