fbpx

काखीलाई सफा र गन्धरहित राख्नका लागि यसो गरौं

विराटनगर, भदौ २ । काखी तल अर्थात् अन्डर आम्समा शरीरको अन्य भागमाभन्दा धेरै पसिना आउने गर्छ । पसिनाका साथ–साथै उक्त ठाउँमा धेरै ब्याक्टेरियाहरु समेत उत्पन्न हुने गर्छ । कालो र फोहोर गन्ध भएको काखीले मानिसको व्यक्तित्वलाई नकारात्मक प्रभाव र्पुयाउने गर्छ ।

शरीरमा हार्मोनको गडबडी, वंशानुगत कारण, विभिन्न परफ्युम र बडी स्प्रेको प्रयोग, काखीमा भएका रौं निकाल्ने फरक–फरक तरीका, मोइस्चराइजेसनको कमी जस्ता धेरै कुराहरुका कारण काखी कालो, भद्दा देखिनुका साथै दुर्गन्धित हुन जान्छ । धेरै ब्याक्टेरियाहरु हुने भएकोले यो अंगलाई पटक–पटक छुने गर्नु हुँदैन् ।

यसरी पटक–पटक छुँदा हातको माध्यमबाट अन्य अंगमा पनि ब्याक्टेरिया सर्ने डर हुन्छ । अझ यही हातले आँखा, अनुहार तथा ओठमा हात लगाएमा शरीरको विभिन्न अंगहरुमा नकारात्मक असर समेत पुग्न जान्छ । गर्मी महिनामा काखीमा धेरै पसिना आउने समस्या हुने, खुला लुगा लगाउनु परेमा काखी सफा राख्नु अति आवश्यक हुन्छ । काखीलाई सफा गर्नुअघि काखीको रौं हटाउनुपर्छ ।

काखीको रौं निकाल्दा समस्या हटाउनका लागि गुणस्तरीय र राम्रो हेयर रिमुभर क्रिम छान्नुपर्छ । त्यसपछि काखीका रौंलाई राम्रोसँग हटाएर चिसो पानीले पुछ्नु पर्छ । पुछेपछि आइसको टुक्रा कपासमा बेरेर केही मिनेट काखीमा दल्ने गर्दा संवेदनशील छाला पनि रातो हुन पाउँदैन । त्यसपछि फिटकिरीको प्रयोग गरेमा काखीको दुर्गन्ध समेत हटेर गइ कालो काखी पनि विस्तारै सेतो हुन थाल्छ । अत्यधिक पसिना आउने समस्या भएमा काखीको दुर्गन्धले शरीरभर फैलिएर समग्रमा शरीर नै गन्हाउने गर्छ ।

शरीरमा पसिना आउनु एउटा नियमितता भएकोले शरीरमा पसिना आउने क्रमलाई रोक्न सकिँदैन । पसिना आउनु शरीरको लागि राम्रो पनि हो । तर, गर्मी मौसममा यसबाट उत्पन्न हुने समस्याबाट बच्नका लागि दैनिक नुहाउने गर्नुपर्छ । केही कारणले दिन–दिनै नुहाउन नसकेपनि काखीलाई पानीले हल्का पुछेर सफा गर्नु पर्छ । गर्मी समयमा हावा मज्जाले छिर्ने, पसिना नसोस्ने तथा छालामा पनि असर नगर्ने खालको सिन्थेटिक्सयुक्त कपडाको प्रयोग गर्नुपर्छ ।

मौसमी फलफुल, सागपात र प्रर्याप्त पानी पिउँदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म छुट्कारा पाउन सकिन्छ । साथै चिल्लो अत्यधिक हुने, मसलादार, धेरै गन्ध आउने लसुन प्याज जस्ता मसला हालिएका खानालाई नियन्त्रण गर्न सकेमा काखी गनाउने समस्या पनि नियन्त्रणमा आउने गर्छ । नुहाएपछि लगाइने एन्टिपस्र्पिरेन्टले काम गर्नै नपाई एकछिनपछि फेरि आउने पसिनाले बगाइदिने हुँदा राति सुत्ने समयमा यसको प्रयोग गरेर सुत्दा दुर्गन्ध हटाउन एकदम उपयुक्त हुन्छ ।

काखीमा डियोडोरेन्ट, परफ्युम तथा बडीस्प्रे लगाउने गर्दा दिनभरि दुर्गन्धबाट बच्न सकिन्छ । काखीमा आउने अत्यधिक पसिनाले स्वास्थ्य हानी पुगिरहेको संकेतसमेत दिने गर्छ । शरीरमा अत्यधिक पसिना आउने र धेरै गन्हाउने गर्छ भने एकपटक मिर्गाैला र कलेजोको जाँच गर्नु उचित हुन्छ । मिर्गौला तथा कलेजोको बिमारीको लक्षणका रूपमा गन्धले पनि संकेत गरिरहेको हुन सक्छ ।

Loading...