fbpx

सवारी कारवाही र राजस्व बढ्यो, दुर्घटना घटेन

मोरङ, ५ भदौ । प्रहरीले सवारी साधनको कारबाहीबाट राजस्व संकलन वृद्धि गरेपनि दुर्घटना न्यूनिकरण नभएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्यांकले मोरङमा सवारी कारवाहीबाट राजस्व संकलन वृद्धि गरेपनि दुर्घटना संख्या भने न्यूनिकरण भएको छैन् ।

पछिल्लो तीन वर्षमा एक हजार ४ सय २१ दुर्घटनामा परी ३१८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा दुई हजार पाँचसय ७ जना घाइते भए । सोही अवधीमा एक लाख ५३ हजार ८३२ सवारी साधान कारवाहीमा पर्दा ८ करोड ८४ लाख ७६ हजार ५ सय राजस्व संकलन भएको छ ।

पछिल्लो तीन वर्षको अवधिमा राजस्व संकलन र कारवाही संख्या निरन्तर बढ्दो छ । तर, दुर्घटना न्यूनिकरण भने भएको छैन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि प्रभावकारी कदम नचाल्दा दुर्घटना न्युनिकरण गर्न नसकेको सरोकारवालाहरू बताउँछन् । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेल सडकको अवस्था, ज्ञानको कमीका कारण सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या भएको बताउँछन् ।

प्रहरीले निरन्तर अभियान सञ्चालन गरेका कारण दुर्घटनामा केही कमी आएको उनको दाबी छ । दुर्घटना न्यूनिकरण नभएपछि पछिल्लो समय ट्राफिक प्रहरीबिटहरुबाट चालक र सर्वसाधरणलाई सवारी सञ्चालनका बारेमा सेचतना जगाउन थालिएको उनले बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ६५ हजार १ सय ३३ कारवाही गर्दा तीन करोड ८४ लाख ६९ हजार राजश्व सकंलन गरेको थियो । आर्थिक वर्ष २०७४–७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा पर्दा तीन करोड ४१ हजार राजश्व सकंलन भएको थियो त्यस्तै आर्थिक वर्ष २०७३–७४ मा ३३ हजार ८८३ सवारी साधान कारवाही गर्दा एक करोड ९९ लाख ६६ हजार राजस्व संकलन भएको थियो ।

सवारी दुर्घटनामा गत आर्थिक वर्ष १०५ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४–७५ मा १०९ र आर्थिक वर्ष २०७३–७४ मा १०४ को मृत्यु भएको थियो ।

Loading...