fbpx

‘लक्का जवान’ को शुभ साइत गरियो, ४ गतेदेखि काभ्रेमा छायांकन हुने

विराटनगर, भदौ २
हाँस्यकलाकार शिवहरि पौडेलको निर्देशनमा तयार हुन लागेको फिल्म ‘लक्का जवान’को शुभ साइत गरिएको छ । आज सोमबारको दिन ललितपुरस्तिथ बंगलामुखी मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो ।

पौडेलकै लेखनमा तयार हुने फिल्ममा उनका साथ साथै किरण केसी र दीलिप रायमाझीले निर्माणमा साथ दिने भएका छन् । आज साइत भएकाले मुहूर्त गरेपनि छायांकन दुई दिनपछि मात्र सुरु हुने निर्माता केसीले बताएका छन् ।

चलचित्रको छायांकन ७० प्रतिशत काभ्रे र ३० प्रतिशत काठमाण्डौमा हुने पक्का भएको छ । छायांकनका लागि फिल्मको टिम भोलि काभ्रे जाने छ । फिल्मको छायांकन भदौको ४ गतेबाट मात्र सुरु हुने बताइएको छ । फिल्ममा पौडेलका साथ निर्माता केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

लामो समय टेलिसिरियल निर्माणमा लागेका शिवहरिले आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा रहेर निर्माण हुने फिल्ममा पारिवारिक तथा कमेडी कथावस्तुलाई उठाउने र रियालिटी बेसमा कमेडी फिल्म बनाउने प्रयास गरेको बताएका छन् । बाबुल गिरीले संगीत भर्ने फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहने छ भने फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने भएका छन् । निर्माण टिमले फिल्मलाई चैत्रको ७ गतेबाट रिलिज गर्ने पक्का गरेको छ ।

Loading...