fbpx

अर्जेन्टिनाको टोली घोषणा, डेबाला र मार्टिनेज पर्दा मेस्सी परेनन्

एजेन्सी,
अर्जेन्टिनी फुटबल एसोसियसनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको छ । आइतबार अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।

अर्को महिना अर्जेन्टिनाले चिली र मेक्सिकोविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । सेप्टेम्बर ९ मा अर्जेन्टिनाले चिलीसँग खेल्दैछ । क्यालिफोर्नियामा हुने यस खेलमा दुई टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् । यस्तै सेप्टेम्बर १० मा अर्जेन्टिनाले मेक्सिकोसँग खेल्दैछ । यो खेल टेक्सासमा हुनेछ ।

यी दुई खेलका लागि प्रशिक्षक स्कालोनीले टोली घोषणा गरेका हुन् । जसमा स्टार खेलाडीद्वय युभेन्टसका स्टार पाउलो डेबाला र इन्टर मिलानका स्टार लाउटारो मार्टिनेजलाई पनि समेटिएको छ । तर, बार्सिलोनाका स्टार लियोनल मेस्सी भने टोलीमा परेका छैनन् ।

३२ वर्षीय मेस्सी अघिल्लो महिना ब्राजिलमा भएको ४६औं संस्करणको कोपा अमेरिकापछि प्रतिबन्धमा परेका छन् । कोपा अमेरिका कपअन्तर्गतको तेस्रो स्थानको खेलपछि ‘विवादास्पद अभिव्यक्ति’ दिएका कारण मेस्सीलाई तीन महिनाको प्रतिबन्ध लागेको हो ।

उनले कोपा अमेरिका भ्रष्ट संस्था भएको र ब्राजिलले कोपा जिताउन सेटिङ मिलाएको भन्दै खरो अभिव्यक्ति दिएका थिए । त्यतिमात्र नभएर उनले तेस्रो स्थानको मेडल लिन पनि अस्वीकार गरेका थिए । त्यसअघि पनि मेस्सी सेमिफाइनलको खेलमा रेफ्रीविरुद्ध खरो खनिएका थिए । ब्राजिलसँग हारेको खेलमा कप्तान मेस्सीले रेफ्रीले पक्षपाति निर्णय गरेको आरोप लगाउँदै रेफ्रीविरुद्ध खनिएका थिए ।

उनको सो आरोपछि दक्षिण अमेरिकी फुटबल महासंघले कारबाहीस्वरुप उनलाई तीन महिनाको प्रतिबन्ध र ५० हजार अमेरिकी डलर जरिमानासमेत गरेको हो । प्रतिबन्धसँगै मेस्सीले सेप्टेम्बर र अक्टोबर महिनामा हुने चिली, मेक्सिको र जर्मनीविरुद्वको मैत्रीपूर्ण खेल गुमाउने भएका हुन् ।

यस्तो छ अर्जेन्टिनाको टोली

गोलकिपर : इस्टेबन अन्ड्रबा, फ्रान्को अर्मानी र अगस्टिन मार्चेसिन

डिफेन्डर : निकोलास ओटामेन्डी, जर्मन पेज्जेल्ला, लियोनार्डो बर्लेर्डी, मार्कोस रोजो, लुकास मार्टिनेज क्वार्टा, गान्जालो मोन्टायल, निकोलास फिगल र निकोलास ट्याग्लीफिको

मिडफिल्डर : मार्कोस अकुना, लेइन्ड्रो पेरेडेस, गुइडो रोड्रिग्वेज, जियोभानी लो सेल्सो, निकोलास डोमिन्ग्वेज, रोड्रिगो डी पल, माटियास जाराचो, रोबर्टो पेरेर्या, इक्सेक्वेल पालासिस, लुकास आक्याक्पोस, मेनुयल लान्जीनि, एलेक्सिस माक एलिस्टार

फरवार्ड : जोआक्विन कोरेर्रा, लाउटारो मार्टिनेज, पाउलो डेबाला र एडोल्फो गाइच

Loading...