fbpx

नेपाल एयरलाइन्सले भदौ २१ देखि जापान उडान भर्ने

काठमाडौं ।

लामो गन्तब्यमा उडान नभरेको भन्दै आलोचना भइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भदौ १२ गतेदेखि जापानको ओसाका उडान सुरु गर्ने भएको छ । जापान उडानको निगमले औपचारिक तालिका सार्वजनिक गरेको हो ।

ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले मंगलबार पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । निगमका अध्यक्ष मदन खरेलले आगामी २९ अगष्ट २०१९ अर्थात भदौ १२ गतेदेखि जापानमा नियमित उडानको तयारी भएको बताए । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा निगमले २ सय ७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट नियमित उडान गर्ने जनाएको छ । साताको तीन दिन (मङ्गलबार, बिहीबार र शनिबार) काठमाडौँ–ओसाका नियमित उडान गरिनेछ ।

निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको छ । दुईतर्फी भाडा ७२ हजार ८ सय १४ रुपैयाँ कायम गरिएको छ । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।

काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । शुरुका महीनामा केही समस्या भए पनि दशैँ, तिहारदेखि व्यावसायिक सफलता पाउने निगमको अनुमान छ ।
जापान सिधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । कम्तीमा पनि वार्षिक ४० हजार पर्यटक भित्र्याउने निगमले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको पनि अध्यक्ष खरेलले बताए ।

नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३सय २६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक उडान भर्न लागेको हो । लामो दूरीका गन्तव्यमा व्यावसायिक उडान गर्ने उद्देश्यसहित निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणमार्फत करीब २४ अर्ब रुपैयाँमा जहाज भित्र्याएको थियो ।

निगमले जापान उडान १२ वर्षपछि पुनः शुरु गर्न लागेको छ । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।

अन्तर्राष्ट्रिय उडानमा विभिन्न छ देशका आठ गन्तव्यमा उडान भर्दै आइरहेको निगमको ओसाकासँगै नौ गन्तव्य भएका छन् । निगमले अहिले भारतको नयाँदिल्ली, बेङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज छन् ।

Loading...