fbpx

रियल मड्रिडबाट बिदा लिँदै केयलर नाभास !

एजेन्सी, ५ भदौ । स्पेनिस क्लब रियल मड्रिडका दोस्रो रोजाइका गोलकिपर केयलर नाभासले क्लब छोड्ने चर्चा चलेको छ । पहिलो रोजाइका गोल रक्षक थिबाओ कोर्टुआ घाइतेपछि पहिलो गोलरक्षकको भूमिका निभाइरहेका उनले क्लब छोड्न चाहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

स्पेनिस मिडिया मार्काका अनुसार नाभास क्लबमा आफ्नो दोस्रो भूमिकादेखि खुशी छैनन् । सन् २०१४ बाट रियल मड्रिडमा खेलिरहेका उनले क्लबलाई आफ्नो बहिर्गमनका बारेमा सोधिरहेको बताइएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले कोर्टुआ पहिलो रोजाइका गोलरक्षक भएको स्पष्ट पारेका छन् । क्लबले केयलरले रियल छोड्न चाहेको कुरा अगाडि नै थाहा पाइसकेको र उनको स्थानमा अन्य गोलपिकर ल्याउन चाहेको मार्काको दाबी छ ।

मार्काले यो पनि जनाएको छ कि, रियलले नाभासको स्थानमा भाल्लाडोलिडका गोलरक्षक एन्ड्री लुनिनलाई ल्याउने ग्यारेन्टी छ । सन् २०२०–२१ को सिजनभित्रमा २० वर्षीय गोलकिपर लुनिन भित्र्याउने योजनामा रियल रहेको बताइएको छ ।

मार्काका अनुसार लेभान्टेबाट सन् २०१४ मा रियल आएका उनी फ्रान्स जानका लागि क्लबबाट बिदा लिन चाहेका छन् । उनी फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जान चाहेको बताइएको छ । पीएसजीले पनि उनीप्रति इच्छा देखाएको बताइएको छ । आफ्ना पहिलो रोजाइको गोलरक्षक बुफोन युभेन्टस फर्किएपछि पीएसजीले नाभासलाई पहिलो रोजाइका गोलरक्षकका रुपमा क्लबमा भित्र्याउने बताइएको छ ।

बुफोन यसै सिजन मात्र पीएसजीबाट युभेन्टस फर्किएका हुन् । उनी गएपछि पीएसजीले अल्फोन्स अरोइलालाई आफ्नो पहिलो रोजाइको गोलकिपर बनाएको छ । यद्यपि, पीएसजीसँग केभिन ट्राप जस्ता अनुभवी गोलरक्षक पनि रहेका छन् । तर, अब पीएसजीले ३२ वर्षीय नाभासलाई क्लबमा ल्याएर पहिलो रोजाइका गोलकिपर बनाउने योजना बनाएको एएसको दाबी छ ।

लेभान्टेबाट रियल आएका नाभासले क्लबमा पाँच वर्ष बिताइसकेका छन् । तर, प्रशिक्षक जिनेदिन जिदान र उनीबीच खास राम्रो सम्बन्ध नभएका कारण पनि उनले चाँडै क्लबबाट बिदाइको हात हल्लाउन सक्ने बताइएको छ ।

रियलका पहिलो रोजाइका गोलरक्षक कोर्टुआ अहिले घाइते छन् । उनले लामो समयदेखि खेलमा सहभागिता जनाउन पाएका छैनन् । उनीमात्र नभएर पूरा रियल मड्रिड नै चोटले थलिएको छ । रियलका कोर्टुआसहित इडेन हाजार्ड, ब्राहिम डियाज, फेर्लान मेन्डी, मार्को एसेन्सियो, रोड्रिगो, जोभिक चोटले थलिएका छन् ।

Loading...