fbpx

सस्पेन्स र बाल मनोविज्ञानमा आधारित ‘मिराज’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, भदौ २ । निर्माण भएको थाहा नै नपाइ छायांकन सकिएको फिल्म ‘मिराज’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई दि दि इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ट्रेलरमा माया, डर, अपहरण र त्यसबाट बच्नका लागि गरिएको भागदौड देख्न सकिन्छ ।

फिल्मलाई समेत यसै च्यानलबाट प्रदर्शन गरिने बताइएको छ । फिल्मको मुख्य अभिनेताको भूमिका गुरु कार्कीले निर्वाह गरेका छन् । उनले यो फिल्ममार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका हुन् । अभिनेता गुरुका अनुसार फिल्ममा अहिलेसम्म कसैको ध्यान नपुगेको फरक किसिमको कथा वस्तु रहेको र फिल्मलाई एक पटक मात्र नभएर पटक–पटक दोहोर्याएर हेर्ने अवस्था समेत सृजना हुने बताएका छन् ।

निर्देशक प्रकाश सुब्बाले निर्देशन गरेको फिल्ममा उनी आफैँ दोहोरो भूमिकामा देखिएका छन् । उनले यो भूमिका निर्वाह गर्नका लागि २२ केजी तौल घटाएर सानो बालक जस्तै देखिएका हुन् । फिल्ममा रुवी आचार्य मुख्य अभिनेत्रीको भुमिका निर्वाह गर्दै छिन् । उनको पनि यो पहिलो फिल्म रहेको छ ।

फिल्ममा गुरु, प्रकाश र रुवीका साथ अशोक चेमजोङ, सरोज केसी, तिर्थ याक्सो, शिशिर सुबेदी, केशव रायमाझी, जगदिश कार्की, दिनेश कोइराला, भीम लामा, सन्तोष सरकार, सागर विष्ट, मातृका आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

समाज र घर–घरमा भएको कथालाई लिएर सस्पेन्स र बालमनोविज्ञानमा आधारित रहेको प्रयोगात्मक फिल्मलाई पूर्वका विभिन्न ठाउँमा छायांकन गरिएको हो । फिल्म यही असोजमा प्रर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ ।

Loading...