fbpx

युरिक एसिड नियन्त्रण गर्ने केही उपायहरू यस्ता छन्

विराटनगर,
शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्त्वलाई युरिक एसिड भनिन्छ । युरिक एसिड बढ्नु अर्थात् बाथ रोग जसमा शरीरको युरिक एसिडको मात्रा बढेर जोर्नीहरु दुख्न थाल्छ । हाडजोर्नी विशेषज्ञ डाक्टर कपिलमणि केसीका अनुसार शरीरमा प्युरिन नामक तत्व टुक्रिएर रगतमा मिसिएर मृगौलाबाट छानिएर पिसाबमार्फत बाहिर निस्किने गर्छ ।

तर, शरीरबाट ननिस्किएको खण्डमा शरीरमा रसायनिक असर देखा पर्न थाल्छ, जसले गर्दा रगतमा युरिक एसिड देखिन थाल्छ । मृगौलाको छान्ने क्षमता कम हुन गइ युरिक एसिड हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । हामी सबैको शरीरमा युरिक एसिड हुन्छ । युरिक एसिडको मात्रा ३ देखि ७ मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ । तर, जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ ।

वंशानुगत कारण, अस्वस्थ्यकर खाना खाने, उपवास वा तीब्र रूपमा तौल घटाउने चाहना, शारीरिक श्रम नगर्ने, धूम्रपान तथा मदिरापानको सेवन, धेरै प्रोटिनयुक्त खानेकुरा, रगत पातलो बनाउने औषधि, उच्च रक्तचापको औषधि, मधुमेहको औषधिको सेवन गरिरहेकाहरुलाई युरिक एसिडको सम्भावना धेरै हुन्छ । राति सुतेको मान्छे बिहान उठ्दा हातका औंला, खुट्टाको औंलाको जोर्नी सुन्निने तथा दुखाइको महसूस हुन्छ भने युरिक एसिड भएको हुनसक्छ किनभने यो रोगले शरीरको सानो सानो हाडजोर्नीहरुमा असर पुर्याउने गर्छ ।

पछि भविष्यमा गएर यसले जार्नीको दुखाइ, वाथ रोग, हड्डीमा गाँठोलगायतको समस्या निम्त्याउने गर्छ । युरिक एसिडलाई नियन्त्रण गर्नका लागि सुरुमा शरीरको तौल बढी छ भने नियन्त्रण गर्नु पर्छ । बढी तौल भएको शरिरमा युरिक एसिड थुप्रिएर रगतमा प्रसार हुन्छ । मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउने गर्दा मासु, कलेजो, किड्नी, मुटु खानु कम गर्नु पर्छ ।

चुरोट, खैनी, रक्सि, बियरजस्ता पदार्थको सेवन, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट ड्रिंक, तरकारीमा सिमी, तोरीको साग, पालुंगोको साग, र जंकफुडमा आइसक्रिम, पाउरोटी, केक आदिको सेवनले पनि शरीरमा युरिक एसिड निम्त्याउन सक्छ । तेलमा तारेको, धेरै मसला भएको खानेकुराहरु कम खानु पर्छ । यस्ता खानेकुरामा भएको तेल र फ्याट रेनसिडमा परिणत भएर शरीरमा भएको भिटामिन ‘ई’ नष्ट गरी युरिक एसिड उत्पन्न हुन्छ । मृगौलाको राम्रोसंग सञ्चालन नहुने हुँदा युरिक एसिडको मात्रा बढ्ने भएकोले दैनिक कम्तिमा पनि १० गिलास पानी पिउनु आवश्यक देखिन्छ ।

केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदि तथा क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । यसका साथै शारीरिक व्यायाम गरेर मानसिक तनावलाई कम गर्नु पर्छ । अन्डा एउटा प्रोटिनयुक्त खानेकुरा भए पनि युरिक एसिड बढाउँदैन ।

Loading...