fbpx

अवैधरूपमा बालुवा निकासी गर्ने ट्र्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सातवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेल ल्याउँदै गरेको बेला प्रहरीले नुनथलाबाट सात ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

बालुवा लिएर आउँदै गरेको ना४त ९१७२, को२त ८२३८, ना४त ९६५५, ना५त ६६८३, को२त १३८४ र को१त ३८१२ नम्बरको ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए । स्थानीयले दिएको सूचनाको आधारमा बालुवा निकासी गर्ने ट्र्याक्टर र चालकलाई प्रहरी चौकी नुनथलाले नियन्त्रणमा लिएको हो ।

रावाबेँसी गाउँपालिका–३ लामीडाँडा वडा कार्यालयलाई प्रतिट्र्याक्टर ५ सय रुपैयाँ राजश्व बुझाएको रसिद हुँदाहुँदै प्रहरीले बालुवा नियन्त्रणमा लिएको निकासीकर्ताले आरोप लगाएका छन् । जुनसुकै खोला तथा नदीबाट असारदेखि भदौमहिनासम्म ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री उत्खनन गर्न नपाउने नियमानुसार ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ट्र्याक्टरलाई जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित जिल्ला अनुगमन समितिलाई बुझाइएकोे छ । सातमध्ये एक ट्र्याक्टर भने प्रहरी चौकी नुनथलाकै नियन्त्रणमा राखिएको छ ।

ट्र्याक्टर चालकलाई भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र राखेर छाडिएको छ । वातावरणीय प्रभावकारी मूल्याङ्कन नगरी बालुवा निकासी गरेको पाइएकाले प्रहरीले ट्र्याक्टर र बालुवा जफत गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् अनुगमन समितिका संयोजक बबि चाम्लिङले बताए ।

खोटाङमा दूधकोशी नदीको रभुँवाघाट, जयराम, लुलीमा, हात्तीटार, सुनकोशीको बतासेघाट, फोक्सिङटारलगायतका क्षेत्रबाट वातावरणीय प्रभावकारी मूल्याङ्कन नगरी अनियन्त्रित रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ । रावाखोला, साप्सुखोलाका विभिन्न खोलाबाट समेत गिट्टी, बालुवा निकासी भइरहेको छ ।

Loading...