fbpx

बलात्कार आरोपी कारागार चलान, मिलापत्र गराउने धरौटीमा छुटे

मोरङ, ५ भदौ । अशक्त किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका दुईजनालाई पूर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । १६ वर्षीया अशक्त किशोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका मोरङ रंगेली नगरपालिका–९ का २५ वर्षीय प्रिन्स अधिकारी र २८ वर्षीय रोमन मगरलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको हो । सामूहिक बलात्कार घटनामा संलग्न अर्का सुनीलकुमार चौधरी फरार छन् ।

अदालतले किशोरी बलात्कार प्रकरणको मुद्दा गाउँमै मिलापत्र गराएको आरोपमा पक्राउ परेका सात जनालाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीलाई बलत्कार गरेको घटनामा पीडित पक्षलाई दबाब दिएर मिलापत्र गराउने १० मध्ये प्रहरी नियन्त्रणमा रहेका सात जना अगुवालाई अदालतले धरोटीमा छाड्ने आदेश दिएको हो ।

गत असार २० गते राति भएको बलात्कारको घटनालाई मिलापत्र गराएर लेनदेनमा अपराध टुंग्याउन खोज्ने गाउँका १० जना अगुवामध्ये सात जना पक्राउ परेका थिए । इलका प्रहरी कार्यालय रंगेलीले सामूहिक बलात्कारको घटनामा संलग्न तीन र मिलापत्र गराउने दश जनासहित १३ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो ।

मिलापत्र गराउने रंगेलीका ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार छन् । अदालतले ६४ वर्षीय रामबहादुर राजवंशी, सोही ठाउँका ३३ वर्षीय दीलिप मुर्मु सतार, ७२ वर्षीय निमलाल राजवंशी, ३८ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाईँ, ४२ वर्षीय सुवासचन्द्र राजवंशी र ६० वर्षीय शेखर गौतमले जनही ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

Loading...