fbpx

प्रदेश राजधानीको मुख्य सडकमा डिभाइडरको पासो ! (भिडियोसहित)

रंगेली, ७ भदौ । सडक सुरक्षाको लागि कोशी राजमार्गको बरगाछीदेखि ढाँटसम्म राखिएका डिभाइडर सडक दुर्घटनाको कारण बनेको छ । कोशी राजमार्ग ६ लेन सडकमा सुरक्षाका लागि डिभाइडर राखेर जथाभावी रूपमा राखिएका क्रसिङ दुर्घटनाको कारण बनेको हो ।

बरगाछीदेखि ढाटसम्मको दुरी करिब चार किलोमिटर छ । अन्तराष्ट्रिय मान्यता अनुसार एक किलोमिटरकाे अन्तरमा रोड क्रसिङ राख्नुपर्छ । तर विराटनगरको बरगाछीदेखि  ढाटसम्मकाे क्षेत्रमा ३३  स्थानमा बाटाे काट्नकालागि क्रसिङ राखिएको छ । जथाभावी क्रसिङ राखिएका कारण दुर्घटनाको जोखिम उच्च छ ।

पहुँचका आधारमा भित्रि सडक बाहेक व्यक्तिका घर अगाडी पनि क्रसिङ राखिएको छ । विराटनगर बरगाछीदेखि ढाँटसम्म ५० मिटर भन्दा कम दुरीमा क्रसिङ राखिएको ट्राफिक प्रहरी बताउँछन् ।

बरगाछीदेखि  ढाटसम्म चार किलोमिटरको दुरीमा ३३ स्थानमा क्रसिङ राखिएका कारण दुर्घटनाकाे जाेखिम बढेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेल बताउँछन् । क्रसिङमा मोटरसाइकल, सिटी सफारी,  आटोलगायत सवारी साधनले दायाँबाया नहेरी मोड्दा दुर्घटना जोखिम बढेको पोखरेलकाे दाबि छ । क्रसिङका कारण दैनिकजसाे सवारी दुर्घटना हुने गरेको उनको भनाई छ ।

रातको समयमा कोशी राजमार्गको डिभाइडर झन जाेखिमपूर्ण छ । साना डिभाइडरमा कतै पनि रिफ्लेक्टर नभएका कारण राति सवारी चलाउँदा डिभाइड भए नभएको भेउ पाउनै मुस्किल पर्छ । डिभाइडर इन्जिनियरीङ हिसाबले पनि त्रुटीपूर्ण रहेका कारण बेला बेला समस्या आउने पोखरेल बताउँछन् ।

प्रदेश १ को राजधानी बने सँगै विराटनगरमा सवारी आवागमनको संख्या पनि बढेको छ । प्रदेश १ सरकारले सडक सुरक्षाका कार्यक्रम भन्दै चर्को प्रचार गरिरहेको छ । तर प्रदेश राजधानीमा न्यूनतम सडक सुरक्षा लागु नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।

Loading...