fbpx

पीएसजीले भन्यो ‘नेयमारले त्यतिकै क्लब छोड्न पाउँदैनन्’

एजेन्सी,
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक थोमस टुचेलले क्लब छोड्न लागेका स्टार खेलाडी नेयमारको विषयमा बोलेका छन् । टुचेलले फ्रेन्च लिग वानअन्तर्गत रेन्नेससँगको खेलपछि पत्रकारसँग बोल्दै नेयमारले त्यत्तिकै क्लब छोड्न नपाउने बताएका छन् ।

साबिकको विजेता पीएसज आफ्नो दोस्रो खेलमा रेन्नेससँग २–१ गोलले पराजित भएको हो । रेन्नेसको घरेलु मैदानमा भएको सो खेलमा स्टार खेलाडी नेयमारले खेलेका थिएनन् । स्पेनिस क्लब जाने चर्चामा रहेका नेयमारलाई रेन्नेसविरुद्धको खेलमा राखिएको थिएन । २७ वर्षीय नेयमार आफ्नो खुट्टाको चोटबाट मुक्त हुन प्रयत्न गरिरहेका छन् ।

ला लिगा क्लबद्वय रियल मड्रिड र बार्सिलोना जाने चर्चामा रहेका नेयमारको विषयमा बोल्दै प्रशिक्षक टुचेलले नेयमारले त्यत्तिकै क्लबबाट बिदा नलिने बताएका हुन् । टुचेलले नेयमारको स्थानमा खेल्ने खेलाडी क्लबमा आएपछि मात्र नेयमारले क्लब छोड्ने बताएका हुन् ।

‘उनको स्थानमा कुनै खेलाडी नआइकन नेयमारले क्लब छोड्ने छैनन्, यो सम्भव नै छैन ,’ उनले भने ‘यो प्रष्ट छ, यदि उनी यहीँ बसेमा, उनी यस्ता खेलाडी बन्नेछन्, जसले हामीलाई जित्नका लागि सहयोग गर्नेछन् । हामीसँग जित्ने क्षमताको अभाव छ, रेन्नेससँगको खेलमा पनि धेरै अवसरहरू थिए तर हामी निर्णायक बन्न सकेनौं ।’

यसैगरी टुचेलले ट्रान्सफर विन्डो खुल्लै रहेकोले नेयमार सरुवाको विषय चाँडै टुंगो लाग्ने बताए । उनले भने, ‘म सधैं एउटै कुरा दोहोर्याउँछु । अब ट्रान्सफर विन्डोका लागि १० दिनभन्दा धेरै दिन बाँकी छ, यो सरुवाको निर्णय आज या भोलिमा नै टुंगो लाग्नेछ ।’

यस्तै टुचलले नेयमार पूर्ण रुपमा अभ्यास गर्न नपाएका कारण खेलमा सहभागी हुन नसकेको बताए । ‘मैले सोचेका कुरा महत्त्वपूर्ण नहोला, तर नेयमारले खेल्न पाएनन्,’ उनले थपे, ‘किनकी, उनले अरु खेलाडीजस्तो अभ्यास गर्न पाएनन् । यो अवस्था परिवर्तन हुन सकिरहेको छैन ।’

प्रशिक्षक टुचेलले रेन्नेसविरुद्धको खेल निकै कठिन भएको बताए । उनले भने, ‘यो एकदमै कठिन खेल थियो । तर, हामी अपेच्छा भने राखेका थियौं । हामीसँग सबै खेलाडी थिएनन् । केही खेलाडीले दुई हप्ता मात्र अभ्यासमा सहभागिता जनाएका छन् । यो अवस्था अगस्टसम्म सामान्य रह्यो । हामीले हाम्रो उत्कृष्ट दिन सकेनौं । रेन्नेसजस्तो बलियो बन्न सकेनौं ।’

Loading...