fbpx

प्रधानमन्त्रीको स्वास्थ्यबारे जनताले जानकारी पाउनुपर्छ : अध्यक्ष डा. श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको बताएका छन् । उनले डाक्टरहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो नभएको बताए । प्रधानमन्त्रीको एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएको उनको भनाई छ । प्रधानमन्त्री ओलीको सिंगापुर बसाई ७ देखि १० दिनसम्म हुने उनले जानकारी दिए । प्रधानमन्त्री ओलीको साथमा उनको निजी चिकित्सक डा. दिव्या सिंह सँगै गएकी छिन् ।

साक्षात्कारमा बोल्दै डा. शर्माले सिंगापुरमा रहँदा नेशनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले प्रधानमन्त्रीको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्नेका आवश्यक उपचार समेत गरिने जनाए । सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उच्चतम प्रविधि र यन्त्र भएकोले प्रधानमन्त्री उपचारको लागि त्यसतर्फ गएको उनको भनाई छ ।

कार्यक्रममा डा. शर्माले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जारी गरिएको प्रेस वक्तव्यपनि वाचन गरेका थिए ।
सिंगापुरमा विज्ञ चिकित्सक टोलीहरुले मृगौलाको थप परीक्षण र उपचारको क्रममा देखिने विभिन्न प्रकारका प्रभावहरुको सूक्ष्म अध्ययन तथा मृगौलाको क्षमता अभिवृद्धिका लागि समेत उपचार गरिने वक्तव्यमा उल्लेख छ ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति र उपचारका क्रमहरु आफुहरुले नेपाली जनतालाई अवगत गराईरहनेपनि विश्वास दिलाए । बरिष्ठ मृगौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाईन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए । एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाई छ ।

डा. काफ्लेले मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकरात्मक टिप्पणी गर्न नहुने आशय व्यक्त गरे ।
डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरानाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधीले पनि काम नगर्ने जनाए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरे । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नेपाली जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । उनले भने,‘नेपाली जनताले देशको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउनुपर्छ ।’ श्रेष्ठले नेपाली नेताहरु विदेश उपचार गर्न जाने पद्धतीको भने विरोध गरे ।

Loading...