fbpx

झपामा ६५ बिघामा सामूहिक खेती

झापा ।

झापाका किसान सामूहिक खेतीतर्फ कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च र मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि कृषक सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् । सरकारले सामूहिक खेती प्रोत्साहन गर्न कृषि औजार र मल–बीउ खरीदमा विशेष प्राथमिकता दिँदै आएको छ । समूहमा खेती गर्नेलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेटमै विशेष अनुदान कार्यक्रम ल्याएका छन् ।

झापाको कनकाई र झापा गाउँपालिकाका कृषक सामूहिक खेतीमा जुटेका छन् । दुई स्थानीय तहको सिमाना पर्ने कनकाई–५ र झापा–६ का ४० भन्दा बढी कृषक सामूहिक खेती गर्न थालेका छन् । प्रगति पथ कृषि सहकारी संस्थामार्फत कृषकले हाल ६५ बिघामा धानखेती लगाइरहेको संस्थाका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताए ।

“६२ बिघामा रोपाइँ गरिसकेका छौँ”, भन्दै उनले भने, “अब एक÷दुई दिनभित्रमा रोपाइँ सकिन्छ ।” दैनिक ३८÷४० जना रोपार लगाएर धान रोपाइँ भइरहेको छ । संस्थामा खनजोतका लागि दुई ट्र्याक्टर भए पनि अन्य कृषि औजार नभएकाले केही समस्या भएको उनले बताए । बीउ प्रतिमुठ्ठा ५ रुपैयाँ र रोपारलाई दैनिक ५ सय रुपैयाँ ज्याला दिने गरिएको उनले बताए ।

धान रोप्ने कृषि औजार नहुँदा लागत खर्च बढी भएको उनले बताए । एकलभन्दा सामूहिक खेती गर्दा सहज भएको झापा–६ का हरिकुमार पराजुलीले बताए । पराजुलीले आफ्नो डेढ बिघा जग्गामा समूहमार्फत खेती गरिरहेका छन् । खेतमा अहिले रञ्जित, छोटा बासमती, लाल बासमतीलगायतका धान रोपिएको छ । प्रतिबिघा ६० मन धान उत्पादन गर्ने लक्ष्य रहेको प्रगतिपथ कृषि सहकारी संस्थाका उपाध्यक्ष गोकर्ण ओझाले बताए ।

यो क्षेत्रमा गत वर्षदेखि मकै पकेट क्षेत्रसमेत घोषणा भएको छ । यहाँका कृषकले ७० बिघामा सामूहिक मकैखेती गरेका थिए । जसबाट करीब तीन हजार पाँच मन मकै उत्पादन भएको संस्थाका अध्यक्ष चिमरिलाले बताए ।

सामुहिक खेती गर्दा मकै राम्रो उत्पादन भएपछि कृषक खुशी भएका छन् । मकै पकेट क्षेत्रअन्तर्गत सरकारले २५ लाख रुपैयाँ अनुदानसमेत दिएको छ । संस्थामा दुई वटा मकै रोप्ने मेशिन, एक मकै गोड्ने मेशिन र दुई ट्र्याक्टर छ । उत्पादित कृषि उपज भण्डारणका लागि १ करोडको लागतमा भण्डारण गृहसमेत निर्माण गरिएको छ ।

Loading...