fbpx

‘नेयमार रियल मड्रिड जाँदैनन्’

एजेन्सी, भदौ ३ । ब्राजिलियन क्लब सान्टोसका पूर्वअध्यक्ष मार्सेलो टेइक्सेरियाले नेयमार रियल मड्रिड नजाने बताएका छन् । उनले स्पेनिस मिडिया एएससँगको अन्तर्वार्ताका क्रममा टेइक्सेरियाले नेयमार स्पेन नजाने बताएका हुन् ।

पछिल्लो समय नेयमार स्पेनिस क्लब रियलसँग जोडिएका छन् । सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका उनी रियलसँगसँगै बार्सिलोनासँग पनि जोडिएका छन् ।

ब्राजिलका स्टार नेयमारले आफ्नै देशको क्लब पोर्चुगिसा सान्टिस्टादेखि व्यवसायीक फुटबल खेल्न थालेका हुन् । त्यसपछि उनले अर्को ब्राजिलियन क्लब सान्टोसबाट खेलका थिए । सन् २००३ देखि २००९ सम्म र यूथ करिअर त्यहाँ बिताएका उनले सन् २००९ देखि २०१३ सम्म सान्टोसको सिनियर टोलीबाट खेले ।

त्यसपछि बार्सिलोना गएका उनी त्यहाँ सफल खेलाडी बनेका थिए । तर, सन् २०१७ मा पीएसजीतिर लागेका उनले त्यहाँबाट २ वर्ष खेले । तर, अधिकांश समय घाइते भएका उनले त्यहाँ अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसकेपछि स्पेन फर्कने मनसाय बनाए ।

उनी पूर्वक्लब बार्सिलोनाभन्दा पनि रियल जाने सम्भावना बढी रहेको बताइएको छ । तर, नेयमारका पूर्वप्रशिक्षक टेइक्सेरियाले भने नेयमार कुनै पनि हालतमा रियल नजाने बताएका छन् । अन्तर्वार्ताको क्रममा उनलाई नेयमार रियल जालान् ? भन्ने प्रश्न गरिएको थियो । जसको उत्तर दिँदै उनले भनेका छन्, ‘अहँ, उनी रियलमा अनुबन्ध हुँदैनन् ।’

यस्तै उनले पहिला पनि नेयमार रियल जान तयार रहेको तर आफूले उनलाई रोकेको बताएका छन् । उनले भनेका छन्, ‘उनी यसअघि पनि रियल जान खोज्दै थिए । तर, मैले उनलाई रोकेको थिएँ ।’ उनका अनुसार नेयमार २००६ मा नै रियल जान चाहेका थिए । तर, त्यहाँ भविष्य नदेखेर उनलाई आफूले रोकेको बताएका हुन् ।

यसैगरी उनलाई नेयमार बार्सिलोना जालान् ? भन्ने प्रश्न सोधिएको थियो । जसमा, उनले भनेका छन्, ‘नेयमार बार्सिलोना जाने विषयमा अध्ययन भइरहेको छ । स्पेनिस न्याय प्रणाली र अब्रिटेसन स्पोर्ट्स अदालतमा उनको यस विषयमा अध्ययन भइरहेकोले यसबारे म केही बोल्दिँन ।’

तपाईंको विचारमा रियल र बार्सिलोनामध्ये नेयमारलाई कसले भित्र्याउला त ? भन्ने प्रश्नमा नेयमारका पूर्वप्रशिक्षक टेइक्सेरियाले भने, ‘नेयमार विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हुन् । यदि, आफ्नो व्यक्तिगत क्षमतालाई अझ मजबुत बनाउन चाहान्छन् भने उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको विपक्षी भएर खेल्नु पर्छ । उनलाई उनका प्रतिनिधिहरुले पनि यस्तै सुझाव दिएका छन् । तर, नेयमारले विश्वका जुनसुकै क्लब पनि जोइन गर्न सक्छन् । हामीले चैं मड्रिड नजाने पक्षमा नेयमार रहेको देखेका छौं ।’

Loading...