fbpx

साप्सुखोलामा पुल सञ्चालन

खोटाङ । खोटाङको दक्षिणी क्षेत्र जोड्ने हरित सडक खण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा रहेको साप्सुखोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकको साप्सुखोलाको पुल २०७३ मङ्सिर २२ गते शिलान्यास गरिएको थियो । करीब १८ महीनाभित्र पूरा गर्नेगरी २०७३ वैशाखमा ठेक्का लागेको साप्सुखोला पुलको काम २१ महीनापछि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
ठेकेदार कम्पनीको ढिलासुस्तीपछि निर्माण कम्पनी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको प्रतिनिधि परिवर्तन गरेर पुल निर्माणलाई पूर्णता दिइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताए। नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजार लागतमा पुल निर्माण गरिएको हो ।

सम्पन्न गर्नुपर्ने म्याद नाघेको १५ महीना बित्दासमेत पहिलो निर्माण कम्पनीले पुल निर्माणको काम पूरा गर्ने छाँट नदेखाएपछि साकेला गाउँपालिकाको पहलमा २०७५ चैतमा दोभान निर्माण सेवाका सञ्चालक सुरज बस्नेतलाई कामको जिम्मा दिइएको थियो । सप्सुखोला पुल निर्माणको काम अलपत्र भएपछि सांसद विशाल भट्टराईले २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्न गृहमन्त्रीसमक्ष लिखित माग गरेका थिए ।

पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि कालोसूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम समावेश गरेर गृहमन्त्रालयमा सिफारिस पठाएको थियो । वर्षामा बाढीले सवारी आवागमन ठप्प हुँदा दक्षिणी क्षेत्रका स्थानीयवासी नाकाबन्दीमा पर्दै आएका थिए ।

बेलायती सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावाखोलामा पुल नहुँदा उपयोगविहीन बनेको थियो । साप्सुखोला पुल सञ्चालनमा आएपछि साकेला गाउँपालिकासम्म नियमित यातायात शुरु गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए ।

दिक्तेल–खोटाङबजार सडक खण्डमै पर्ने तावाखोलामा पक्की पुल निर्माणका लागि ठेक्का लागे पनि अहिलेसम्म निर्माणको काम शुरु भएको छैन । तावाखोला पुल निर्माण गर्ने जिम्मा नेशनल महावीर सिद्धिशाही निर्माण कम्पनीले लिएको छ ।

पुल निर्माणको काम तत्काल शुरु गर्न निर्माण कम्पनीका प्रतिनिधि कर्ण खत्रीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । ठेक्का लाग्नासाथ वर्षा शुरु भएका कारण काममा अवरोध पुगेकाले वर्षा कम भएपछि तोकिएकै मितिमा सम्पन्न गर्नेगरी निर्माणको काम शुरु गर्ने प्रतिनिधि खत्रीले बताए।

Loading...