fbpx

तराई–मधेश हरियाली वन बिस्तारका लागि ९ लाख बिरुवा उत्पादन

रङ्गेली, ३ भदौ । डिभिजन वन कार्यालय मोरङले तराई–मधेश हरियाली वन विस्तार कार्यक्रमका लागि यस वर्ष ९ लाख ३५ हजार बिरुवा उत्पादन गरेको छ । कार्यालयले उक्त कार्यक्रमका लागि वृक्षारोपण गर्न बहुवर्षीय र एकवर्षीय बिरुवा उत्पादन गरेको हो ।

जसमा ७ लाख ७५ हजार एक वर्षे बिरुवा उत्पादन गरेको कार्यालयले १ लाख ६० हजार बहुवर्षीय बिरुवा उमारेको छ । कार्यालयले १९ वटा नर्सरीबाट बिरुवा उत्पादन गरेर वितरण गरेको छ । मोरङका विभिन्न स्थामा रहेका ५ वटा सरकारी, ११ वटा निजी नर्सरी र ३ वटा सामुदायीक तथा साझेदारी नर्सरीबाट बिरुवा उत्पादन गरिएको कार्यालय प्रमुख विशाल घिमिरेले जानकारी दिए ।

‘जहाँ वन त्यहाँ व्यवस्थापन, जहाँ बाझो त्यहाँ वृक्षारोपण’ भन्ने नारासहित कार्यालयले मोरङको दक्षिणी क्षेत्रका खाली नाङगा जग्गामा वृक्षारोपण गरेको छ । साथै निजी व्यक्तिको मागअनुसार पनि बिरुवा वितरण गरिएको उनले जानकारी दिए । आमजुगी सामुदायीक वन केराबारी, लक्ष्मी सामुदायीक वन बेलबारी, जनजागृती सामुदायीक वन कानेपोखरी, ग्रामीण सुधार सामुदायीक वन कानेपोखरीमा गरी ४१ हेक्टरमा वृक्षारोपण गरिएको प्रमुख घिमिरेले जानकारी दिए । त्यसैगरी १४ हेक्टर विभिन्न सार्वजनिक जग्गामा पनि वृक्षारोपण गरिएको घिमिरेले बताए । यता, गत वर्ष रोपिएका ठाउँमा पनि पुनःवृक्षारोपण गरिएको छ ।

कार्यालयले उत्पादन गरेका बिरुवामा काठ प्रजातिका टिक, मसला, कदम रहेका छन् । त्यस्तै डालेघाँसका बिरुवा पनि कार्यालयले वितरण गरेको जनाएको छ । जसमा टाँकी, बकैना, इपील रहेका छन् । त्यसैगरी अन्यमा जामुन, खयर, बेल, कटहर, तित्री, सजिवनलगायतका बिरुवा पनि कार्यालयले वितरण गरको छ । डिभिजन वन कार्यालयले उत्पादन गरेको बिरुवा लैजानेमा स्थानीय तह, विद्यालय, विभिन्न क्लब, धार्मीक संघ–संस्था साथै निजी रूपमा पनि बिरुवा लगिएको कार्यालयले जनाएको छ ।

मोरङमा निजी वन दर्ता गर्ने बढे

मोरङमा २०४५ देखि हालसम्म ६ सय ८४ वटा निजी वन दर्ता भएको निजी वन शाखा प्रमुख किशोर बरालले जानकारी दिए । यस गत आर्थिक वर्षमा मात्रै ६४ वटा निजी वन दर्ता भएको उनले जानकारी दिए । मोरङमा ६ सय ६० हेक्टरमा निजी वन रहेको छ । यहाँ ५ कठ्ठा देखि ४४–४५ विघासम्मका निजी वन रहेका छन् । मोरङका निजी वन देशमै उत्कृष्ट रहेको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले बताए ।

यस जिल्लाका निजी वन धनी किसानले राष्ट्रियस्तरको पुरस्कार पाउँदै आएको उनको भनाइ छ । गत वर्ष पनि सुनवर्षी नगरपालीका–६ गोविन्दपुरका निजी वन धनी नीलबहादुर चौहान (सालबाजे)ले ७५ हजार राशिको निजी वन राष्ट्रिय द्वितिय पुरस्कार प्राप्त गरेको प्रमुख घिमिरेले बताए ।

मोरङमा १ सय ३४ सामुदायीक वन, ४ साझेदारी वन रहेका छ । त्यसैगरी १२ धार्मीक वन, ६ सय ८४ निजी वन र २ वटा कवुलीयती वन रहेको कार्यालयको तथ्याङकमा छ । मोरङमा ५५ हजार ५ सय हेक्टर वन क्षेत्र रहेको छ । जुन, नेपालको समग्र वन क्षेत्रको २९ प्रतिशत रहेको छ ।

Loading...