fbpx

मेस्सीले मलाई उत्कृष्ट खेलाडी बनाएका हुन् : रोनाल्डो

एजेन्सी, ५ भदौ । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्ना खास प्रतिद्वन्द्वी खेलाडी लियोनल मेस्सीले आफूलाई उत्कृष्ट खेलाडी बनाएको बताएका छन् । पोर्चुगिज च्यानल टिभीआईसँग अन्तर्वार्ता दिने क्रममा ३४ वर्षीय रोनाल्डोले बार्सिलोनाका कप्तान मेस्सीका कारण आफू उत्कृष्ट खेलाडी बनेको बताएका हुन् ।

युभेन्टसका स्टार खेलाडी रोनाल्डो र अर्जेन्टिनी कप्तान मेस्सीबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ । समान पाँच–पाँचका बालोन डी‘ओरका विजेता उनीहरुको मैदानभित्र मात्र नभएर अवार्ड, फ्यान फलोइङ, व्यक्तिगत उपाधितिर दह्रो प्रतिस्पर्धा छ । सन् २००९ देखि २०१८ सम्म स्पेनमा रहेर ला लिगा खेलेका रोनाल्डोको त्यतिबेला अझ कडा प्रतिस्पर्धा चलेको थियो । तर, रियल मड्रिडबाट अघिल्लो वर्ष इटाली गएपछि यो प्रतिस्पर्धा तुलनात्मक रुपमा कम रह्यो, तर व्यक्तिगत उपाधि र च्याम्पियन्स लिग जस्ता क्षेत्रमा अझै चलिरहेको छ ।

जस्तै प्रतिस्पर्धा भएता पनि दुवैले एक अर्कालाई सहयोग गरिरहेको रोनाल्डोको भनाइ छ । उनले टिभीआईसँग अन्तर्वार्ता दिने क्रममा भनेका छन्, ‘म यो स्वीकार्छु कि उनी (मेस्सी) सँग धेरै फ्यान फलोवर्स छन् । जब मैले स्पेनिस लिग छोड्ने बताएको थिएँ, मेस्सीले मैले लिग छोड्दा आफूलाइ दुःख लाग्ने बताएका थिए । किनकी हाम्रो प्रतिद्वन्द्वीताबारे उनलाई थाहा थियो ।’

यस्तै रोनाल्डोले मेस्सीको र आफ्नो प्रतिस्पर्धा फुटबल क्षेत्रका लागि राम्रो रहेको बताएका छन्, ‘यो एक राम्रो प्रतिस्पर्धा हो जुन फुटबलमा आवश्यक पनि छ, तर यो कुनै अपवाद होइन्,’ उनले भने, ‘बास्केटबलमा माइकल जोर्डानको प्रतिस्पर्धा थियो, फर्मुला एकमा आर्यटन सेन्ना र अलाइन प्रोस्टको झन् धेरै प्रतिपर्धा थियो । यसमा एउटा समानता छ कि, दुई ठूला प्रतिद्वन्द्वी खेलमा हुँदा खेल क्षेत्र स्वस्थ हुन्छ ।’

यस्तै रोनाल्डोले दुई सुपरस्टारबीच प्रतिस्पर्धा हुँदा दुईमध्ये एक जना उत्तम लाग्नु सामान्य भएको बताए । यस्तै उनले अहिलेसम्म मेस्सीका साथमा डिनर नगरेको भएपनि भविष्यमा डिनर गर्न सक्ने बताए । ‘मेस्सीले मलाई एउटा उत्कृष्ट खेलाडी बनाएका हुन्,’ उनले थपे, ‘मेस्सीसँग मेरो राम्रो व्यवसायीक सम्बन्ध थियो । हामीले उस्तै क्षणहरु १५ वर्षसम्म बितायौं । मैले उनीसँग कहिले डिनर गरिँन तर किन भविष्यमा पनि नगर्ने ? त्यस्तो गर्नमा मसँग कुनै समस्या छैन ।’

Loading...