fbpx

डेंगु नियन्त्रण गर्न प्रदेश १ सरकारले विद्यार्थीकेन्द्रित अभियान सञ्चालन गर्ने

विराटनगर, २ भदौ । डेंगु रोग नियन्त्रण गर्न एक नम्बर प्रदेश सरकारले परिवार र विद्यार्थी केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न तरिका अपनाएर जनचेतना जगाउने प्रयास गर्दा पनि डेंगु रोग नियन्त्रण हुन सकेन नसकेपछि अब विद्यार्थी र परिवारलाई केन्द्रित गरेर प्रदेश सरकारले अभियान सञ्चालन गर्ने भएको हो ।

पछिल्लो पटक सुनसरीको धरानबाट फैलिएको डेंगु रोग नियन्त्रण गर्न प्रदेश सरकारले विभिन्न कार्यहरु गरेको थियो । प्रदेश सरकारले डेँगु संक्रमण देखिएपछि ‘खोज र नष्ट गर’ अभियान थाल्यो । जसअन्तर्गत औषधि छर्कने, टोल सरसफाइ गर्नेदेखि घर–घर पुगेर डेंगु रोगको रोकथामबारे जनचेतना जगाउने काम गरेको थियो । तर, मन्त्री, सांसद, सभामुख, उपसभामुख, जनप्रतिनिधि, राजनैतिक पार्टीका कार्यकर्ता र कर्मचारीहरू सहभागी भएर घरदैलो गर्दा पनि डेंगु नियन्त्रण भनेजस्तो प्रभावकारी हुन सकेन । कोही घरमा मान्छे नहुने भएकोमा पनि बुढाबुढी र केटाकेटी मात्र हुने, आँगनमा पुगेर पर्खेर सम्झाउन पनि धेरै समय लाग्ने अवस्था आयो । अर्कोतिर औषधि (फगी) छर्केर मच्छर मार्दा मच्छर मरे पनि लार्भा नष्ट हुन सकेन । लार्भा नष्ट नभइकन डेंगु मच्छर नियन्त्रण हुन सक्दैन ।

अर्कोतिर फगी छर्कँदा स्वास्थ्यमा झन् प्रतिकूल अवस्था सिर्जना हुन थाल्यो । सरकारले डेंगु संक्रमण भएको छ छैन भनेर जाँच गर्न निःशुल्क किट पनि वितरण गर्यो । तर, किट महंगो भएकोले निक्कै खर्चिलो हुँदा निरन्तर वितरण गर्न सम्भव भएन । फलस्वरुप हालसम्म एक नम्बर प्रदेशमा डेंगुले गर्दा एक जनाले ज्यान गुमाए भने ३ हजार १ सय ६० जना डेंगु संक्रमित हुन पुगे ।

एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारले हालसम्म गरेको रोगथाम कार्यले डेंगू रोग न्यूनिकरण भएपनि पूर्ण नियन्त्रण हुन नसकेपछि औँला घोचेर रगत परीक्षण गर्ने पुरानै सस्तो प्रविधि नै उपभोग गर्ने र विद्यार्थी र परिवारकेन्द्रित अभियान सञ्चालन गर्ने सोच बनाएको बताए । मन्त्री घिमिरेका अनुसार अब प्रदेशका हरेक विद्यालयमा डेंगु रोग र त्यसको असर प्रभाव र नियन्त्रण गर्ने तरिकाबारे सिकाइने छ । साथै उनीहरूका अभिभावकहरुलाई पनि बोलाएर डेंगु संक्रमणको अवस्था र रोगथामबारे बुझाइने छ । मन्त्री घिमिरेले भने, ‘जबसम्म घरपरिवार नै सजग हुँदैन तबसम्म डेंगु नियन्त्रण हुन सक्दैन भन्ने कुरा अब हामी विद्यार्थीहरूमार्फत बुझाउने छौँ ।’

Loading...