fbpx

कृषिको रुपान्तरणका लागि सहकार्य

writter
डा. राजेन्द्र उप्रेती

हामीले कृषिको परिवर्तनको सपना देख्न थालेको धेरै वर्षहरु बितिसके । केही परिवर्तनहरु नभएका पनि होइनन् । कृषिमा धेरै चिजहरु बदलिसके तर कृषिलाई नै आफनो जीविकोपार्जनको मुख्य बाटो बनाउनेहरुको जीवनमा खासै परिवर्तन ल्याउन सकिएन । परिणामत कृषि पेशा झन्–झन् अपहेलित हुँदै गयो परिणामत कृषि पेशाबाट पलायन हुनेहरु बढ्दै गइरहेका छन् । हामीहरु कानून बनाएर समाधान खोज्न प्रयास गरिरहेका छौँ । तर, मानिसहरुको परिचालनबिना र उनीहरुको जीविकोपार्जनलाई सहज बनाउने उपाएको रुपमा हाम्रो कृषिलाई नजोडेसम्म हाम्रा सपनाहरु बिपना हुने छैनन् । त्यसैले बिगतका हाम्रा कामहरुबाट पाठ सिक्दै चालु आर्थिक वर्षलाई सबैको सहकार्य र प्रदेश १ को कृषि रुपान्तरणको सुरुवात वर्ष बनाऔं ।

रुपान्तरणको सुरुवात परिवर्तनको सन्देशबाट

मानव श्रोतको सदुपयोग र परिचालन कुनैपनि परिवर्तनको लागि प्रस्थान बिन्दू हो । हाम्रा युवा पुस्ताहरु दिनदिनै हाम्रो कृषि र कृषिमा आधारित जीवनशैलीबाट टाडा हुँदैछन् । कृषि भनेको शारीरिक श्रम मात्र गर्ने तर जीविको पार्जनको लागि खासै केही प्राप्त नहुने पेशाको रुपमा बुझन थालिएको छ । त्योमाथि बिगत केही वर्षहरु देखि मौलाइरहेको खेती नटेकी सरकारी अनुदान प्राप्त गर्नका लागि गरिने झोले खेतीले युवाहरुमा अलिअलि जाग्न थालेको उत्साहमा पनि तुसारापात हुन थालेको छ । त्यसैले हाम्रो रुपान्तरणको प्रस्थान बिन्दू किसानहरु तथा युवाहरुको मानसिक अवस्थामा परिवर्तनबाटै थालिनुपर्छ । यसको लागि प्रदेशभरिका स्कुल कलेजहरु र कृषक समूहहरुमा एक महिने चेतनामूलक अभियानको सञ्चालन गरौँ । यसको लागि दशैँअगाडीको समय वा असोज महिना उपयुक्त हुन सक्छ । हामीले यो अभियानबाट गाउँगाउँमा घरघरमा विद्यार्थीहरुमार्फत हाम्रा सन्देशहरु लैजान सक्छौँ ।

हाम्रा माझ भएका अवसरहरुको खोजी गरौँ

मैले देखेको संसारमा नेपाल जति धेरै सम्भावनाले भरिएको देशहरु कमै छन् । उपयुक्त कृषि प्रविधिहरुको प्रयोग गरेर विविध कृषि वस्तुहरुको उत्पादन गर्ने अन्तरिक बजारको माग आपूर्ति गर्नुका साथै हाम्रा आफ्नै मौलिकता बोकेका उत्पादनहरु गुणस्तरीय रुपमा ठूलो मात्रामा उत्पादन गरेर विदेशी बजारमा पनि लैजान सकिन्छ । पर्यटन र सेवामूलक व्यवसायहरु जताततै गर्न सकिन्छ । तर, त्यसका लागि केही बनाउनु पर्छ, केही हामी आफैँ बनिनु पर्छ ।

एउटै उपायले सबैतिर काम गर्दैन त्यसैले ठाउँ अनुसारका उपायहरुको खेजी गरिनुपर्छ । चेतना फैलाउन हामी गाउँगाउँ पुग्दा यस्ता अवसरहरुको सामूहिक रूपमा खोजी गरौँ । अनि चेतनालाई अवसरहरुसँग जोडौँ । तराइ र पहाडहरूको भौगोलिक विविधताले गर्दा श्रृजित बेग्लाबेग्लै वस्तुहरुको उत्पादन गर्ने र आ–आफना जीविकोपार्जनलाई सहज बनाउने विशिष्ठताहरूको उपयोग पनि अवसरहरूको खोजीको क्रममा गर्न सकिन्छ ।

सीप विकास र कार्यान्वयनको चरण

अवसरहरुको पहिचान गरेपछि त्यसपछिको काम भनेको ति अवसरहरुको सदुपयोग गर्ने चरण हो जसका लागि हामीहरुले किसान तथा कृषि उद्यमीहरुलाई छनौट भएको अवसरको उपयोगको लागि चाहिने ज्ञान र सीप उपलब्ध गराउन सक्नु पर्छ । त्यसरीनै उक्त कार्यको लागि चाहिने आवश्यक सामाग्रीहरुको सहज उपलब्धताको सुनिश्चितता गरिदिनुपर्छ । नेपालको हालको अवस्थाको कुरा गर्दा केही नीतिगत सुधारहरु र केही व्यवस्थापनमा सुधारहरु गरिनुपर्छ । वर्तमान अवस्थामा धेरै कृषि औजार र कृषि सामाग्रीहरुको आयात सहज छैन ।

