fbpx

बार्सिलोनाका पूर्वखेलाडीले भने, ‘नेयमारले मेस्सीभन्दा पनि रोनाल्डोको साथमा खेल्दा उचित हुन्छ’

एजेन्सी, ५ भदौ ।
बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले युभेन्टस नेयमारको उचित गन्तब्य भएको बताएका छन् । सन् १९९७ देखि २००२ सम्म बार्सिलोनाबाट खेलेका रिभाल्डोले बेटफेयरसँग कुरा गर्दै नेयमारले रोनाल्डोको साथमा खेल्दा उचित हुने बताएका हुन् ।

पछिल्लो समय ब्राजिलका स्टार नेयमार भित्र्याउने दौडमा स्पेनिस क्लबद्वय बार्सिलोना र रियल मड्रिडसँगै इटालियन च्याम्पियन क्लब युभेन्टस पनि लागिपरेको बताइएको छ । सन् २०१७ मा कीर्तिमानी रकममा बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका उनी बार्सिलोना र रियल नभइ युभेन्टस गएमा उचित हुने ब्राजिलियन लिजेन्ड रिभाल्डोको भनाइ छ ।

उनले युभेन्टसलाई अर्को एउटा स्टारको खाँचो रहेको बताउँदै भनेका छन्, ‘युभेन्टसलाई सिरी ‘ए’ मा अझ बलियो बन्न र च्याम्पियन्स लिग जित्नका लागि अर्को एउटा स्टार खेलाडीको खाँचो छ । र, यसका लागि नेयमार उपयुक्त छन् । उनले पाँच पटकका बालोन डी‘ओरका विजेता रोनाल्डोको साथमा खेल्दा उचित हुन्छ ।’

रिभाल्डोले नेयमार क्याप नोउमा लियोनल मेस्सीसँग खेल्दा आन्तरिक प्रतिस्पर्धा बढ्ने भएका कारण पनि पोर्चुगिज स्टार रोनाल्डोसँग टुरिनमा खेल्दा उचित हुने बताए । उनले भनेका छन्, ‘यदि, नेयमार बार्सिलोनामा अनुबन्ध हुँदा क्याप नोउलाई फाइदा त होला तर, उनी भने मेस्सीसँगको आन्तरिक प्रतिस्पर्धामा हराउन सक्छन् ।’

‘यद्यपि, यो सरुवामा बार्सिलोनाले उनीमाथि लगानी गर्ला र उनलाई पूर्णरुपमा भित्र्याउला,’ उनले थपे, ‘नेयमार महंगा खेलाडी हुन् र त्यैपनि युभेन्टसले पनि नेयमारलाई भित्र्याउनेबारेमा सोचिरहेको छ । तर, मलाई लाग्छ, नेयमारले युभेन्टस गएर क्रिस्टियानो रोनाल्डोसँग खेल्दा उचित हुन्छ । म रोनाल्डो र नेयमारलाई एक साथ खेलेको हेर्न चाहान्छु ।’

यस्तै रिभाल्डोले २७ वर्षीय नेयमारले रोनाल्डोलाई गोल गर्नका लागि पास मिलाएर र गोल गर्दै क्लबलाई जिताउन सहयोग गर्नेमा आफू ढुक्क भएको बताए । उनले भने, ‘म ढुक्क छु कि, नेयमार रोनाल्डोसँग हुनेछन् । नेयमारले युभेन्टसलाई धेरै सहयोग गर्नेछन् । र, रोनाल्डोलाई पास गरेर गोल गर्नमा उनले मद्दत गर्नेछन् ।’

उनले भने, ‘मैले त उनीहरू (रोनाल्डो र नेयमार) एक साथ भएको कप्लपान पनि गर्न थालिसकेँ । नेयमारले आफ्ना जिम्मेवारी पूरा गर्दै युभेन्टसमा आफूलाई एक ठूला स्टारको रूपमा उभ्याएको हेर्ने इच्छा छ । यदि, यसो भएमा यो एउटा फाइदाजनक सरुवा हुनेछ ।’

‘नेयमारले पीएसजी छोडुन्,’ उनले थपे, ‘ट्रान्सफर विन्डो बन्द हुनुअघि नै नेयमार सरुन् । फ्रान्समा बस्नु उनका लागि कठिन हुनसक्छ । उनी एक महान् खेलाडी हुन् तर फ्रान्समा बस्नु उनका लागि फाइदाजनक छैन ।’

Loading...