fbpx

जिदानले भने– ‘म नाभासबिनाको रियल मड्रिड कल्पना पनि गर्न सक्दिँन’

एजेन्सी, ७ भदौ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना गोलरक्षक केयलर नाभास क्लबमै बस्नेमा आफू ढुक्क रहेको बताएका छन् । ला लिगाअन्तर्गतको दोस्रो खेलअगाडि बोल्दै प्रशिक्षक जिदानले रियल छोड्ने चर्चामा रहेका नाभास क्लबमै रहनेमा आफू विश्वस्त भएको बताएका हुन् ।

रियल मड्रिडले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सुरु हुने यस खेलमा रियलले भाल्लाडोलिडसँग खेल्न लागेको हो । यो खेल रियलकै घरेलु मैदानमा हुनेछ । यस खेलमा रियल मड्रिड दोस्रो जितको खोजीमा रहेको छ ।

रियल र भाल्लाडोलिडको खेलको पूर्वसन्ध्यामा जिदानले खेलका साथसाथै खेलाडी स्थानान्तरणको विषयमा पनि बोलेका थिए । जसमा, उनले आफ्ना गोलरक्षक नाभासको सरुवाको विषयमा कुरा गरे । नाभास केही अगाडिदेखि क्लब छोड्ने विषयमा चर्चामा छन् । ला लिगाको पहिलो खेलमा बेन्चमा बसेपछि उनले क्लब छोड्ने बताएका थिए । उनले सेल्टा भिगोविरुद्धको खेलमा बेन्चमै बिताएका थिए ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने चर्चामा रहेका नाभासको विषयमा बोल्दै जिदानले नाभासबिनाको टोली आफू कल्पनासमेत गर्न नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘म उनीबिनाको टोली कल्पनासमेत गर्न सक्दिँन । उनी एक महत्त्वपूर्ण खेलाडी हुन् । उनी सधैं रियलमा थिए र सधैं यहाँ हुनेछन् ।’

जिदानले भनेका छन्, ‘मैले नाभासको सरुवाको विषयमा सोचेको छैन । उनले मलाई छोड्न चाहेको कुरा बताएका छैनन् । उनी यहाँ छन् र उनी खेल्न चाहन्छन् । उनी हाम्रा लागि धेरै नै महत्त्वपूर्ण खेलाडी हुन् । हामीसँग धेरै खेल छन्, जसका लागि म उनलाई गन्छु र गन्नेछु । म केयलरले हामीसँगै रहेर यहाँबाट नियमित खेलुन् भन्ने चाहान्छु ।’

कोस्टा रिकाका स्टार नाभासले केही दिनअघि आफू क्लब छोड्ने प्रस्ताव रियलसमक्ष राखेको बताइएको छ । खबरका अनुसार नाभास क्लबमा आफ्नो दोस्रो भूमिकादेखि खुशी छैनन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले थिबाओ कोर्टुआ पहिलो रोजाइका गोलरक्षक भएको बताउँदै आएका छन् । आफू दोस्रो रोजाइको गोलरक्षकको भूमिका निभाउनु पर्दा दुखित भएका नाभासले क्लब छोड्ने मनसाय बनाएको बताइएको छ ।

पहिलो रोजाइका गोल रक्षक थिबाओ कोर्टुआ घाइतेपछि पहिलो गोलरक्षकको भूमिका निभाइरहेका छन् । आजको खेलमा पनि रियलले नाभासलाई टोलीमा राखेको छ ।

Loading...