fbpx

प्रियंकाको भूमिकाबारे सस्पेन्स खुल्ने डरले लुकाएको गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर,
जनैपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ मा समावेश गरिएको गीत ‘सत्य सत्य’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको प्रेमले भरिएको गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

सुगम पोखरेलको स्वर रहेको गीतमा प्रियंकालाई बोल्ड अन्दाजमा देख्न सकिन्छ । फिल्मको ट्रेलर तथा पोस्टरमा समेत नअटेकी प्रियंकालाई फिल्मको निर्माण टिमले यो गीतमार्फत दर्शकहरु माझ ल्याएको हो । केही फिल्ममा सँगै काम गरिसकेका आर्यन र प्रियंकाको केमेस्ट्री गीतमा सुहाउँदो देख्न सकिन्छ । मानस विक्रम थापाको शब्द रहेको यस गीतमा प्रवीन पौडेलको संगीत रहेको छ ।

गीतको भिडियोलाई सिक्किमको चाँगु लेकमा खिचिएको हो । गीत छायांकन गर्ने क्रममा त्यहाँको तापक्रम माइनस ४ डिग्री थियो । फिल्ममा प्रियंकाको भूमिकाबारे सस्पेन्स खुल्ने डरले निर्माण टिमले यो गीतलाई लुकाएर राखेको थियो । ट्रेलरबाट धेरैले फिल्ममा आर्यनको जोडी स्वस्तिमा रहेको सोचे पनि गीतले आर्यनको जोडी प्रियंका रहेको खुलासा गरेको छ ।

फिल्ममा आर्यनले एउटा जवान युवक र अर्को पाको उमेरको पुरुषको दुई चरित्रमा प्रस्तुत छन् । पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको विकासराज आचार्य निर्देशित फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधानलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । फिल्म ‘हजार जुनीसम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन् । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन तथा उदयराज सोताङ, राजनराज शिवाकोटी, वसन्त सापकोटा र प्रवीण पौडेलले संगीत भरेका छन् ।

Loading...