fbpx

खुम्बु पासाङल्हामुमा प्लाष्टिक झोला र बोतल प्रतिबन्ध

 

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा प्लाष्टिक झोला र बोतलको प्रयोगमा प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा असर गर्ने प्लाष्टिक झोला र बोतल बन्द गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमअनुसार गाउँकार्यपालिकाले निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले बताए । आउँदो पुस १६ गतेदेखि लागू हुने गरी खुम्बु क्षेत्रभित्र ३० माइक्रोन्सभन्दा कम तौलका प्लाष्टिक र पेय पर्दाथका प्लाष्टिकजन्य बोतललाई निषेध गरिएको छ ।

गाउँपालिकाले तोकेको समयभन्दा अगाडि त्यस क्षेत्रका नागरिकलाई पाँच प्रकारको झोला वितरण गर्ने गरिएको छ । मानवीय क्रियाकलापका कारण जलवायुमा प्रतिकूल असर परेको, हिमालमा हिउँ सुक्दै जान थालेको तथा जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले प्लाष्टिक निषेध गरिएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए । प्लाष्टिक नकुहिने र जलाउँदासमेत वातावरणसँगै मावन स्वस्थ्यमा समेत असर गर्ने भएकाले निषेध गरिएको प्रवक्ता शेर्पाको भनाइ छ ।

गाउँपालिकाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल रहेका छन् । यही हिमालका कारण यस गाउँपालिकामा वर्षेनी ५० हजारभन्दा बढी पर्यटक खुम्बु पुग्ने गर्छन् । विश्व सम्पदा सूचीमा रहेको सगरमाथासमेत रहेको गाउँपालिका पर्यटकीय हिसाबले अति महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा हुने हरेक क्रियाकलाप पर्यावरणमा असर नपर्ने खालको हुनुपर्ने सरोकारवालले सुझाव दिदै आएका छन् ।

गाउँपालिका केन्द्रमा यस वर्षदेखि सडक सञ्चालन गर्ने गरी काम भइरहेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताए । सडक निर्माण गर्दा पनि वातावरणलाई ध्यान दिने बताए । वातावरण संरक्षण गर्न नसकेको खण्डमा यस क्षेत्रको पर्यटनमा समेत नकरात्मक असर पर्ने उनको भनाइ छ ।

Loading...