fbpx

पत्रपत्रिकामा प्रदेश : लो भोल्टेजको समस्याले अप्रेसन रोकियो, ७ अर्ब कमाएर भएन सेवा चाहियो

विराटनगर ।

जनविद्रोह दैनिकमा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारी विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ विरुद्ध आक्रोशित भएको समाचार छापिएको छ ।

लो -भोल्टेज र ट्रिपिङको समस्याले हैरान उद्योगीले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई भेटेर विद्युतको समस्या समाधान गर्न माग गरे । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले विद्युत प्राधिकरणको काम ७ अर्ब कमाउने मात्रै मात्र नभई सरकारी संस्थाले सेवा पनि प्रभावकारी दिनु पर्ने बताए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कुलमान घिसिङले भने जस्तो विद्युत सेवा प्रभावकारी नभएको बताए ।

यस्तै विराटनगरको कोशी अञ्चल अस्पतालमा विद्युत गडबढीको कारण सल्यकृया सेवा प्रभावित भएको छ । गत साउन २४ गते जेनेरेटर बिग्रिएपछि शल्यकृया गर्न एनेस्थेसिया समेत दिएको बिरामीको शल्यक्रिया नै रोकिएको छ ।

मोरङ कानेपोखरी बयरवनकी भुटाही चौधरीको शल्यक्रिया विद्युत समस्याकै कारण २ दिन पछिलाई सारिएको थियो । त्यस्तै साउन २६ गतेकालागि तय भएको अर्थाे वार्डको दुई वटा शल्यक्रिया पनि सारिएको छ । नियमित विद्युत आपुर्ती र भोल्टेज समस्याका कारण समग्र अस्पतालको सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर गुणराज लोहनीले बताए ।

मोरङको बुढीगंगा ४ पोठियामा एक किशोरमाथि निर्धात कुटपिट भएको समाचार उद्घोष दैनिकमा छ । चार दिन अघि भएको घटना आइतबार सार्वजनिक भएको हो ।

मोवाइल चोरीको आरोपमा स्थानीय १७ वर्षीय मोहम्मद नौसाद मियाँमाथि कुटपिट भएको हो । उनलाई स्थानीय २२ वर्षीय सादिर मियाँ, २० वर्षीय सादीरस मियाँ, १८ वर्षीय अफजल मियाँ र बुढीगंगा ५ का आकिप मियाँले फिल्मीशैलीमा कुटपिट गरेका थिए । नौसादलाई नियन्त्रणमा लिएर करिब २ घण्टा निर्धात कुटपिट गरेका हुन् । कुटपिट गरेको आरोप लागेका अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा ढिलो जानकारी पाइएको र घटनामा संलग्न फरार भईसकेको इलाका प्रहरी कार्यालय नेमुवाका सई जीवनकुमार गौतमले बताए ।

उच्च अदालत विराटनगरले उर्लाबारी नगरपालिकाको चौथो नगरसभा विधिसम्मत नभएको भन्दै तत्काल निर्णयहरु कार्यान्वयन नगर्न आदेश दिएपछि एक सातादेखि नगरपालिकाका मुख्य कामहरु ठप्प भएको छ । नगरपालिकाकी उप्रमुख लक्ष्मीदेवी भण्डारीसहित १३ जना कार्यपालिका सदस्यले चौथो नगरसभाको निर्णय रोक लगाउन माग गर्दै रिट दायर गरेपछि उच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

आदेश पछि नगरपालिकाले मंगलबारदेखि नगरसभाको निर्णयमा उल्लेख भएका कर, राजश्व, जरिवाना, सेवा शुल्क, मालपोतसहितका विविध आम्दामी तथा वियिोजन ऐन, प्रशासनिक खर्च , तलब भत्ता, योजना , विकास लगायतका सेवाहरु प्रभावित भएको छ । उपप्रमुख भण्डारीले आपसी सहमतिमा केही अत्यावस्यक सेवा सुचारु गर्न सकिने भएपनि नगरप्रमुख खड्ग फागोले पहल गर्नु पर्ने बताइन् । तर नगरप्रमुख फागोले अदालतले स्टे अर्डर जारी गरिसकेको अवस्थामा निर्णय विरुद्ध जान नसकिने बताएको ब्लाष्ट टाइम्समा खबर छ ।

सडक डिभिजन कार्यालय विराटनगरमा व्यापक भष्टाचार भएको न्यू सृष्टि दैनिकमा खबर छ । सार्वजनिक लेखा समितिले कार्यालयमा भएको भष्टाचार र अनियमिताका विषयमा प्रदेश सरकारलाई जानकारी गराएको छ । प्रदेश १ प्रदेश सभाका सभापति शिवनवारायण सिंह गन्गाईले सोमबार प्रदेश सभामा वार्षीक प्रतिवेदन सार्वजनिक गर्दै सडक निर्माण र मर्मत सम्भारमा व्यापक भ्रष्टाचार भएको तथ्यांक सार्वजनिक गरेका छन् ।

Loading...