fbpx

फुटबल खेल्दा मात्र होइन, हेर्दा पनि हुन्छ स्वास्थ्यमा फाइदा

विराटनगर, भदौ २ । फुटबल, धेरैलाई थाहा भएको खेल हो । दैनिक फुटबल खेल्ने सुरु गरेमा यसले शरीरको व्यायामसमेत हुन गइ मान्छे स्वस्थ हुन्छ । तर, फुटबल खेलेर मात्र नभइ हेरेर मात्र पनि आफूलाई स्वस्थ राख्न सकिन्छ । सुन्दाखेरि अनौँठो लाग्ला तर, फुटबल हेर्दा मात्र पनि मानिसको शरीर स्वस्थ हुने पुष्टि भएको छ ।

धेरै समयको अनुसन्धानपछि वैज्ञानिकहरूले फुटबल हेर्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुने निष्कर्ष निकालेका हुन् । बेलायतको लीड्स विश्वविद्यालयका अनुसन्धाताहरूले त्यहाँको शहरको फुटबल टिमका २५ जना प्रशंसकलाई तीनवटा च्याम्पियनसीप खेलका क्रममा विश्लेषण गरेका हुन् ।

एउटा स्वस्थ मानिसको मुटुको सामान्य चाल ६० देखि १०० प्रतिमिनेट हुन्छ । शारीरिक व्यायाम तथा शरीरमा बल पर्ने काम हुँदा मुटुको चाल बढ्न जान्छ । अनुसन्धानकर्ताले आफ्नो मनपर्ने फुटबल टिमको गेम हुँदा हेर्ने समर्थकहरूको मुटुको चाल लगभग ६४ प्रतिशतले बढेर १३० प्रतिमिनेट पुगेको पाएका थिए ।

वैज्ञानिकहरूले मुटुको चाल १३० प्रतिमिनेट भनेको आधी घण्टासम्म छिटो–छिटो गरी हिँड्दा हुने मुटुको चाल बराबर हो भनेर दाबी गरेका छन् । अझ आफ्नो मनपरेको फुटबल क्लबले जित्दा प्रशंसकहरूको रक्तचाप समेत घट्नुका साथै मनोवैज्ञानिक सहायता पनि पुग्ने गरेको देखिएको छ ।

तर, आफूलाई मनपरेको क्लबले हार्दा यसको ठीक विपरीत असर परेको देखियो । अनुसन्धानमा मनपरेको क्लबले हर्दा समर्थकहरूलाई आफ्नो साथी मरेको जस्तो अनुभव हुने समेत देखिएको थियो । यसका साथै दुवै टिमले गोल गर्दा मुटुको चाल बढ्ने गरेको पाइएको छ ।

फूटबल खेल हेरेर आफ्नो टिमलाई समर्थन गर्दा खेलको अवधिमा उनीहरूको मुटुको चाल छिटो हिँडिरहेको व्यक्तिको चाल बराबर हुने भएकोले मुटुको व्यायाम हुने र खेलको परिणामका आधारमा मनोवैज्ञानिक लाभ वा हानी दुवै हुन सक्ने अनुसन्धानकी नेतृत्त्वकर्ता डा. एन्ड्रीया अट्लीले बताएकी छन् ।

Loading...