नेपालमा उत्पादन नहुने तथा कृषि उत्पादनबाहेक अन्त प्रयोग नहुने विभिन्न कृषि औजारहरु र सामाग्रीहरुको आयात नेपाली कृषकहरुको लागि धेरै झन्झटिलो र कतिपय अवस्थामा भारतीय किसानहरुले प्राप्त गरिरहेको मूल्यभन्दा निकै धेरै मूल्य नेपाली किसानहरुले तिर्नु परिरहेको छ । यी अफ्ठ्याराहरुले गर्दा नेपाली कृषि उत्पादनहरु भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । यस्ता कुराहरु हाल भइरहेका नीतिहरुमा सुधार गरेर सहज बनाउन सकिन्छ । रसायनीक मलहरुको आपूर्तिले ल्याउने समस्या हरेक वर्ष नेपाली किसानहरुले भोग्दै आएको समस्या हो । जुन, भित्रैदखि चाहना हुँदा सहजै समाधान गर्न सकिने समस्या हो ।

किसानहरुलाई आवश्यक ज्ञान सीप उपलब्ध गराउनको लागि सरकारी गैरसरकारी निजी सेवाप्रदायक संस्थाहरुले सहकार्य गर्न सक्छन् । यसको लागि सरकारी निकायहरुले अग्रसरता लिन जरुरी छ । एउटै उद्देश्य बोकी हिँड्ने सरकारी, गैरसरकारी, निजी सेवाप्रदायक संस्थाहरु एक्ला–एकलै हिँड्दा हामीले इच्छाएको उपलब्धीहरु हासिल भइरहेका छैनन् र फेरि पनि हुने छैनन् । त्यसैले रुपान्तरणको उद्देश्यहरु हासिल गर्नका लागि हामी सबैले एक–अर्कासँग सहकार्यको हात बढाउन जरुरी छ । यो कामको सुरुवात भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेशका निर्देशनालयहरु, जिल्लामा रहेका कार्यालयहरु सबैले गर्न सक्छन् ।

सरकारी निकायहरुले ठालु पल्टिएर एक्लै बस्ने होइन अब अन्य साझेदारहरुसँगको सहकार्यको अग्रसरता लिनुपर्छ । यसको सुरुवात भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, विराटनगरले थालेको छ । हामी एक्ला–एकलैले गरेका प्रयासहरुले हाम्रा उद्देश्यहरु भेटाउन सकेनन् त्यसैले अब हामी साझा उद्देश्यहरुका लागि सँगै हिँड्न जरुरी छ ।

सहकार्यको प्रस्थान वर्ष

हामीले अलग–अलग भएर लामो समय ब्यतित गर्यौँ । हाम्रा सारा प्रयासहरु रुपान्तरण लक्षित हुँदाहुदै पनि हामीले इच्छाइएका उपलब्धीहरु प्राप्त हुन सकेनन् । हामीले एक–अर्कालाई दोष थोपरेर पानी माथिका ओभाना पनि भयौँ होला तर त्यसले हाम्रा कमीकमजोरीहरु छोपिएनन् बरु झन्–झन् छरपस्ट हुँदै गए । हाम्रा सहकारीहरु, लघुवित्त कम्पनीहरुसँग करोडौँ, अर्बौँ पूँजि छ, उनीहरु हजारौँ कृषक परिवारहरुसँग जेडिएका छन् तर आयआर्जनका लागि के–के अवसरहरु छन् भन्नेबारेमा कमै जानकार छन् । हालको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र यस अन्तर्गतका निकायहरुसँग प्राविधिकहरु छन् तर किसान परिवारहरुसम्म पुग्ने प्रयाप्त संयन्त्र र जनशक्ति छैन । अन्य निजीक्षेत्रका सेवा प्रदायकहरु बहुसंख्यक किसानहरु ठोकिन आइपुग्ने ठाउँहरु हुन तर उनीहरु किसानहरुका समस्याहरु समाधान गर्न सक्षम छैनन् । उनिहरुसँग पर्याप्त ज्ञान र सीपको कमी छ ।

यो अवस्थाको एउटा राम्रो समाधान भनेको हाम्रा किसानहरु र हाम्रो कृषिको रुपान्तरणको लागि हामी सबैको सहकार्य नै हो । सरकारी निकायहरुले कृषि सहकारी, लघुवित्त कम्पनीहरु, गैरसरकारी संस्थाहरु र निजी सेवा प्रदायकहरुसंग मिलेर उनीहरुले कार्य गरिरहेका क्षेत्रहरुमा सम्भावनाको खोजी गर्न सक्छन् । आफूसँग सहकार्य गर्ने संस्थाहरुको प्राविधिक क्षमता विकासमा सघाउन सक्छन् । त्यसरी नै सरकारी निकायहरुसँग सहकार्य गर्न अग्रसरता लिने गैरसरकारी क्षेत्रका संस्थाहरुले आफूसँग संगठित समुदायहरुलाई सरकारले उपलब्ध गराइरहेका अनुदानहरु र अवसरहरुसँग जोड्न र आफूसँग भएको आर्थिक तथा मानवीय श्रोत परिचालन गरी सम्भावनाका नयाँ–नयाँ ढोकाहरु खोल्न सक्छन् । यो सहकार्यले हामीसँग रहेको श्रोत–साधनको अधिकतम सदुपयोग हुन गइ हामीले चाहेको रुपान्तरण सहज हुन सक्छ । त्यसैले हाम्रोसामु रहेको यो अवसर र सम्भावनाको सबै मिलेर सदुपयोग गरौँ । हाम्रो प्रदेश राम्रो प्रदेश बनाउन सबै जुटौँ ।

(लेखक ‘भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुख हुन् ।)

Loading...