fbpx

सामाजिक बहिष्कार गर्नेलाई कानूनी कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

विराटनगर, ४ भदौ । जातीय विभेद र छुवाछुत अन्त्य गर्न आयोजना गरिएको सहभोज कार्यक्रममा सहभागी भएकै कारण सामाजिक बहिष्कार गर्नेलाई कानूनी कारवाही गर्न मुख्यमन्त्री शेरधन राईले निर्देशन दिएका छन् । छुवाछुत हटाउनका लागि आयोजना गरिएको सहभोजमा सहभागी भएकै कारण खोटाङ दिक्तेल नगरपालिका-१ का ७६ वर्षीय टंकप्रसाद आचार्यलाई अघोषित बहिष्कार गर्नेलाई कानूनी कारवाही गर्न मुख्यमन्त्री शेरधन राईले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेका हुन् ।

सामाजिक बहिष्कारमा परेपछि न्याय खोज्नै मंगलबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा पुगेका बृद्ध आर्चायको उजुरीपछि मुख्यमन्त्री राईले दोषीलाई कारवाहीसँगै उनलाई सामाजमा पुर्नस्थापना गराउन पनि सीडीओलाई आदेश गरेका छन् । मुख्यमन्त्री राईले खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई मोबाइल सम्पर्क गरी तत्काल घटनाको विषयमा गम्भीर भइ पीडित बनेर विस्थापित बनेका वृद्ध आचार्यलाई गाउँमा नै पुन:स्थापित गर्नका लागि कुनै कसुर बाँकी नराख्न आदेश दिएका छन् । आचार्यकै अगाडि मुख्यमन्त्री राईले फोन सम्पर्क गर्दै भने, ‘सिडियो साप त्यो टंक ‘बा’ विस्थापित भएको विषयलाई गम्भीरतापूर्वक लिनु पर्यो, समाजलाई बुझाउनुस् भएन भने दोषीहरुलाई कानुनी दायरामा ल्याउनुस् र उहाँलाई समाजमा पुनर्स्थापित चाँडो गराइहाल्नुस्।’

सामाजिक बहिष्कारमा परेपछि न्याय खोज्दै भौतारिरहेका बृद्ध आचायले नेकपाका १ नम्बर प्रदेश सदस्य विजय राई, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक प्रवक्ता अशोक ऐरलगायतसँग विराटनगर पुगेर दोषीलाई कार्वाहीको माग गर्दै मुख्यमन्त्री राईलाई कार्यालयमा भेटर मंगलबार निवेदन दिएका थिए ।

मुख्यमन्त्री राईलाई भेटेर आचार्यले आफूले जेठ १८ गते जिल्ला समन्य समिती खोटाङले आयोजना गरेको सहभोजमा दलित बालिकाले दिएको दही खाएको निहुँ आफन्त र समाजले बहिस्कार गरेकाले ९ दिन अघिदेखि गाउँबाट विस्थापित हुनु परेको बताएका थिए । उनले नराम्रो काम गरेको भए सरकारको कानून बमोजिमको दण्ड सहने तर आफूले कुने गल्ती नगरेकोले दोषीलाई कारवाही हुनुपर्ने माग गरेका थिए । उनले मुख्यमन्त्री राईसँग भनेका थिए, ‘यदि देशमा कानून छ, सरकार छ भने मैले गाउँ फर्कँनु पाउनु पर्छ, मलाई स–सम्मान पुनर्स्थापित गरियोस् र दोषीलाई कार्वाही पनि होस्।’

पीडित आचार्यले आफूलाई गाउँ र समाजबाट विस्थापित गराउने स्थानीय भीमप्रसाद आचार्य, कमल आचार्य, मदन आचार्य, अर्जुन आचार्यलगायत सामूहिक बहिस्कार गरेको र डर, धाक, धम्कीसमेत दिएकाले आफू असुरक्षित भइ विस्थापित हुनु परेको मुख्यमन्त्रीलाई बुझाएको उजुरीमा उल्लेख गरेका छन् ।

खोटाङ दिक्तेल नगरपालिका १ मा रहेको आफ्नो घरबाट विस्थापित भइ ९ दिनदेखि बृद्ध आचार्य प्रदेश राजधानी आएर न्याय खोजी रहेका छन् । उनले मुख्यमन्त्री राईलाई बुझाएको निवेदनमा नेपालमा जातीय छुवाछुत र विभेद अन्त्यको लागि बनेको कानुनवमोजिम कारवाही हुनुपर्ने र समाजको अन्धविश्वास, जातीय छुवाछुत र विभेद व्यवहारिक रुपमा नै अन्त्य गराउन आफू सदैव लागिपर्ने पनि उल्लेख गरेका छन् ।

Loading...