fbpx

मीरगञ्ज पुलमा ४० टन भारबहन क्षमताको सीमा, उद्योगी व्यापारीलाई अझै सास्ती

चाँडो नयाँ पुल निर्माण गर्न माग

विराटनगर, ५ भदौ । विराटनगर भन्सारबाट मालवस्तु आयात–निर्यात गर्ने मुख्य स्थलमार्ग भारत, बिहारको फारवीसगञ्ज–जोगबनी सडकअन्तर्गत पर्नेे मीरगञ्जस्थित परमान नदीको फलामे पुल अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । २०७४ साउनमा आएको बाढीले भत्काएर क्षति पुर्याएको परमान नदीको उक्त फलामे पुल दुई महिनाको मर्मतपछि २३ असोज २०७४ बाट सञ्चालनमा आएपनि अझै पूर्ण क्षमतामा सञ्चालन भएको छैन ।

लामो समय बितिसक्दा पनि पुल पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा र अर्को पुल नबनाउँदा नेपाली उद्योगी व्यापारीहरुले आयात–निर्यातमा पाउने सास्ती अझै कायमै छ । भारबहन क्षमताको सीमाले गर्दा उद्योगी व्यापारीहरुले ठूला कन्टेनरमा ढुवानी गर्न पाइरहेका छैनन् । जसले गर्दा ढुवानी खर्चिलो र झन्झटिलो भइरहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

२२ असोज २०७४ मा दुई वटा हेभी सवारी साधन आवत–जावत गराएर भारतले पुल सञ्चालनमा ल्याएपनि केही महिनापछि नै पुल कुनैपनि बेला भत्कन सक्ने भन्दै २० टन मात्र भारबहन सीमा तोकेको थियो । तर, पुललाई थप मर्मत गरेर फलामे बिम लगाएपछि ४० टनसम्मको भारबहन क्षमता तोकेको हो ।

news

विराटनगर भन्सार कार्यालयका अनुसार विराटनगर जोगबनी भन्सार मार्ग भएर आयात–निर्यात हुने सबै हेभी सवारी साधन यहीँ पुल भएर दैनिक पाँच सयभन्दा बढी मालबाहक सवारी साधन आवत–जावत गर्ने गर्दछन् । दुई वर्षअघि बाढीले पुल क्षतिग्रस्त भएर आवागमन बन्द भएपछि उद्योगी व्यापारीहरुले प्रतिसवारी थप ५० हजार रुपैयाँ आर्थिक क्षति भोग्दै वीरपुर भण्टाबारी रिरुट नाका प्रयोग गर्नुपरेको बाध्यता थियो । तर, पुल पुनर्मर्मत गरेर ४० टन क्षमता भारबहनमा सञ्चालन हुन थालेपछि ७० किलोमिटर टाढाको वीरपुर भण्टाबारी नाकाबाट रिरुट कम भएपनि मार्वल, टायल र फलामलगायतका वस्तुहरु रिरुट गर्नुपर्ने बाध्यता अझै हटेको छैन । उद्योगी व्यापारीहरुले भारतले भारबहन क्षमता ४० टन लागू गर्नुपर्ने बाध्यता नभएको बताउँछन् ।

बाढीले क्षतिग्रस्त बनाएको उक्त पुल मर्मत गरेर सञ्चालन गराउन भारतीय ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योगी वाणिज्य महासंघ एक नम्बर समितिले निरन्तर दवाव बढाएका थिए ।

डाइभर्सन र बेलिब्रिजको सम्भावना छैन : भारत

नेपाली उद्योगी व्यापारी र प्रशासनको पटक–पटकको आग्रहपछि केही समय पुललाई थप पुनर्मर्मत गरेर पूर्ण क्षमतामा सवारी साधन आवत–जावत गराएपनि भारतको यातायात विभागले पुलमा ४० टनभन्दा बढी क्षमताको भारवहन आवत–जावत गर्न पूर्ण रोक लगाएको छ । अगस्त २०१९ मा भारत बिहार राज्यको अररिया जिल्लास्थित समाहरण कार्यालयले भारतको जोगबनी कस्टम र नेपालको विराटनगर भन्सारलाई पत्राचार गर्दै ४० टन भन्दा बढीको भारबहन क्षमता भएका मालबाहक सवारीहरु रिरुट गराउन आग्रह गरेको छ । समाहरण कार्यालयको पत्रअनुसार मीरगञ्ज पुल आसपास बेलिब्रिज हलुका सवारीका लागि मात्रै हुने भएकोले बनाउँदा कुनै फाइदा नहुने डाइभर्सनको अवस्था पनि नभएकोले रिरुटको कुनै विकल्प नभएको बताएको छ । विराटनगर भन्सार प्रमुख मिमांश अधिकारीले ४० टनभन्दा बढी क्षमताको मालबाहक सवारी नपठाउन भारतले पत्राचार गरेको बताए ।

अर्को पुल बनाउन ढिलाइ गरेको गुनासो

भारतले चाहेमा चाँडै डीपीआर गरेर अर्को पुल बनाउन सक्ने भएपनि चासो नदिएको गुनासो उद्योगी व्यापारीहरुको छ । बाढीले दुई ईन्च जति चर्काएको करिब ३ सय मिटर लामो उक्त फलामे पुल बिहार प्रशासनले चाहेमा तत्काल मर्मत गराएर वा बेलिब्रिज निर्माण गराएर वा डाइर्भसन सञ्चालन गरेर एक वर्षभित्रै नयाँ पुल निर्माण गर्न सक्ने भएपनि त्यसो गर्न नचाहेको उद्योगी व्यापारीहरुको बताउँछन् । बेलिब्रिज र डाइभर्सनको विकल्प नभएको भनेपनि भारतले अर्को पुल बनाउनका लागि अझैसम्म कुनै सुरसार गरेको छैन ।

विराटनगर भन्सार राजस्व थप प्रभावित हुने

२०७४ साउनमा मीरगन्जको पुलमा बाढीले क्षति पुर्याएपछि मालबाहक सवारी साधन आवत–जावत गर्न नसक्दा विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा प्रत्यक्ष प्रभाव परेको थियो । अझै पनि पूर्ण क्षमतामा सञ्चालनमा नआएकोले रिरुटको झन्झट बेहोर्नुभन्दा उद्योगी व्यापाारीहरुले अर्कै नाका प्रयोग गर्न थालेका छन् । आजकल विराटनगर भन्सार मार्ग भएर आउने प्रायः मालवस्तु काँकडभिट्टा र वीरगन्ज नाका भएर भित्रिने छन् । विराटनगर भन्सारका प्रमुख मिमांश अधिकारीले ४० टन भारबहन क्षमता तोकेपछि भन्सारको राजस्वमा खासै असर नपरेको तर वैकल्पिक व्यवस्था नहुँदा पुनः पुलमा क्षति पुग्ने र राजस्व असुली प्रभावित हुने जोखिम भने कायमै भएको बताए । उनका अनुसार भारबहन क्षमता ४० टन तोकेपछि उद्योगी व्यापारीहले कलकत्ताबाटै अड्केर सामानहरु लोड गर्ने गरेका छन् ।

Loading...