fbpx

बङ्लादेशबाट तीन हजार ५ सय रोहिङ्ग्या म्यानमार पठाउने तयारी

बङ्लादेश ।

बङ्लादेशमा शरणार्थीका रूपमा रहेका झण्डै तीन हजार ५ सय रोहिङ्ग्यालाई म्यानमार फर्काउने तयारी थालिएको छ । उनीहरुलाई घर फर्काउने प्रक्रिया यसै हप्ता सुरु हुने बंगलादेशी अधिकारीहरुले बताएकाछन्।

सैनिकको ज्यादती खप्न नसकेर झण्डै दुई बर्ष अगाडि उनीहरू सरणार्थीका रुपमा बङ्लादेश पसेका थिए । सन् २०१७ को अगस्टतिर झण्डै सात लाख ४० हजार रोहिङ्ग्या शरणार्थीहरू विस्थापित भएर बङ्लादेश आएका थिए । उनीहरुलाई स्वदेश फर्काउनका लागि फिर्ती सम्झौतामा हस्ताक्षर हुने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।

बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले बिहीबार थप शरणार्थीहरुलाई म्यानमार फर्काउने प्रक्रिया शुरु हुने बताए । यसअघि सन् २०१८ को नोभेम्बरमा २२ सय ६० शरणार्थीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेकोमा सुरक्षाको सुनिश्चितता नभएकाले फर्किन नसकिने भन्दै शरणार्थीहरुले घर फर्किन मानेनन् ।

“अन्य सवै कुरा तयारी अवस्थामा छन्, गन्तव्यस्थान मात्रै निश्चित गर्न बाँकी छ,” म्यानमारका अधिकारीहरुसँगको बैठकपछि कलामले पत्रकारहरुसँगको कुराकानीमा भने । कसैलाई पनि जबरजस्ती फर्किनका लागि दवाव नदिएको समेत उनले स्पष्ट पारे ।

दुवै देशका अधिकारीहरुले स्वदेश फर्काउन तयार पारिएका तीन हजार ५ सय शरणार्थीमध्ये हरेक दिन तीन सय जनाका दरले म्यानमार फर्काउने सहमति भएको छ ।

Loading...