fbpx

सेवा आयोगबाट बिदाई भएपछि होटलमा अन्तर्वार्ता, प्राध्यापक र सहप्राध्यापक नियुक्तिको तयारी

मोरङ, ३ भदौ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले विश्वविद्यालयबाट बिदाई भएपछि प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि परीक्षा लिएकाे पाइएकाे छ  । श्रेष्ठको ४ वर्षे कार्यकाल भदौं ५ गते सकिँदैछ । विश्वविद्यालयबाट बिदाई भएपछि काठमाडौं पुगेका श्रेष्ठले कार्यकाल सकिँन तीनदिन बाँकी रहेको अवस्थामा सोमबार प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेका हुन् ।

विश्वविद्यालय सेवा आयोगले खुलाएको विज्ञापनमा प्राध्यापकतर्फ प्राडा जीवन ढकाल र सहप्राध्यापकतर्फ शैलेन्द्र शिवाकोटीको नाम अन्तर्वार्ताका लागि छनोट भएको थियो । सोमबार दुईजनालाई काठमाडौंको होटल एम्बेस्टरमा अन्तर्वार्ता लिइएको हो । पूर्वाञ्चल विश्वविद्यालय स्रोतका अनुसार अन्तर्वार्ता भएपनि विश्वविद्यालयलाइ जानकारी गराइएकाे छैन् । सेवा आयोगकाे सिफारिस पूवि कार्यकारी परिषदले सदर गरेमात्र प्राध्यापक र सहप्राध्यापकले हाजिरी गर्न पाउनेछन् ।

विश्वविद्यालयबाट विदाइ ग्रहण गर्दै श्रेष्ठ (ढाकाटाेपी र माला लगाएका)

विश्वविद्यालयले २०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न पदकालागि विज्ञापन आह्वान गरेको थियो । तर विद्यार्थी नभएकाे विषयमा पनि विज्ञापन गरिएपछि विवाद सुरू भएकाे थियाे । विवादकै क्रममा    व्यवस्थापनतर्फको प्राध्यापकमा जीवन ढकाल र व्यवस्थापन तर्फको सहप्राध्यापकमा शैलेन्द्र शिवाकोटीको नाम मात्र अन्तर्वार्ताका लागि छनोट भएको थियो ।

छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै चार विद्यार्थी संगठनले विश्वविद्यालय सेवा आयोगको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । पटक–पटक अन्तर्वार्ताको समय तोकिएपनि विद्यार्थी संगठनहरूको अवरोधका कारण आयोगले अन्तर्वार्ता गरेको थिएन । तर, आयोगका अध्यक्ष श्रेष्ठले विश्वविद्यालयबाट औपचारिक रूपमा बिदाई हुन तीन दिनअघि सोमबार होटलमा अन्तर्वार्ता लिएका हुन् । साउन अन्तिम साता उनी विश्वविद्यालयबाट विदा भएका थिए ।

परीक्षाका लागि लाजिम्पाटस्थित होटल एम्बेस्टर पुगेका शिवाकोटी र ढकाल सोमबार नै विराटनगर फर्किएका थिए । विश्वविद्यालय सेवा आयोगका सदस्य महेन्द्र यादवका अनुसार अन्तर्वार्तामा विज्ञको रूपमा प्राडा कमल ढकाल, प्राडा पृथ्वीविक्रम राई र प्राडा पुस्कर बज्राचार्यलाई बोलाइएको थियो । अन्तर्वार्तालाई गोप्य राख्न होटल पनि सेवा आयोग अध्यक्ष श्रेष्ठको नाममा बुक गरिएकाे होटल स्रोतले जानकारी दिएको छ ।

बधाई आइरहेको छ, जानकारी आएको छैन

परीक्षाका लागि काठमाडौं पुगेका प्राडा जीवन ढकालले नियुक्तिको विषयमा आधिकारिक जानकारी नआएको बताएका छन् । अन्तर्वार्ताका लागि काठमाडौं पुगेपनि नियुक्ति भएको विषयमा आधिकारिक जानकारी नआएको उनले बताएका हुन् । ‘फोन गरेर साथीहरुले शुभकामना दिइरहनु भएको छ,’ ढकाल भन्छन्, ‘नियुक्तिको विषयमा आधिकारिक जानकारी छैन ।’

सहपरीक्षा नियन्त्रकको फरक मत

पूर्वाञ्चल विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक बोधहरि आचार्य होटलमा अन्तर्वार्ता लिनु गैरजिम्मेवारीपन भएको बताउँछन् । केन्द्रीय कार्यालय सेवा आयोगमा तालाबन्दी भएको अवस्थामा होटलमा अन्तर्वार्ता लिनु गलत भएको उनको भनाइ छ । होटलमा अन्तर्वार्ता लिएको विषयमा कानूनी उपचार खोज्ने उनले बताए ।

विद्यार्थी भन्छन्– हाजिर कसरी गर्ने, नेकपा नेता भन्छन्– आपत्तिजनक

विद्यार्थी संगठनहरूले होटलमा गरिएको अन्तर्वार्ताका आधारमा नियुक्ति पाएका प्राध्यापक र सहप्राध्यापकलाई विश्वविद्यालयमा हाजिरी गर्न नदिने बताएका छन् । सेवा आयोगमा तालाबन्दी भएकको अवस्थामा बिना सूचना होटलमा गरिएको अन्तर्वार्ताका आधारमा नियुक्ति पाएका प्राध्यापक र सहप्राध्यापकलाई हाजिरी गर्न नदिने विद्यार्थी नेता वसिम आलमले  बताए ।

यता, पूर्वाञ्चल विश्वविद्यालय सुधारको अभियान सञ्चालन गरिरहेका नेकपा नेता महेश रेग्मी होटलमा अन्तर्वार्ता गरिनु आपत्तिजनक भएको बताउँछन् । ‘विश्वविद्यालयको केन्द्रीय कार्यालय यहाँ(विराटनगर) मा छ,’ उनी भन्छन्, ‘लोकसेवा आयोग वा सम्पर्क कार्यालयमा गरेको भए ठिकै हो तर होटलमा अन्तर्वार्ता लिनु आपत्तिजनक छ ।’ विश्वविद्यालयबाट बिदा भइसकेका व्यक्तिले नियुक्तिकालागि अन्तर्वार्ता लिनु विधि र प्रक्रियाविपरीत भएको बताउँछन् ।

Loading...