fbpx

दादको समस्याबाट बच्नका लागि अपनाउनुहोस् यस्ता उपायहरू

विराटनगर, भदौ २

गर्मी महिनामा शरीरमा पसिना धेरै आउने गर्छ । पसिनामा धूलो तथा अन्य तत्त्वसँग मिसिन जाँदा छालासम्बन्धी अनेकौं समस्या निम्त्याउने गर्छ । छाला चिलाउने, सानो सिक्का आकारको दाग देखिने, शरीरको अन्य भागमा फैलिँदै जाने, बीच भागमा राम्रो भएजस्तो देखिन तर, बाहिर रातो बढ्दै जाने लगायतको लक्षण छालामा देखा परेमा दादको लक्षण रहेको वरिष्ठ छाला रोग विशेषज्ञ डा. सबिना भट्टराईले बताएकी छन् ।

यस्तो समस्या हुँदा मानिसहरु सामान्य सोचेर डाक्टरको सल्लाह नलिकन आफूखुशी औषधि किनेर लगाउने गर्दछन् । यसरी आफूखुशी प्रयोग गरिएको औषधिले समस्यालाई कम गर्नुको साटो अझ बढाउने गरेको पाइन्छ । त्यस्तो औषधिको प्रयोगले घाउ पाक्ने, पीप आउने, पोल्ने, चर्हयाउने र हिँडडुल गर्न नै नसकिने समेत हुन सक्छ । शरीर चिलाउने, छाला रातो भएर गोलो आकारको रिङ देखा पर्न थालेमा तुरुन्तै छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

दाद फंगल इन्फेक्सनको करणले हुने भएकोले घाउको माथिको पाप्रालाई जाँच गरेपछि मात्र यो रोगको पहिचान हुन्छ । फंगल इन्फेक्सन हुँदा शरीरको विभिन्न ठाउँ, हात र खुट्टाको औँलाको बीचमा पोल्ने, चिलाउने, रातो हुने र छाला उप्किएर छालामा सेतो छाला देखापर्ने, छालामा फोका उठ्ने, पीप जम्ने, कपाल झरेर घाउ बन्नेलगायतका समस्याहरु देखा पर्न सक्छ । रोग पहिचान भइसकेपछि डाक्टरको सल्लाहअनुसार औषधिको प्रयोग गर्नु पर्छ ।

दाद आएको खण्डमा डाक्टरको सल्लाहअनुसार घाउमा लगाउने मल्हम, औषधि लगाउने र औषधि खाएर पनि समस्यालाई नियन्त्रणमा ल्याउन सकिन्छ । यसका साथै, एन्टिफंगल इन्फेक्सन पाउडर र साबुनको प्रयोग गर्न सकिन्छ । गर्मी महिनामा पसिनाका करण धेरै समस्या हुने भएकोले एन्टिफंगल साबुनले नुहाएपछि शरीरलाई राम्ररी पुछेर सुख्खा राखेर एन्टिफंगल पाउडरको प्रयोग गर्नाले यस्तो समस्यालाई सजिलै निवारण गर्न सकिन्छ ।

गर्मी महिनामा सुतीको हल्का तथा टाइट नभएको लुगा लगाउने, पसिना धेरै आउन नदिने, डाक्टरको परामर्शबिना बजारमा जथाभावी पाइने औषधि नलगाउने, एउटै जुत्ता, मोजा धेरै दिनसम्म नलगाउने, जहिले पनि सुतीको मोजा लगाउने जस्ता सतर्कता अपनाए फंगल इन्फेक्सनबाट बच्न सकिन्छ । साथै गर्मी मौसममा सामूहिक पौडी खेल्ने तथा पोखरीमा नुहाउने गर्दा समेत दादको समस्या देखा पर्न सक्ने हुँदा त्यस्तो ठाउँबाट टाढानै रहनु राम्रो हुन्छ ।

Loading...